लतमाया र राम बहादुर दुई जना पल्लो कोठामा गए । त्यहाँ पुगेर राम बहादुरले भने- "तिमीलाई थाहै होला नि, अष्ट नारानले नानीथकुँ हाम्रा सुब्बा साहेबलाई कन्यादान दिने वचन दिइ सकेको छ । सुब्बा साहेबलाई नानीथकुँ ज्यादै मन परेको पनि रहेछ । उसको हातबाट सुब्बा साहेबले भात पनि खान कबुल गर्नु भएको छ । यी सबै कुरा अष्ट नारानलाई पनि मन परेर उसले दिन मन्जुर गरेको थियो ।"
"अहँ, मलाई त यो कुरा बिलकुलै थाहा छैन; उहाँले पनि कहिल्यै केही भन्नु भएको थिएन ।" अलि आश्चर्य मिश्रित भावमा लतमायाले भनिन् ।
"हुन सक्छ, अष्ट नारानले भनेको थिएन होला, किनभने त्यो गम्भीर मानिस थियो । कसैलाई नभनीकन काम गर्ने उसको बानी थियो । तर जे भए पनि लोग्ने हुन्, 'मलाई बताएनन्' भनेर रिसले लोग्नेको विरोधमा जानु स्वास्नी मानिसको धर्म होइन, यसलाई सम्झी बुझी तिमीले लोग्नेको वचन खेर नजाने गरी कर्तव्य पालन गर्नु पर्छ ।" राम बहादुरले भने ।
"होला र उहाँले वचन दिनु भएको ? त्यत्तिको उमेर फरक छ ।" लतमायाले अलि अविश्वासको भावमा भनिन् ।
"सत्ते हो हेर ! आज एकादशीको दिन, त्यसमाथि निधारमा पशुपतिको चन्दन र टाउकोमा गुह्येश्वरीको फूल लाइ राखेको छु, इमानदार मान्छेले झुटो बोलेर नरकमा जाने साहस गर्न सक्ला र ? म त मामुली कारिन्दा भनुँला, त्यत्रो दर्जामा पुगि रहेका सुब्बा साहेब जस्ताले यस्तो कुरामा झुटो बोल्नु होला ?" विश्वास लाग्दो भावमा राम बहादुरले भने ।
राम बहादुरको भनाइले लतमायालाई अलि विश्वास पार्यो । तैपनि लतमायालाई सुरमान सुब्बा बुढा भइ सकेको राम्रै थाहा भएकाले अलि चित्त बुझेन र भनिन्– "नानीथकुँ सार्है कलिली छ, भर्खरै सत्रमा टेकेकी ।"
"सुब्बा साहेब पनि त बुढै भइ सक्नु भएको छैन, सत्तरी होइन, साठी होइन सन्ताउन्न वर्षको भनेको त लोग्ने मानिसका लागि जवानीकै अवस्था छ । मानिसको उमेरमा पच्चिस र पचासको कुरा छैन, जो बलियो हुन्छ उही जवान हो । बल र फुर्ती छैन भने बिस वर्षकै पनि बुढो हुन्छ । म त भन्छु बरु तिम्री छोरी चाँडै बुढी होली तर सुब्बा साहेब अझ बिस वर्षपछि पनि त्यस्तै