Jump to content

Munamadan/madan bhot janchan

From Nepali Proofreaders
मदन भोट जान्छन्

डाँडा र काँडा, उकाला ठाडा, जङ्घार हजार,
भोटको बाटो ढुङ्गा र माटो, नङ्गा र उजार,
कुइरो डम्म, हिउँले टम्म, त्यो विष फुलेको,
सिम्सिमे पानी, बतास चिसो बरफ झैँ डुलेको,
मसाने खम्बा लामाका गुम्बा शिर गोल खौरेका,
बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका ।
स्याउला चीसा, ओछ्यान खासा जाडोले बज्ने दाँत,
पकाई झिक्ता नखान पाई काँचाको काँचै भात । [✤ 1]



  1. ✤बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा
    मदन ह्लासा झलमल देख्थे ब्यूँझिदो स्वप्नमा
    कल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दी
    ह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी ।


आखिर ठूलो सुनको छाना साँझमा सुहायो,
मैदाननेर पोतालामनि ह्लासा नै मुस्कायो ।
आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको,
सुनको छाना, दरबार अजङ् त्यो दले लामाको ।
चौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको,
रङ्गीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको,
शीतल पानी, हरिया पात, हिउँका टाकुरा,
शिरीष फूल फुलेको सेतो, रूखका आँकुरा ।
कीचूको खोला, लिङ्कोरको दृश्य, अम्बानको महल,
यूतोक स्याम्पा, त्यो पुल राम्रो, त्यो ह्लासा झल्मल ।

ती हस्तिहाडसरिका सेता, भोटेनी भर्खरका,
आँखाका काला, नौनीका छाला, त्यो ह्लासा शहरका ।
खौरेका शिर भोटेका गुरु, ती माला फिराई,
गम्भीर चाला, गडेका आँखा, अनौठा लगाई ।
'ॐ मणिपद्मे ! ॐ मणिपद्मे !' भनेर हिँडेका,
कपाल थापी आशीर्वाद मागी बटुवा बढेका ।
त्यो नौलो गाउँ, त्यो नौलो ठाउँ, त्यो नौलो सडकमा,
ह्लासाको शहर क्या लाग्दो रहर सुनको झलकमा ![✮ 1]



  1. ✮हिमालको आकाश-किनारापारि बुद्घको शीतल धाम
    सुनौला बादल-नगरी जस्तो गन्धर्व-परी-ग्राम,
    बिपनाभन्दा सपना राम्रो, यथार्थभन्दा भाव,
    स्वर्गको यात्रा गरे झैँ चले बाटाको बिर्सी ताप,
    ह्लासाका झल्के सुनका छाना उनका आँखामा,
    रङ्गीन फूल नौरङ्गी फुले उत्तरका शाखामा,
    दूधले न्वाउँथिन् भोटकी रानी, फूलमा सुत्दथिन्,
    हिमालको हिउँसँगमा स्पर्धा छालाले गर्दथिन्,
    गुलाफसँग दाँजिनुपर्थ्यो ऐनामा गाला रे !
    एक राज्य किन्ने गलामा उनको रत्नको माला रे !
    फूलको मह सहेली टिप्थे बागमा छानेर,
    मणिको प्याला उचाली पिउँथिन् आनन्द मानेर,
    तरङ्ग यस्ता हजारौँ चले मदनका मनमा,
    सुनेको माथि कल्पना लागी रङ्गिलो क्षणमा ।
    बाटो त साह्रो उकालो ठाडो कहीँ छ बित्ते भीर,
    कहीँ छ डोरी टाँगेको पुल कहाली रिङ्ने शिर;
    पातलो उँचाइ धकाउँदो फोक्सो मुटुलाई फोरेर,
    गरलनीला पर्वतमाथि पर्वत चढेर,
    तपस्वीलाई निर्वाणनिम्ति चढाइ कठोर
    हजारौँ सही भए झैँ विफल कष्ट भो अघोर,
    बीचबीचमा तर अमोल झल्का पाइन्थे पथमा,
    नन्दनजस्ता फुलेका जङ्गल पहाडी पटमा,
    आश्चर्यजस्ता बिरामी फूल, बनेली प्रतिभा !
    प्रकृति उनलाई छक पारिदिन्थिन्, मस्काई मुटु बाः ।
    बादलु देशमा टाकुरे गाउँ शेर्पाको विचित्र
    गर्जनतल, इन्द्रेनीतल,
    झुल्कन्छ घाम, तल छ जल
    माथि छ मानव स्वर्पुरमा झैँ चुलीमा पवित्र ।
    स्याम्बोमा स्याम्बो रमाइलो नाची कम्मर समाई,
    चरण फ्याँक्ने बाँसुरी-तालमा, अप्सरा लजाई,
    सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
    लुकेका स्वर्ग, समुच्च जाति यसमा छन् विचित्र,
    'पृथिवीभरमा क्वै जाति भए नेपाली के कम छ ?'
    मनमन भन्थे मदन त्यहाँ 'यहाँ क्या जीवन छ !
    हिमाल हाँक्ने तेजस्वी जाति स्वभाव-तपस्वी,
    विश्वमा नेपाल विक्रम-तेजले हुनेछ यशस्वी'
    कहीँ ता झर्ना नौधारे बनी आदिम गानाले,
    गुञ्जायमान शीतल पर्वत शीकर-दानाले,
    अमृत जल त्योभन्दा मीठो पृथ्वीमा पाइन्न,
    प्रकृति कहीँ यत्तिकी धनी शब्दले गाइन्न !
    ढुङ्गाको दाँत बाटामा तर तीखो छ बिझाउने
    हिउँको दाँत झन् तीखो बतास दार्‍हा नै किटाउने,
    विचित्र जन्तु सैरने वन गोधूली-छायामा,
    कालीको वाहन फुकेर चर्ने मिर्गका कायामा ।
    कल्पनाभन्दा रङ्गिला पन्छी गजब वनको बोल
    शहरका सङ्गीत-कविताभन्दा बनेली अनमोल,
    जीवनको मीठो आनन्द चर्को हरियो हावामा
    उद्गार गरी थरी र थरी,
    फुर्फुरी गर्ने भुर्भुरी लिने,
    उत्तम सिर्जन रङ्गीन चरी; सुन्दरका कायामा,
    पुष्ट र चिल्ला बनेली जीव विलास्ने छायामा,
    क्वै देवी थिइन् गहन वनमा, अमित सुन्दरी,
    भीषण काली क्रोधमा तर,
    नङ र चुच्चो लोहित हुँदी आँधीका भुमरी,
    कृष्ण र राधा झूलन खेल्ने लहरा फुलेका,
    अत्तर-बास्ने पत्तीका झुप्पा जहाँ छन् हिलेका,
    सुन्दरताको विचित्र लोक जङ्गली एकलासमा,
    देखेर मदन गद्‌गद हुन्थे विचित्र मिठासमा,
    मिर्गको पाठो कोमल चिल्लो फुर्फुरे शैशवमा,
    चाञ्चल्यको नै आनन्दस्वरुप फुर्केको रहरमा,
    इन्द्रेनी-राज्य फुलारु बाक्ला जङ्गल नाघेर
    मदन चढे पर्वत ऊँचा हिमालमा लागेर,
    पर्वतराज पृथ्वीका ताज ओजस्वी हिमाल,
    काँधमा स्वर्ग बोकेर हेर्थे नीलिम नेपाल,
    दिनले लिँदा पहिलो झुल्को सगरमाथामा,
    उषाले बाल्थिन् लखबत्ती-चुली सुनौला ज्वालामा,
    एकान्त त्याहाँ शासन गर्थ्यो साम्राज्य सेतोमा
    तपस्या त्यहाँ शान्तिमा चढ्थिन् स्वर्गको बाटोमा,
    बिहानी लाली लसेर आउँदा प्रथम गुलाफ,
    सृष्टिको पैलो ललित रङ्ग धप्काउँथ्यो रवाफ,
    मानिसलाई चुनौती दिने हिउँका टाकुरा
    डुबुवा दिनले छोएर बल्थे
    प्रकृति-मन्दिर सुनौला गजूर धप्के झैँ हजारौँ,
    विशालताको रोमाञ्चकारी हिमाली स्वरूप,
    विभिन्न पाटे भएर झल्को दर्शाउँथ्यो अनूप,
    करुणाजस्तो कोमल निर्मल हिउँको काया छ,
    भूभरको ऊँचा भएर भूमा पग्लिने माया छ
    रहस्य यौटा अवश्य राख्थ्यो स्वर्गिक चुली खास,
    उमा र शिव गर्दथे भूको टुपीमा ऊँचा वास,
    सकल युगको इतिहास जानी निश्चल तपस्वी,
    सागर भेटी बादल फ्याँक्थे
    आशिषजस्ता वर्षालु स्वरमा नेपालमा यशस्वी ।
    जूनले लस्दा हिमाल महल कान्तिको कोमल,
    चाँदनी स्वर्ग, चाँदिलो सपना
    अमृत-जलप-निवास बन्थ्यो उमाको शीतल,
    पीयूष-जलमा छायाको सार झल्के झैँ मञ्जुल,
    एकान्तलाई त्योभन्दा ठूलो विलास थिएन,
    संसारी विष निभाउन शीतल
    त्योभन्दा अर्को भूतलमा कहीँ स्थल नै थिएन,
    अनेक गङ्गा निर्झर नाला आँसु झैँ दयामा,
    पग्लेर स्वतः बर्बर झर्झर्
    तपस्वी लोचन हिमालीबाट झर्दथे दुनियाँमा ।
    श्यामल धन नेपालको भन कसको वरदान ?
    जलडोरे अनेक सभ्यता युगका कसको प्रदान ?
    उच्च र गूढ भावको क्षेत्र हृदय सङ्लाउने,
    आश्चर्य के छ, भारत खोज्थ्यो
    त्यो दिव्य मीठो आभास सधैँ आत्मालाई जगाउने,
    उचाली आफ्नो मनको तह तरङ्ग उचाली
    हिमाल-प्रदेश पार गर्थे मदन हृदय उचाली
    धूपीका घारी सल्लाका घारी पर्वत चढेका,
    हिमालका ज्यादा नजीकका शिशु ती हेर्थे बढेका,
    पृथिवी अब पातलो उँचाइ लिएर नङ्गिन्छिन्,
    छ मास हिउँको सिरक ओढी छ मास फुङ्गिन्छिन् ।
    बतास भो तीखो, हिमाली श्वास सियो झैँ कडा भो,
    भोट जाने युवा हिउँको लामो लहरमा खडा भो
    बर्बुरे चिनी हावाले छानी सल्लाको सियाभर,
    पवित्रताको पीठोको धूली पर्वतमा छरबर,
    शीतमा थियो अग्निको जलन पैताला जलाउने,
    हावामा थियो पातलो पन फोक्सोलाई फुलाउने,
    बतासले दार्‍हा किटेर टोक्थ्यो साँझमा मुटुलाई,
    भोटेली पोशाक, दोचा र भुत्ले टोपीले उनलाई,
    सुकुटी चिया भेडाको धूली चौँरीदूध गट्टाले
    बचाए बल्ल क्या कष्ट पाए बाटामा पट्ठाले !
    प्रकृतिदेवी मानिसप्रति क्रूर र निठुरी
    भएर जान्थिन् पठार पुग्दा पृथ्वीको जो धुरी,
    उब्जनी छैन, खानलाई छैन, पिउन नदारत,
    बल्ल र तल्ल सँभाली साँवल,
    नेपाली साहू भोटेको त्यो दल–
    सँगमा मदन जिनतिन चले कष्टको कडा पथ,
    अनेक दुःख बाटामा सही देखेर उदेक
    एक मैह्नापछि मदन पुगे ह्लासाको नजीक ।


अकेली मुना अत्यन्तै राम्री कमल झैँ फुलेकी,
बादलको चाँदी किनारा छोई जून झैँ खुलेकी,
कलिला ओठ खोलेर हाँस्ता मोती नै बर्सन्थ्यो,
पुसको फूल झैँ सुकेर गइन् आँसु नै बर्सन्थ्यो,
लाम्चिला आँखा पुछेर गर्थिन् सासूको सुसार
कोठामा सुत्दा तकिया भिज्थ्यो चिन्ताले हजार,
ती दिन लामा, ती रात लामा ती दिन उदासी,
अँध्यारा रात, उज्याला रात जून नै उदासी,
झ्यालमा मुना झल्मल तारा ह्लासामा ती प्यारा,
आँखामा आँसु मुनाको मन चिन्ताको आहारा,
स्वरमा आँसुको सिम्सिमे वर्षा मसिनो चले झैँ,
एकान्तभित्र उठ्तछ गाना विरह बोले झैँ,
चिन्ताले लाखाँ लाग्दैन आँखा सपना प्यारो छ,
सपनाभित्र उनलाई देखे उठ्न नै गार्‍हो छ,
सपनाभित्र उडेन सास भनेर ती रुन्छिन्,
दिनको दिन गुलाब जस्ती वैलेर रहन्छिन्,

मनको दुःख मनैमा राख्छिन् नबोली छिपाई,
छातीको शर, पन्छीको प्वाँख राख्तछ लुकाई,
उज्यालो हुन्छ दिनको अन्त्यमा बत्तीको धिपधिपमा,
वैलिँदा फूल झन् हुन्छ राम्रो शरद्को समीपमा,
बादलको कालो किनार चाँदी, झन् जून उज्यालो,
बिदाको वदन झल्कन्छ मनमा दुःखको उज्यालो,
फूलमा खस्छन् शीतका आँसु आकाशमा वर्षाजल,
रातका आँसु ताराका ज्योति, टप्कन्छन् महीतल,
गुलाब मीठो जरामा बन्छ कीराको आहार,
शहरभित्र फुलेको फूल दुष्टको शिकार,
मानिसको हात निर्मल पानी हिलोले भर्दिन्छ,
मानिसलाई बाटामा काँडा मानिस छर्दिन्छ,
अत्यन्त राम्री यी मुना हाम्री झ्यालमा बसेकी,
शहरको यौटा गुण्डाले देख्यो अप्सरा खसेकी,
भवानीलाई कातेर बत्ती बेयाद रहेकी,
गालाको पाटा कानको लोती, कपाल घुम्रेकी,
त्यो छड्के दर्शन पाएर उभियो पागलै भएर,
घरको वर, घरको पर त्यो घुम्थ्यो गएर ।

गुलाबलाई देखेर राम्रो हे भाइ ! नछुनू !
लोभले हेर्‍यो, मोहनी गयो जङ्गली नहुनू !
सिर्जनाभित्र रचना राम्रा नजरका जुहार !
ईश्वरको हाँसो पाएका फूल छोएर नमार [❂ 1]



  1. ❂भित्र छ आत्मा मसिनो तिनको पत्तीमा झल्केको,
    भित्र छ तिनको मसिनो बास्ना हावामा बल्केको
    सुन्दरको सूक्ष्म स्वरुपका टुना बाहिरी नजरमा,
    तनको लोभी गुमाउँछ आत्मा विलासको रहरमा ।
    गुलाब आए सुहाउन पृथ्वी दिव्यका मुस्कानले,
    बोलाउन आफ्ना आत्माले आत्मा सुन्दरको आह्वानले,
    लोभको खस्रो निर्लज्ज हातले तिनलाई नछोऊ,
    लज्जाले खुम्ची भाग्दछ देही
    के माटोबाहेक हात लाग्ला केही ?
    मुस्कन देऊ फुस्कन देऊ बास्नामा मधुर,
    बास्नाले मात्र सौन्दर्य छोऊ
    आँखाको लोभ आँसुले धोऊ
    सिकाउलान् तिनलाई सुन्दरमा उठ्न गुलाबी बिहानले ।


घरमा आई, माउर लाई, नैनीले मुस्काई,
हाँसको फुल कुर्कुच्चा राम्रो त्यो भन्छे शर्माई,
"कलिलो राम्रो हजूरको पाउ क्या चट्ट मिलेको !
चीनियाँ पाउ, लक्ष्मीको जस्तो, कमलमा खुलेको !
मोतीको दाँत, हीराको जात हजूरले हाँसेको !
मोहनी लाग्छ, विघ्नै छ राम्रो हजूरले हाँसेको !
छ मैह्ना भयो खसम हजूर ! गएको ह्लासामा,
बिर्स्यो पो क्यार ? हजूरलाई तरुनी-खासामा,
यसरी छोडी गएको देखी दिल दुख्छ मलाई,
कमलको पातमा जोबनको थोपा रहन्छ कस्लाई ?
नजर मात्रै मुखमा लाए हजार मर्नेछन्,
भँमरा जस्तै डुलुवा खसम के कदर गर्नेछन् ?"
मुनाको गाला, आगोको ज्वाला जलेर उदायो,
आँखामा चम्क्यो बिजुली यौटा, चाँडै नै हरायो ।
खामोस खाई दयाले भन्छिन्, "हे नैनी भाउज्यू !
म अरू जस्तो नठान बुझ्यौ हे नैनी भाउज्यू !

यी कुरा गर अरुका कान, जो सुन्छन् लिई चाख,
जोबनका हीरा शहरका कीरा, पाउँछ्यौ तिमी लाख !
चन्द्रमालाई खसाल तिमी, हिमाल उचाल,
यो मेरो मन डगाऊँ भनी नरच यो जाल,
गुलाब जस्तो फुलेको दिल कोपिला हुँदैन,
जो एकबाजि सुम्पियो बुझ्यौ सो आफ्नो हुँदैन,
स्त्रीलाई जाँच चिताको ज्वाला पसेर निस्कुँला,
त्यो पाउलाई समाई फेरि स्वर्गमा बसुँला,
यो चार दिनको कञ्चन चोला ईश्वरले सिँगारे,
के भन्नु माथि बाबुको अघि हिलोले बिगारे ।
दयाले नैनी ! ईश्वरले सिँगारे !
पापको भारी बोकेर फेरि उक्लनु कसोरी !
मनुष्यचोला गुमाए त्यसै फिर्दैन यसोरी,
नैनी ! फिर्दैन यसोरी !
स्त्रीजातिलाई सृष्टिको भार भविष्य जगत्‌को,
आनन्द दिने सुगन्ध दिने पवित्र रगतको,
सौन्दर्य हाम्रो जूनको जस्तो किरण पवित्र,
जूनमा हुन्छ कलङ्क, हुन्न सतीको मनभित्र,
मानिसहरूको मनको जगत् गर्दिन्छ पवित्र,
ती तिम्रा आँखा रसाई आए, परेला अडेको,
आँसुका ढिका क्या राम्रो देखेँ अगाडि बढेको,
हे नैनी दिदी ! मनको मैलो आँसुले पखाल्छ,
आँसुका थोपा आफैँमा खसे यो मन उचाल्छ,
यी मेरा कुरा गएर तिमी अरूमा सुनाऊ,
आँसुका ढिका बनाई राम्रा खसाल्न लगाऊ,

नभएदेखि सङ्घारवारि हे नैनी ! नआऊ !'[✦ 1]


  1. ✦'बिराएँ हजूर, माफ रहोस् कसूर' नैनीले जोडी हात,
    भुङ्ग्राले जल्यो उसको गाला
    मानव-आत्मा पतनमा पनि
    निदाइरन्न लौ हेर ! चाला
    अन्तरले उसको के भोग्यो होला शरमको वज्रपात ।
    त्यो दिनपछि त्यो लागी भन्छन् कृष्णको भजनमा
    सुत्नेलाई त्यस्तै जगाउने शक्ति सतीको वचनमा,
    भाइ ! सतीको वचनमा,


सिङ्डोङ्कारमाथि पहाडी चुच्चो आगो झैँ बल्दछ,
त्यो ताशीलिङ्गा फूलको बारी हावामा झुल्दछ,
तलाउ लुक्याङ् चम्कन्छ तल, आकाशतर्फको,
सुनले छाएको गुलाबी घर फोडाङमार्पोको,
चुङसुक्याङ् भन्ने सडक राम्रो, चूजिक्याङ् बगैँचा,
अस्मानी पुल युतोक स्यापा घाँसका गलैँचा,
फूलबुट्टे चउर घाँसका गलैँचा ।
चम्किलो सुनको रङ्गिलो देश नौलो र उज्यालो,
कस्तूरी-वास, सुनको रास, बाटो ता उकालो,
आएर बसी के जानु चाँडै ? नबुझी नौलो चाल,
मित्यारी लाई मदन बसे घरको बिर्सी हाल,
छ मैह्ना गयो, सात मैह्ना गयो, मन भो झसङ्ग,
ती मुना प्यारी, आमा बेचारी मन भो झसङ्ग,
मनमा आए लहर जस्ता जलका तरङ्ग,
परेवा उड्यो शहर नाघी, जङ्घार तर्‍यो पार,
मनले उनको पखेटा हाल्यो उडेर गयो घर,

बसेको बस्यै घरमा पुगे आमा छन् बिरामी,
मुनाका आँखा रोएर ठूला, नयन बदामी,
लाम्चिला, ठूला नयन बदामी !
घ्याङ्घुङे घण्टा गुम्बामा बज्यो, बादल झुम्मियो,
पहाडमनि पहाडी छाया साँझमा लम्बियो,
बतास चीसो चम्केर आयो मनको तन्द्रामा,
उठेर देखे भेडाको भुवा ओढेका चन्द्रमा,
उदासी जून, फिकामा गए मदन डेरामा,
ती आमा नाचिन्, ती मुना नाचिन् आँखाको घेरामा,
त्यो रात त्यसै छर्लङ्ग गयो, ओछ्यान बिझायो,
छातीमा केले थिचे झैँ लाग्यो, आकाश रछायो,[✪ 1]


  1. ✪छ बीस दिन उज्याला पङ्खी हिमालमा ब्यूँझेर,
    पश्चिमी सुनको सागरपारि गएछन् उडेर,
    गोसाइँकुण्डको धेरै नै पानी गङ्गामा बग्यो हो,
    ह्लासाको जादू घरले जित्यो,
    नेपाल-खाडी निर-किल्लाभित्र स्वप्नमा अड्यो हो ।
    साहूका साथ सिकेर किल्ली बेपारमा चलेथे,
    तीन मैह्ना चल्दा क्यै गुठिल जम्मा भएर फुलेथे,
    कस्तूरी असल बिनाका बिना बटुली सह्यारे,
    शिलाजित बूटी उत्तम केही बटुले त्यहाँ रे,
    सुनका माल प्रशस्तै मिले लगाउँदा लगानी,
    आफूलाई चाहिनेसम्मको धन कमाए त्यहाँ नि !
    ओखती केही लगेका थिए एक लामा धनीको,
    दमको व्यथा निमन भयो भाग्य नै बनिगो,
    आफूले उनले चिताएभन्दा रास थियो सुनको,
    नेपाल फर्की जानै भो इच्छा अब ता उनको,


लुकाई गर्‍हौँ सुनका थैला, कस्तूरी सह्यारी,
ती बिदाबारी भएर हिँडे ईश्वर पुकारी ।



"सपना मैले के देखेँ आज ? भैँसीले लगार्‍यो,
यो मुटु काँप्छ त्यो भैँसी सम्झी, हिलामा पछार्‍यो,
बज्यै ! भैँसीले लगार्‍यो ।"
"बुहारी मेरी ! शीतको सप्ना पिर्दैन खराब,
खराब सपना त्यो बिर्सिजाऊ डरले नकाँप ।
फुलेको शिर म थापिदिन्छु सबै त्यो खराब,
हे छोरी जस्ती बुहारी मेरी ! त्यसरी नकाँप ।"
"दाहिने आँखा फर्फर गर्छ मनमा लाग्यो पीर,
कहाँ हो कहाँ मुटुमा दुख्छ, घुम्दछ मेरो शिर,
आमा र बाबु स्वर्गमा मेरा, टुहुरी अजान,
हजूर नै आमा, हजूर नै बाबु, खोल्दछु मुहान,
बज्यै ! मनको मुहान !"
"कसैका माथि कुभलो हाम्रो मनमा पसेन,
पापको छाया यो हाम्रो सानो घरमा घुसेन,
दैवले देख्छ सोझाको दर्द, दैवले हेर्दछ,
दैवको वज्र ओर्ह्लेर आए ममाथि पर्दछ,
फुलेको केश ममाथि पर्दछ !"
"धेरै नै भयो खबर केही आएन ह्लासाको,
चिठीको भर पर्दछ बस्नु, चिठीको आशाको ।"

"बेपारीलाई कामको भीड फुर्सद पाएन,
लेखूँला भन्दै भुलेको होला त्यसैले आएन,
वनको बाटो डाँडा र काँडा, टाढा भै आएन ।"[✺ 1]


  1. ✺'नमान पीर बुहारी मेरी ! पीरले सुहाएन'
    'तैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छ;
    शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छ;
    खराब कुरा नसोच्नू भन्छन् अफाल्दा फर्किन्छ
    मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ,
    हजूर ! आँखिभौँ फड्किन्छ ।
    हजूर हाम्रो अबला चोला आधार हुँदा दूर,
    सुकेको पात झैँ शीतको बेला,
    हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूर,
    मुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरी
    उडूँ कि बसूँ सरि छ जीवन-हाँगामा फर्फरी
    हिमाललाई हेर्‍यो मन चीसो हुन्छ पर्वत हेर्‍यो नीर,
    हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर ?
    हजूर ! के गरी रहूँ थिर ?'
    'नमान पीर बुहारी मेरी ! असलै हुनेछ,
    फूल झैँ छोयौँ संसार हाम्ले,
    न मान्छे न त दैवले हाम्लाई काँडाले छुनेछ ।'



Cite error: <ref> tags exist for a group named "✮", but no corresponding <references group="✮"/> tag was found
Cite error: <ref> tags exist for a group named "❂", but no corresponding <references group="❂"/> tag was found