यो चिन्ता मनमा भयो र अहिले सोधूँ उपायै भनी ।
आयाको छु दयानिधान ! कसरी तर्नन् सहज् ई पनी ॥
यस्तालाइ उपाय तर्न सजिलो कुन् हो उ आज्ञा गरी ।
मेरो चित्त बुझाइ बक्सनुहवस् क्याले इ जान्छन् तरी ॥६॥
नारद्ले दुनियाँउपर् गरि दया बिन्ती गर्या यो जसै ।
ब्रह्माजी पनि खूप् प्रसन्न हुनुभो मर्जी भयो यो तसै ॥
हे नारद् ! सब पाप हर्न कन ता रामायणैले सरी ।
आर्को मुख्य उपाय छैन सबको हित् यै छ अमृत् सरी ॥७॥
शम्भू देखि सुनेर तत्त्व सब यो गान् पार्वती गर्दछिन् ।
राम्को नाम अपार जानि बहुतै आनन्दमा पर्दछिन् ॥
जस्ले गान् कन गर्दछन् त ति सहज् संसार पार् तर्दछन् ।
कालैको पनि ताप् हुँदैन भय सब् तिन्का सहज् टर्दछन् ॥८॥
यो सब् शास्त्रविषे बडो छ रघुनाथ्को रुप् जनाई दिन्या ।
जो छन् सब् इ पुराण्हरू इ सबमा यै मुख्य जानी लिन्या ॥
गर्छन् कीर्तन सुन्दछन् पनि भन्या यो पाउँछन् फल् भनी ।
तिन्को पुण्य बखान गर्न त सबै सक्तीन मैले पनी ॥९॥
सून्याथ्याँ शिव देखि यस्कि महिमा एक् श्लोक पढुन् ता पनी ।
भक्तीले यदि यो पढ्यो पनि भन्या पाप् छुट्तछन् सब् भनी ॥
जो एक् चित्त गरेर पाठ खुसि भै गर्छन् सदा यै भन्या ।
जीवन्मुक्त तिनै त हुन् नर भई ईश्वर् सरीका बन्या ॥१०॥
पूजा पुस्तकको गर्या पनि त फल् एक् अश्वमेध्का सरी ।
पाऊँछन् सुनियो कहीं पनि भन्या पाप् छुट्तछन् तेस् घरी ॥
जो ता पुस्तकका नजिक् गइ नमस्कारै फगत् गर्दछन् ।
तेस्ता जन् सब देवता पुजि हुन्या फल् भोगमा पर्दछन् ॥११॥
Page:Bhanubhaktako ramayan.pdf/13
Appearance
This page has been proofread
