Jump to content

Page:Champa.pdf/39

From Nepali Proofreaders
This page has been proofread

छलछाम लुकाउनको कोशिशसले गरेको अप्राकृतता स्वामीजीको सामुन्ने छाइरहेको थियो ।

चम्पा बिलकुल लाटीजस्ती भएर, खसक्क परेर, पतिदेवको अगाडि जमिनमा आँखा झुकाएर खडा रहिन् ।

उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो ‌‌रोबर्ट मन्टगोमेरीको समालोचना लार्ड मेकालेले गरेका छन् । तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोशाक राखे । उनको हातबाट एक, एक पोशाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा, खुट्टीमा तन्दुरुस्त राखिदिइन् । तब आफ्नो बढ्ता काम या सेवाको आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको पलेँटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् ।

जान लागेको देखेर रामकान्तले भने, "चम्पा ! किन ? कहाँ जान लाग्या ? बस न एकछिन । मसँग रिसाएर हो कि ? किन आज केही पनि नबोलेकी ?"

चम्पाले फर्केर मसिनो स्वरले भनिन्, "नबोल्दा त यस्तो छ आर्कालाई । म जाऊँ क्यार !"

रामकान्तले आफ्नी पत्नीको सौन्दर्य र शीलको मनमन प्रशस्त कदर गरिरहेका थिए— "निर्दोष, यति सुन्दरी, यति बेकसूरवाला छिन् त ! ठकुरीकी छोरी भन्नु मात्र हो, मेरो आदर्श च्यान्टा भए पनि यिनी कमसेकम उच्च सौन्दर्य हुन सक्ने मूर्ति छिन् । मेरो आदर्शमा मेरै च्यान्टापनाको प्रभाव अङ्कित छ । यो उनको भूल होइन । तर टि.बी. हो पाहुना । टि.बी. ! तँ मेरो सर्वस्व खान आएर करबल आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरो उपर विजय प्राप्त गरेँ । तँ मलाई अब मार्न सक्तैनस् ।"

उनका तरङ्गका मूक क्षणमा चम्पादेवीले खूब तीखो नजर लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर मुखरेखाले अन्तर्भाव खूब पढ्न खोजिन् । उनले सम्झिन्— "यी पुरुष चिन्तनशील छन् आज सायद आफ्नो बिमारीको विषयमा सायद उनलाई आमा चिढ्याउनदेखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर