Jump to content

Mhendu/chaturtha

From Nepali Proofreaders
चतुर्थ

[१]
रानी जुनेली
चाँदी उजेली,
राज्छिन्‌ हेलम्बु
सेर्पा झोलुङ्गो !

[२]
ढुङ्गा फुल्ला फुल्लामा
पानी बोल्ला बोल्लामा
थुँगा हिल्ला हिल्लामा
टह टह जून ।

[३]
भन्छिन्‌ हिन्दु कुरंगी
उसका आँखा कोस लामा
जलभर जलभर
टलपल छन्‌
वसन्तको वन ।

[४]
बाबा गम्बोजी
आगो फिलिङ्गो ।
नछोड्‌ भन्दछ
सेर्पा झोलुङ्गो ॥

[५]
आँखा टलपल ती
पार्छिन्‌ अंबुजा !
गुम्बु भन्दछन्‌ दुखी दिलधुजा
"हाम्लाइ रोक्नमा
उनलाई के मजा ?"
आँखा आँखामा
जूझी रसायो ।
पीर्ति पीर्तिमा
बोल्ने जल आयो ॥

[६]
आँखा पुछी ती
मीठी वनचरी
आँखा चिम्लिन्छिन्‌
आँखा मन भरी ।

[७]
"छोड म्हेन्दु जून रानी मलाई !
गेरु रँगाउँला
केको दुख हाई ।
म्हेन्दु छीटो अँगालो, हाल्छिन्‌ !
बल्लरी रोई फूलफूलमा
दाना बर्बरी !

[८]
"नजाऊ" भन्दछन्‌
फेरि त्यो घरमा !
हामी मरौंला
झुण्डी यो बरमा ॥"

[९]
आँसु रुमालले
पुछी बर्बरी ।
गुम्बु भन्दछन्‌ ।
प्रेमका निर्झरी ॥

[१०]
"यहीँ बसौंला
तिम्रो मन भए ।
चकोर तन हूँला
रानी, जून भए ।"

[११]
"घरमा क्वै छैनन्‌ ?"
सोध्छिन्‌ म्हेन्दु ती
जून-बादलकी
वरवर विन्दु ती ॥

[१२]
"सारा घर मेरो
सारा देश भाषा ।
तारामण्डल छ
छानो एक खासा ॥"
"हामी सबैमा, यौटै दिलआशा
सबको सुनै सूत
वेटर सब मासा !
एकै जादूमा
बुन्ने ईश्वरले
भन्छन्‌ यै स्वरले-
भाषा सुन्दरमा
एकै मन्दिरमा
सारा जहान छन्‌ !
प्रेम हो जिन्दगी
हेलाँ चिहान छन्‌ ॥"

[१३]
म्हेन्दु भन्दछिन्‌-
बुलबुल वनवाणी ।
"शहर के गर्ला
हाम्रो सरानी ?
भन्छ हामीलाई
थाक्से भटेनी ?
हेलाँ गर्छ रे
गिज्याई भन्छ रे
हाम्रो थाप्लोमा
तातो खरानी ॥"

[१४]
भरखर रोएकी
जूनको झरी झैँ !
मुसमुस हाँस्दछिन्‌
स्वर्ग परी झैँ !

[१५]
"हा हा छुच्चाको
बोली छिचरो"
गुम्बु भन्दछन्‌
-मैलो बिचरो ॥
"सांग्रा दिललाई
पृथ्वी कुरङ्ग छन्‌ !
नीच दिलभित्र
झूटा सुरुङ छन्‌ !

[१६]
छोटा लाल चुच्चे
संस्कार ठुँग्दछन्‌ !
माखा मैला ती
घाउमा पुग्दछन्‌ !

हात्ती लच्किँदा
कुक्कुर भुक्दछन्‌ !
छुच्चा आँखाले
दोष नै ढुक्दछन्‌ !

[१७]
हाम्रो नेपालमा
हेलाँ जाल छैन ।
थोरै छुच्चा छन्‌ !
बाङ्गो चाल छैन ॥
हीरा हीरा छन्‌
थोत्रो माल छैन ॥

[१८]
हामी सबैलाई
प्रेमले अँगाल्छौँ ।
सारा संसारको
प्रीति सँगाल्छौँ !

[१९]
चौडा दिल हाम्रो
पहाड नाघ्दछ ।
सागर पारी गै
संसार ढाक्दछ ॥
प्रेमको ध्वनिले
प्रेमलाई डाक्दछ
ध्रुव ध्रुवलाई
भाइ राख्दछ ॥

[२०]
प्रेमको राजमा
कालले हार्दछ ।
जति चौडा दिल
उति अमृत जून
शान्ति झार्दछ !
"हेला गर्नेले
स्वर्ग बार्दछ !
गङ्गाजल झैँ छन्‌
शिवमन्दिरमा !
पूर्णिमाका दिन
सब दिल सुन्दरमा ॥

[२१]
बूढी आइमाइलाई
आमै भन्दछन्‌ ।
बैंसकी सेर्पेनी
दिदी गन्दछन्‌ ।
सेर्पा दाजुभाइ
आफु भन्दछन्‌ ।

[२२]
सत्य बस्दछ
ओठमा सजिलो ।
फूल झैँ दिल खुल्छन्‌
बासले हँसिलो
नेपाल प्रेमले छ
आँखा रसिलो ॥

[२३]
छुच्चा वार वारमा
नेपाल अड्दैन ।
निन्दा अरूको
दिलमा चढ्दैन !

सांग्रा किताब नै
नेपाल पढ्दैन ।

[२४]
संसार सेवामा
प्रेमको मेवा छ !
नेपाल संसारमा
प्रेमको टेवा छ ।
पहाड जस्ता छन्‌
छाती वीरका ।
वज्र कठोर भै
झर्ना झरेका !
प्रेमका जरामा
पहाड अड्दछन्‌ ।
स्वर्ग देवलोकमा
शिखर चढ्दछन्‌ ।
फूलका भावना
आँसु जड्दछन्‌ ।
चरा हाँगामा
वेद पढ्दछन्‌ !
मानिस भन्दामा
ज्यान दी लड्दछन्‌ !

[२५]
म्हेन्दु आँखामा
नीरव जून झल्क्यो ।
पहाड घाउ झैँ
सेतो पहरा
उनको दिलमा
अमृत मलमले
पूर्णिमाको रात
जस्तो भै टल्क्यो !

[२६]
गुम्बु भन्दछन्‌-
यात्री हूँ हामी
सुन्दर मन्दिरका
दिलका बिरामी !
हिँड्छौं गोसाईंथान
सुन्दर निम्तामा
स्वर्ग भेट्टाउने
मनको चिन्तामा ॥

[२७]
हामी घर खोज्छौं
घरका बाहिर ।
घरका द्यौताको
आज्ञा जाहिर !
पालन गर्नामा
पहाड वननेर !

[२८]
हामी बोल्दछौं
मनमा सुनभाषा
पीर्ति झल्किँदा
वेटर हर मासा ।
सत्य झर्दछ
प्रेममा सुन्दर भै ।
ईश्वर बस्दछ
प्रेमको मन्दिर भै
प्रेमका सच्चा पल
बोल्छन्‌ सद्वाणी

प्रेममा नबोले
भेट्छ सर्वाणी ॥

[२९]
"तिमी जहाँ छौ
उही मेरो घर
मेरो आत्मामा
मेरो सत्‌का स्वर ।
तिम्रो मुखमा
ईश्वर मोहनी
मेरो दरबार छ
तिम्रो मनमनि !
सत्‌को तरवार छ
तिम्रो भौँ मनि ॥

[३०]
प्रेमको सिर्जना
प्रेमको मालामा ।
तारा गाँसिन्छन्‌
सेता ज्वालामा !
हाम्रा नजरमा
सत्य तिर्सना ।
प्रेमका बाटामा
सुन्दर देख्दछे ॥
हेलाँ, निन्दाले,
माया जल बुनी
अज्ञान भरेर
आँखा छेक्दछे

[३१]
तिम्रो मुहारमा
ईश्वर हाँस्छन्‌ ।
मेरो मरु-प्यास
दिलका नास्दछन्‌ ॥

[३२]
झल्का झिल्काको
पाई इशारा ।
संसार वन हिँड्थे
ईश्वर सहारा

[३३]
पृथ्वी फुल्दथिन्‌
बाटा-बाटामा
सुगन्ध किरण
हाली माटामा ॥
फूलका रङ्गमा
तिम्रो सपना !
पाउँदै दिल चल्यो
हेर्न बिपना ॥

[३४]
"काहीँ काहीँका
पहाड फूल त ।
दिलका कुञ्जी झैँ
प्रेमका मूल ती ॥
हुन्छन्‌ फुलेका
सत्‌का शहरमा ।
पाइ त्यो कुञ्जी
तिम्रा मुहारमा ॥

सम्सम खोल्दछु
पहाड दरबारमा ।

[३५]
"सत्य सुन्दरमा
ओर्ली बोलायो ।
जीवन जादूकी
झिलमिल खोला यो ।
यसका किनारमा
क्या फूल मिलायो !

[३६]
"सूर्य परमेश्वर
माया चन्द्रमा ।
प्रेमको अँगालो
दिन्छन्‌ उज्यालो
जीव छ च्याखुरा
सुन्दर आँखामा ।
प्रेमका गहना
फुल्छन्‌ शाखामा ॥

[३७]
"ईश्वर बोलाउन
जल ली आँखामा ।
रङ्ग रूप बने
अक्षर भाखामा ॥
दिनका पत्र छन्‌
कालका शाखामा ।

[३८]
"सिर्जन तत्त्वमा
हाम्रो भेद भयो !
दिलदिल बोलाउँदै
'मिलन' खोज्छ यो ।
ढुक्कुर कुर्लन्छन्‌
दिलले दिल डाकी ॥
प्रेमको हावामा
मिल्ने मन राखी ॥

[३९]
"ईश्वर मोहनी
पत्ती भन्नेले !
आफ्नै ठग्दछ
आफै सुन्नेले ॥

[४०]
"बिजोग संजोग छन्‌
जाँच झैँ रङ्गबिरङ्ग ।
सच्याइपाउँदछ
आफ्नो दिलको रङ्ग

[४१]
"तिम्लाई बोलाउन
हेर म आएँ !
मलाई बोलाउन
तिमी पठाए ॥
हाम्रो मिलनमा
स्वर्ग बनाए ।"

[४२]
सुन्छिन्‌ म्हेन्दु ती
मीठो जूनमा ।
टोल्हाई आँखामा
जादू वनमा ।

[४३]
जून झर्‌ झर्‌ झर्
बास्ना हर्‌ हर्‌ हर्‌ ।
पराग बर्‌ बर्‌ बर्‌
सपनाको वन ।
जलका चाँप छन्‌
छम्‌ छम्‌ छन्‌ छन्‌ छन्‌ ।
झर्ना झर्दछन्‌ ।
झम्‌ झर्‌ झन्‌ झन्‌ झन्‌ ।
जून छ मग्‌ मग्‌ मग्‌ ।
प्रेमको रम्‌ रम्‌ रम्‌ ।
खुल्छ दिल सम्सम्‌
हेलम्बुको वन ।

[४४]
मधुर कल्पना
कानेखुशीमा ।
कथ्छे कहानी
सुन्दर देशमा ।
मूर्ति शिल्पिँदै
प्रेमको भेषमा ॥

[४५]
सुन्छिन्‌ कथा ती
प्रेमका शहरका ।
जादू जस्ता दूर
बगदाद शहरका ॥

[४६]
पृथ्वी कत्री छन्‌
कस्ता शहर छन्‌ ।
जादू कारखाना
क्या क्या रहर छन्‌ ।
आकाश उडाउने
कस्ता विमान छन्‌ ।
तारमा झल्किने
बत्ती लहरमा ।
झिलमिल क्या खुल्छन्‌
पसल शहरमा !
चंकी आँखा हुन्‌
सुन्छिन्‌ रहरमा ।

[४७]
जादू जस्तो भो
जगत्‌ फैलेर ।
ठूला शहरमा
बत्ती बलेर !

[४८]
रानी जुनेली
चाँदी उजेली ।
रोज्छिन्‌ हेलम्बु
सेर्पा झोलङ्‌गु ।
पुगिन्‌ डाँडामा
हाँस्दी जूनरानी ।
दोटा छुट्टिछन्‌
आँखा भो पानी !
चखेवीको भो
पालो उज्यालो ।
जब नजीकै
पर्थ्यो उकालो !