"बस गोदत्त ।"
"खालि गोदत्त ?"
"के त अब सिङ पुच्छर पनि जोड्नु पर्यो ?"
"तैपनि ठाडै 'गोदत्त' मात्र कसरी भन्ने ? नाइँ म त 'गोदत्तसोदत्त' केही पनि भन्दिनँ, 'डाक्टर साहेब' नै भन्छु, त्यही सम्बोधन मलाई मिठो लाग्छ ।" मुसुक्क हाँसेर नानीथकुँले भनिन् ।
नानीथकुँको यो अन्तिम वाक्य सुनेर डाक्टर गोदत्त प्रसाद अनौठोसँग प्रभावित भए ।
डाक्टर गोदत्त प्रसादकी स्वास्नी रञ्जना देवी सशङ्क भएर यिनीहरू दुई जना कुरा गरि रहेकोमा बराबर चेवा गरि रहेकी थिइन् । यिनीहरूलाई यसरी अब धेरै बेर कुरा गर्ने मौका पनि दिन भएन भन्ने पनि रञ्जना देवीले विचार गरिन् । त्यसैले उनी वार्ता भङ्ग गराई नानीथकुँलाई चाँडै धपाई पठाउने अभिप्राय गरी सरासर डाक्टर गोदत्त प्रसादले बिरामी हेर्ने कोठामा आइन् ।
रञ्जना देवी बिरामी हेर्ने कोठामा एक्कासि आएको देखेर डाक्टर गोदत्त प्रसाद र नानीथकुँ दुवै जना झस्के । सहसा रञ्जना देवीले यसरी आएर रङ्ग भङ्ग गरि दिएकीमा झोँक चले पनि गोदत्त प्रसादले केही भन्न सकेनन् । नम्र भावमा उनले रञ्जना देवीसँग खालि यति मात्र भने– "किन रञ्जना ! भात पाकि सक्यो कि ?"
"भातले छोराछोरी समेत पाइ सक्यो, किन यस वेलासम्म पनि आज बिरामी कोठामा अल्झि रहनु भएको भनी बुझ्न आएकी ।" रञ्जना देवीले भनिन् ।
"हिँड, जाँदै गर रञ्जना । म आउँछु।" डाक्टर गोदत्त प्रसादले भने ।
"आइ हाल्नोस् त, आज झट्टै भान्छाको काम सकेर मलाई पनि एकछिन बाहिर जानु छ ।" रञ्जना देवी गइन् ।