Jump to content

Page:Bhanubhaktako ramayan.pdf/88

From Nepali Proofreaders
This page has not been proofread

पत्नी सीत वियोग् हुँदा यति विलाप् हूँदा रह्याछन् भनी ।
मालुम् सब् त तहीं छ फेर् म भनु क्या पर्दैन भन्नू पनी ॥
पत्नीदान् गरि पुण्य हुन्छ जति सो मिल्न्या छ पुण्यै पनी ।
तस्मात् आज अवश्य हान शरले जावस् पती थ्यैं भनी ॥६०॥

येती बात् अगि राम सीत गरि फेर् सुग्रिव्जिलाई पनी ।
भन्छिन् लौ गर राज्य आज खुसिले मित्ले दियाको भनी ॥
ताराका इ वचन् सुनी कन बहुत् आयो प्रभूमा दया ।
तारालाइ बुझाउना कन तहाँ एक् तत्त्व भन्दा भया ॥६१॥

हे ताराजि विचार् न राखि तिमिले शोकै कती गर्दछ्यौ ।
यो मेरो पति हो भनेर न बुझी व्यर्थै शरिर् हर्दछ्यौ ॥
जीवै हो पति भन्दछ्यौ पनि भन्या मर्दैन जीव् ता कहीं ।
देहै हो पनि भन्दछ्यो त किन शोक् गर्छ्यौ छ ऊ ता यहीं ॥६२॥

श्रीराम्का इ वचन् सुनी कन तहाँ ताराजि चुप् भै रहिन् ।
जुन् सन्देह पर्यो वहाँ मन महाँ सो मात्र सोद्धी भइन् ॥
हे नाथ् मर्जि भयो सुन्याँ सब कुरा बुझ्दैन मन् तै पनी ।
सन्देहै मनमा रह्यो म कन ता को गर्छ यो भोग् भनी ॥६३॥

देहै गर्दछ भोग् भनू पनि भन्या जड् पो छ यो देह ता ।
ईश्वर् हो उहि गर्छ भोग् भनु भन्याँ सक्तीन भन्नै म ता ॥
साह्रै मोह भयाँ म ता हजुरका एकै वचन्ले गरी ।
माया राखि बुझाइ बक्सनु हवस् अज्ञान मेरो हरी ॥६४॥

ताराका इ वचन् सुनी कन बहुत् माया मनैमा धरी ।
तत्त्वज्ञान् सब ताहिं बक्सनु भयो खोलेर विस्तार् गरी ॥
हे ताराजि न रोउ आज मनले संसार् छ झूटो भनी ।
झूटो कुन् रितले छ यो भनि भन्या भन्छू म विस्तार् पनी ॥६५॥