आउनु उनीहरूका निम्ति सानो कुरा पनि त थिएन । डाक्टर आइ पुग्नाका साथसाथै उनीहरूले नाच्तै गाउँदै उनको खुब स्वागत गरे ।
डाक्टर गोदत्त प्रसाद आइ पुग्दा रोपाइँ झन्डै सिद्धिइ सकेकाले, अलि कती मात्र बाँकी थियो । उनी चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त ! आउना साथै रोपाइँ गरि रहेकाहरूलाई आफ्नो प्रसन्नताको चेहराले स्वागत गर्दै, बडो गहिरो शुभेच्छाको भाव देखाएर पान सुपारी बाँड्ने काम हरे । पान सुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन्, भएभरका जातका खाने मसलाहरू सकेसम्म सफा सुग्घर गरेर ल्याइएका थिए । पान पनि पातमा बेरिएका होइनन्; आठ आठ पैसा जाने खुला बिरा थिए; पानमा मगमग बास्ना आउने मसला पनि हाल्न लगाइएको थियो ।
डाक्टर गोदत्त प्रसादले सबभन्दा पहिले शिव नारानलाई नै पान अर्पण गरे । सत्कारको भावमा मुसुक्क हाँसेर शिव नारानले पान सुपारी अँजुलीमा थापेर लिए । यस क्रियाले डाक्टर गोदत्त प्रसादलाई बडो सन्तोष र आनन्द भयो । अनि उनले शिव नारानको परिवारका अरू सदस्यलाई पनि यस्तै भावनामा पान सुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको हुनाले नानीथकुँको हात थाप्ने समय झन्डै बीच क्रममा परेको थियो । सबै परिवारलाई बाँडि सकेपछि डाक्टर गोदत्त प्रसादले खेतालाहरूलाई पनि त्यत्तिकै श्रद्धा र स्नेहमा पान सुपारी बाँडेका थिए ।
रोपाइँको काम अन्तिम समयमा पुगि सकेको हुनाले त्यसबाट रोपाहारहरू भित्र भरिएर आएको रसानुभूति पनि पराकाष्ठामा पुगि रहेको थियो । यस कारण रोपाइँमा हुने क्रियाको उतार चढाउ, आरोह अवरोह अर्थात् नाचगान, कुदाइ, उफ्राइ, ख्यालठट्टा मात्र द्रुत गतिमा बढि रहेको थियो । यही चरम सीमामा पुगेको आवेशमा रोपाहारहरू हिले पानी आकाशमा छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकुँले पनि हिले पानी आकाशमा छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्त प्रसाद उभिइ रहेको ठाउँमा हिले पानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर गोदत्त प्रसाद हिले पानीले टाटेपाटेको रूपमा रङ्गिहाले । अनि त रसरङ्ग र जाँड रक्सीले त्यसै हाहा र हुहु गर्दै उफ्रँदै रोपाहारहरूले पनि डाक्टर गोदत्त प्रसाद