कैलाश्मा भगवान् सदाशिव थिया ध्यान्मा बहुत् मन् दिई ।
वाम् काख्मा बहुतै पियारि हितकी श्री पार्वतीजी लिई ॥
एक् दिन् पार्वतिले तहीं शिवजी थ्यैं सोधिन् चरण्मा परी ।
आफू ता सब जान्दथिन् तर दया सम्पूर्ण लोक्मा गरी ॥२४॥
हे नाथ् ! बिन्ति म गर्दछू हजुरमा राम् हुन् जगत्का पती ।
राम् देखी अरु कोहि छैन जनका संसार तर्न्या गती ।
जस्मा भक्ति गर्यो भन्या अति गभिर् संसार सागर्महाँ ।
नौका झैं तरि जान्छ झट्पट गरी तेस् नर्कि देहै तहाँ ॥२५॥
यस्ता राम् कन लोकमा जनहरू एक् ईश्वरै मान्दछन् ।
कोही तत्त्व न पाइ मूर्खहरु ता मानिस् सरी जान्दछन् ॥
क्या भन्छन् ति कि राम ईश्वर भया शोक् क्यान तिन्ले गर्या ।
सीता रावणले जसै हरि दियो ठूलै विपत्मा पर्या ॥२६॥
ईश्वरलाइ त शोक् हुँदैन र भनूँ हूँदैन अज्ञान् पनी ।
इन्मा यो सब देखियो त कसरी जान्नू इ ईश्वर् भनी ॥
लोक् यस्तो पनि भन्छ कोहि भगवान् यस्मा विचार् खुप् गरी ।
जस्तो हो सब यो बताउनुहवस् सन्देह मेरो हरी ॥२७॥
यस्तो प्रश्न सुन्या र पार्वतिजिको खूसी पनी खूप् भया ।
राम् यस्ता प्रभु हुन् भनेर शिवले सब् तत्त्व ताहीं कह्या ॥
सून्यौ पार्वति ! राम् अनादि परमेश्वर् हुन् ति आकाश् सरी ।
सब् ढाकी कन बस्तछन् अघि विराट् सम्पूर्ण सृष्टी गरी ॥२८॥
जस्तै चुम्बकका नजिक् परि गया नाच्छन् इ लोहा पनी ।
तस्तै जस् कन पाइ नाच्तछ जगत् नाना प्रकार्को बनी ॥
यस्तो तत्त्व न जानि मानिस सरी राम्लाइ जो गर्दछन् ।
संसार्का इ अनन्त ताप्हरू तिनैलाई सदा पर्दछन् ॥२९॥
Page:Bhanubhaktako ramayan.pdf/16
Appearance
This page has been proofread
