सुपात्र र कुपात्र हुन्छ । यी सब कुरालाई, बाटोलाई, तबरलाई नाघेर मानिस हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्याल विचार राम्ररी पुऱ्याउनु पर्छ ।" शिव नारानले बडो गम्भीर भएर भने ।
"दाइले ठीक भन्नु भयो, म पनि दाइको यो विचारको स्वागत र समर्थन गर्दछु ।" पुन नारानले हर्ष प्रकट गर्दै भने । शिव नारानले फेरि हर्ष नारानलाई ताकेर भने– "अहिले तिमीले कसैकी स्वास्नी नबनेकी, प्रेमिका नबनेकी र बुढी तथा बच्ची भएर बेजोडा नभएकी जो कोही स्वास्नी मान्छेसित प्रेम गर्न सक्तछौ, ल्याउन सक्तछौ, यसमा म कत्ति बिघ्न बाधा नगरीकन तिमीलाई पुरा स्वतन्त्रता दिन सक्तछु; तर त्यसो नभईकन तिमीले कसैकी स्वास्नी, आमा, प्रेमिकालाई फकाएर वा उडाएर ल्यायौ भने त्यसलाई म प्रेम वा स्वतन्त्रता कहिल्यै भन्दिनँ । त्यो सरासर बदमासी हो, चोरी हो, डकैती हो ।"
दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग नै मेटाउन खोजेर भनिन्– "अहो ! हुनसम्मको अबेर भइ सक्यो, कुन वेला भात पकाउने र खाने ? दिनभरि काम गरेर सबै भोकाएका होलान् । भइगो, अब गन्थन बन्द गर । भोलि हाम्रो रोपाइँको दिन पनि हो, भोलिदेखि नानीथकुँलाई पनि दिनभरि खेतैमा लगी काम गराइ राख्ने गर । म एक्लै घरमा बसी तान चलाइ रहन्छु, मलाई केही डर छैन । म बुढी मानिसलाई कसले के गर्ला ? अनि डाक्टरसाक्टरको कुरै मेटिएर जान्छ, 'न रहे बाँस न बजे बाँसुरी ।'
पुन नारान, हर्ष नारान दुवैले एकै स्वरमा भने– "ठिक छ, आमाले ठीक भन्नु भयो । त्यसै गर्नु पर्ला अनि आफैँ समस्या हल हुन्छ ।"
शिव नारानले रिसाएर चुरचुर भइ रहेको आफ्नो चेहरामा मुस्कानको भाव नचाएर यस कुरालाई अभिवादन गरे ।
अनि सबै आआफ्नो काम र ठाउँमा गए ।
तर नानीथकुँ हृदयमा वेदना बोकेर तान कोठामा त्यसै उभि रहिन् । त्यहाँ उनी एक्लै थिइन् । साँझ बितेर बेलुकी भइ सक्यो, नानीथकुँ त्यही अँध्यारो कोठामा बसी आफूमाथि गुज्रि रहेको सबै कुरा मनमनै गुनि रहेकी थिइन् ।