पाँच बजि सकेपछि साँच्चै डाक्टर गोदत्त प्रसाद सजिलैसित आफैँ एकाएक आइदिँदा अष्ट नारानको पीडित परिवारलाई सार्है राम्रो सान्त्वना भयो । गोदत्त प्रसाद पनि बडो आश्वासनपूर्ण भावमा मुसुमुसु हाँस्तै "अहिले कस्तो छ ?" भन्दै बिरामीको अगाडि बसे ।
डाक्टरले पहिले नाडी हेरे, अनि आफैँले डिग्री रखाउन लगाए अनि क्रमैसँग छाती इत्यादि सबै जाँचे । सब जाँचि सकेपछि बिहान लेखि दिएको इन्जेक्सन आफैँले दिए । अनि एक छिन केही नबोली गम्भीर मुद्रामा बिरामीको मुख हेरि रहे– बीच बीचमा एकाध सोधनी गर्दै डाक्टर गोदत्त प्रसाद बिरामीको अगाडि करिब एक घण्टा बसे होलान् ।
डाक्टर आउनुभन्दा अगाडि नानीथकुँ आफ्ना बाबुको गोडा मिचि रहेकी थिइन् । डाक्टर गोदत्त प्रसाद बिरामीको सिरानतिर बसेका हुनाले नानीथकुँको ठिक सामुन्ने पर्थे । त्यसैले नहेरे तापनि डाक्टर गोदत्त प्रसादले नानीथकुँको श्रीमुख देखि रहेका थिए, धेरै बेरपछि आफू हिँड्नुभन्दा केही छिन अगाडि डाक्टर गोदत्त प्रसादले नानीथकुँतिर हेरेर भने– "धेरै गोडा मिच्नु पनि ठिक छैन नानी !"
डाक्टरले त्यति भन्नासाथ नानीथकुँले चट्ट हात थामिन् अनि ढोकातिर उभिन गइन् । एक चोटि नानीथकुँतिर पुलुक्क हेरेर डाक्टर हिँड्नलाई उठे । कोठा बाहिर पुगि सकेपछि अष्ट नारानको परिवारका सारा सदस्य डाक्टरको अगाडि उभिए अनि डाक्टर गोदत्त प्रसादले बिस्तारै भने– "व्यथा अलि कडा हुँदै आएको छ, होस गर्नु होस् है ! तैपनि म जहाँसम्म सक्छु, कोसिस गर्न छाड्दिनँ र आस पनि गर्छु ।"
डाक्टर जान लागेको वेलामा शिव नारान फिस हातमा दिन अगाडि बढे । एक छिनपछि अनकनाए जस्तो गरेर डाक्टर गोदत्त प्रसादले भने– "निको नै गरूँ ।"
डाक्टर गोदत्त प्रसादको यो सहानुभूति देखेर ज्यादै कृतज्ञ र आह्लादित भएर लतमायाले भनिन्– "यो एकचोटि लिइ हाल्नु होस् डाक्टर साहेब ! अनि भोलिदेखि त फिस दिने सामर्थ्य पनि छैन ।"