"कसले भनेर ल्याइस् तान ! हामीले 'ल्याइदे' भनेर हात जोडेका थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरि रहन ।" शिव नारानले कड्केर भने ।
राम बहादुरसँग यति बोलि सकेपछि शिव नारानले लतमायातिर हेरेर भने– "दिएर पठाइ दिनोस् उसको तान ।"
शिव नारानले फेरि राम बहादुरतिर हेरेर भने– "लैजा तेरो तानको तानै, तँ पाजीहरूको तानको खाँचो परेको छैन हामीलाई !"
राम बहादुरको बेबकुफी देखेर हाकुमायालाई पनि सार्है झोँक चल्यो, मारिहालूँ जस्तो उनलाई भयो । त्यसैले शिव नारानले उसको तान दिइ पठाउने कुरा गरेपछि हाकुमायाले भनिन्– "के खाँचो त्यस बदमासलाई तान बोकाएर पठाइ रहन ! त्यस बदमासलाई, बेबकुफलाई; के उसको बेबकुफीको पुरस्कार स्वरूप तान दिने मूर्खता हामीले गर्ने ? दियो लियौँ, फेरि फर्काइ रहने मूर्खता किन ?" राम बहादुरतिर हेरेर हाकुमायाले भनिन्– "जा, पच भयो तेरो तान ! कागज भएको होइन, 'जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै ।' तँ बदमाससित हामीले किन भलादमी हुनु परेको छ ! यही तँलाई दण्ड भयो । जा, पच भयो तेरो तान, नालिस गर्न जा ।"
हाकुमायाको कुरा सुनेर नानीथकुँ खिस्स हाँसिन् । लतमाया केही बोल्न सकिनन् । शिव नारान पछाडितिर हेरेर आफ्नी स्वास्नीको साहस देखी हाँसि रहे । राम बहादुर एक शब्द बोल्न सकेनन्, ढुङ्गाको मूर्ति झैँ उभिएर त्यसै जिल्ल परि रहे । एक छिन वाल्ल परेर "देखा जाएगा" भनी रिसले चुर भएर गए ।
"देखा जाएगा भने देखा जाएगा ! लौ जा, के गर्लास् तैँले ?" हाकुमायाले जबाफ दिइन् ।