महाकवि देवकोटाले आफ्नो जीवनीलेखकलाई समेत भुक्याइदिनुभएको छ । नित्यराजज्यूले त्यति मेहनत गरी खोज्दा पनि महाकविको कुनै उपन्यास फेला पार्न सक्नुभएन र उहाँलाई लेख्न कर लाग्यो… "सिर्फ उपन्यासक्षेत्रमा कविजी देखा पर्नुभएन" (महाकवि देवकोटा, पेज ६७)
कहिलेकहीँ आफूले लेखेको कुरा गल्ती रहेछ भन्ने थाहा पाउँदा भन् खुसी लाग्ने अवस्था पनि पर्दो रहेछ । एउटा त्यस्तै अवसर हो भन्ने हामीलाई लाग्छ । तर देवकोटाज्यूले उपन्यास पनि छाडेर जानुभएको रहेछ भन्ने थाहा पाउँदा नित्यराजज्यूलाई जति आनन्द लागेको होला त्यत्तिकै खुसी हामीलाई पनि लागेको छ, यसलाई प्रकाशनमा ल्याउन पाएकोमा ।
यो उपन्यास जुन रूपमा हामीले पायौँ, त्यही रूपमा हामी पाठकहरूका सामु टक्र्याउँदैछौँ । त्यसैले पढ्दा यो कसैकसैलाई अपूरोजस्तो पनि लाग्नेछ । तर लेखकले सबै कुरा नभनी पाठकलाई नै बाँकी कुरा कल्पना गर्न लगाउने आधुनिक उपन्यासको परिपाटीअनुसार केही भन्न बाँकी नै राखी भट्ट टुङ्गिएजस्तो यो उपन्यास धेरैलाई रिझाउने पनि हुन सक्नेछ भन्ने लाग्छ ।
ने.भा.प्र. समितिको उत्तराधिकारमा हामीलाई प्राप्त भएको यस पुस्तकको लेखोट कापीमा बाहिरपट्टि नाम थियो 'नेपाली सामाजिक उपन्यास' । त्यही शीर्षक राखी पुस्तक प्रकाश गर्नु ठीक लागेन र हामीले एउटा नाम दियौँ–'चम्पा' । तर यही न्वारान गर्दा पनि हामीले देवकोटाज्यूको परम्परा छाडेका छैनौँ भन्न मन लाग्छ किनभने कथाको मुख्य पात्रीको नामबाट नै किताबको नामकरण गरिएकोले 'कुञ्जिनी', 'लूनी', 'सुलोचना', 'म्हेन्दु' कै हारमा यो उभिएको देखिनेछ ।
यसरी जन्मेको करिब बीस वर्षजतिपछि न्वारान हुने यो 'चम्पा' ले लोकप्रिय हुन बीस दिन पनि पर्खन नपरोस् ! न्वारान गराउनेको नाताले हामी यही आशीर्वचन भन्छौँ । तथास्तु !
– क. दी.