एकतिस
पानी अझै पनि परि रहेको छ । खेतमा काम गर्दागर्दै साँझ पर्यो । हाकुमाया भात पकाउन गइन् । केटाकेटीहरू दिनभरि काम गरेकाले थाकेर भोक लागी भान्छामा भात पर्खि रहे। शिव नारान छाप्रोको ओसारामा बसी कहिले खेत, कहिले आकाश हेर्दै, सुखका अनेक कल्पना गर्दै मनको लड्डु घिउसित खाइ रहेका थिए । भात पाक्यो । भात खाइ सकेपछि पनि पानी परि रह्यो, राति पनि परि रह्यो । बीच बीचमा ब्युँझेर शिव नारान खेतको हेरचाह गरि रहन्थे । भोलिपल्ट पनि पानी परि नै रह्यो । बढ्ता पानी परेकाले खेतमा पानी पनि बढ्ता भयो । खेतका निम्ति बढ्ता पानी पनि हितकर छैन तर पानी परि रह्यो, परि रह्यो, पर्सि पनि परि रह्यो, परि रह्यो ।
यसरी तीन दिनदेखि अनवरत पानी परि नै रह्यो । क्रमशः उत्तरतिरको साह्रो जमिन नै पानी भएर दौडँदै आयो, वेग बढ्दै आयो, बिस्तारै बाढी हुँदै आएको पनि देखिन लाग्यो । बाढीमा असङ्ख्य धानका बिरुवाहरू बग्दै आएका देखिए, धेरै नै रूखहरू पनि देखिए, यहाँसम्म कि जमिनका ढिस्काका ढिस्का नै बगेर आएका हुनाले रूख समेत खडिखडाउ भएर बग्दै आइ रहेको पनि देखियो । आफ्नै खेत पनि जलमग्न भइ सकेको थियो, आफ्नै घरमुनि पनि समुद्र आइ सकेको थियो । आफ्नो छाप्रो पनि छोप्ला छोप्ला जस्तो हुन थाल्यो । कैयन् घर, छाप्रो बग्दै आएका, कति घरका काठपात, कति बाख्रा, गाई, भैँसी पनि बग्दै आएका देखिन थाले । बग्दा बग्दा मानिसै पनि बगेर