Jump to content

Page:Ek chihan.pdf/69

From Nepali Proofreaders
This page has been proofread
बिस

डाक्टर गोदत्त प्रसाद अस्पताल गइ सकेपछि झटपट भात खाई रञ्जना देवीले नानीथकुँलाई बोलाउन पठाइन् । उनले सोचिन्– 'नहुनु पर्ने कुरा भइ रहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूसित भइ रहला, सुख अर्काको पोल्टामा पर्ला । त्यसैले अक्किल लडाउन नसके अझै पनि यस्तो डढेलोमा सुकेका पात सल्केर गए झैँ जान सक्छ ।' यही सोच विचारको निष्कर्षमा आएर उनले अक्किल जमाई नानीथकुँलाई बोलाउन पठाएकी हुन् ।

डाक्टर गोदत्त प्रसादको घरको कुकुर पनि नानीथकुँलाई देवता सिद्ध भइ रहेको थियो ! त्यसैले 'आउनू' भन्ने सन्देश पाउना साथ फाल हालेर नानीथकुँ डाक्टर गोदत्त प्रसादको घर पुगिन् ।

तुरुन्तै आइ दिँदा बडो खुसी भएर रञ्जना देवीले नानीथकुँलाई आफ्नो घरको सबभन्दा गुप्त कोठामा लगिन् । नानीथकुँको मनमा अनेक तर्क वितर्क उठ्न थाल्यो । तर बाहिर बाहिर खुब समालेर उनी रञ्जना देवीसँगै हाँस्तै आफूलाई लगेको कोठामा गइन् ।

रञ्जना देवीले भनिन्– "नानीथकुँ ! तिमी त सिधासाधा किसानकी सिधीसोझी छोरी रहिछ्यौ, तिमीलाई देखेर मलाई बडो माया लाग्यो ।"

रञ्जना देवीको यो कुराले साँच्चीकै सिधीसोझी नानीथकुँ जिल्ल परिन् । के भनेकी हुन् भनी उनी अलमल्ल परेर टोलाइन् ।

रञ्जना देवीले फेरि भनिन्– "किसानको जीवन वास्तवमा दुःखी भएर पनि सुखी छ । हेर्दा सुखी देखिएर पनि हाम्रो जीवन सधैँ तितोपनमा डुबि रहेको