"टुम्टुम् छ्याँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुँले बोलिन् ।
"अँ भन न लौ साँच्चि, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।"
"के ?"
"'नानीथकुं' को सट्टा मैले तिमीलाई 'नानी' भन्न चाहे झैँ तिमीले मलाई के भन्न चाहेको ?"
"हो त ? रिसाउन पाइन्न नि ?"
"हो हो लौ, रिसाउँदिनँ ।"
"नाइँ, तपाईं रिसाउनु हुन्छ ।"
"रिसाउँदिनँ भन्या तिमी मारे हत्या ।"
"भइगो लौ, अरू कुरा गर्नोस् ।"
"नभने म मारे हत्या ।"
"भनिहालूँ त ? तपाईंलाई…?"
यती भनेर नानीथकुँले मुस्कुराउँदै अलि लजाएको पनि भावमा डाक्टर गोदत्त प्रसादको मुख वाल्ल परेर हेरि रहिन् ।
"अँ मलाई ?" डाक्टर गोदत्त प्रसादले फेरि कोट्ट्यए । "तपाईंलाई !" लज्जापूर्ण भावमा डाक्टर गोदत्त प्रसादको अनुहार पुलुक्क हेरी अलि खिस्स हाँसेर– "तिमी भन्छु" नानीथकुँले भनिन् ।
"मोरी !" अँगाल्न हात बढाउँदै डाक्टर गोदत्त प्रसादले भने ।
"नकच्चरा !" फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुँ छुट्टिइन् ।
डाक्टर गोदत्त प्रसाद मस्त भएर नानीथकुँको अनुहार हेर्दै हाँसि रहे । यत्तिकैमा माथिबाट "नानीथकुँ ! भात खान आऊ" भन्ने सम्बोधन सुनियो ।
"लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै आउँला है ?" नानीथकुँको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्त प्रसादले भने ।
"नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै नानीथकुँले भनिन् ।