उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले 'अब के गर्नु ?' भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल, पीठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माहिला छोरा पुन नारानले दिए ।
"कसरी बेच्न जाने ? कसलाई बेच्न पठाउने ? हामी बेच्न जान मिलेन ।" सुस्केरा लिँदै शिव नारानले भने ।
"हामी बेच्न जान नहुने किन ?" कान्छा हर्ष नारानले भने ।
"बाबुको दाह संस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?" शिव नारानले भने ।
"के गर्ने त अब, यस्तै पर्न आयो ।" पुन नारानले भने ।
"गुठियारहरू सबै जम्मा भइ सके । उनीहरूले नदेख्ने गरी लैजान सक्ने चिज होइन खर्पन बोक्नु पर्ने कुरा ! सार्है सर्म र बेइज्जत हुन जान्छ पुनचा ! के गर्ने ? हाहा नगर्लान् उनीहरूले ?" शिव नारानले भने ।
"के लाग्यो, सहनै पर्यो, अरू थोक उपाय नै के छ त ?" पुन नारानले भने ।
"के गर्ने आमा ! यसै गरौं त ?" शिव नारानले लतमायासँग सोधे । लतमायाले केही पनि जबाफ दिइनन् । दुवै आँखाबाट बरबरी आँसु चुहाइ रहिन् ।
बरबरती चुहि रहेको आँसु पुछ्तै नानीथकुँले भनिन्– "सबको अगाडिबाट चामल, पिठो र आलु कसरी बेच्न लैजाने दाजु ? यो त सार्है नराम्रो लाग्यो मलाई । त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने के मात्र नभन्लान् ?"
"अरू के उपाय छ त भन न तिमी नै ?" शिव नारानले भने । "जुठो नफुकेसम्म केही काम गर्न जानु हुन्न, आफ्नै बाबु मरेर घरमा परेको जुठो मान्नै पर्छ । त्यतिन्जेल एक छाक मात्र भए पनि खाएर हामीले ज्यान बचाउनै पर्छ । अर्को कुरा भाइ भताहाहरूलाई खुवाउनैपर्छ । घरमा भएको अन्नपात बेइज्जत सहँदै बेचेर फेरि किन्दा टुट्टा खानु पर्ने हुन्छ ।" वेदना सहँदै गम्भीरतापूर्वक नानीथकुँले भनिन् ।