Jump to content

Mhendu

From Nepali Proofreaders
म्हेन्दु





लक्ष्मीप्रसाद देवकोटा
म्हेन्दु
(काव्य)





लक्ष्मीप्रसाद देवकोटा
प्रकाशक : साझा प्रकाशन
संस्करण : पहिलो, २०१५
दोस्रो , २०२५
तेस्रो , २०३०
चौथो, २०६३
पाँचौँ, २०६३
(साझा प्रकाशनबाट चौंथो पटक ५१०० प्रति)
आवरणकला : टेकवीर मुखिया
मूल्य : रु. २०|–
मुद्रक : साझा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर
फोन : ५५२१०२३, फ्याक्स : ५५४४२३६
ISBN: 99933-2-493-0
प्राक्कथन

म ठूलो उस्ताद हुँ, मैले औडव राग मात्र गाउनुपर्छ भन्ने कुनै ठोस नियम छैन । कहिलेकाहीं चुट्किला भजन पनि गाइन्छ, मनको कल्मष बगाइन्छ । कैयौँ ठूलाठूला नदीलाई आत्मसात्‌ गर्दै आएकी गङ्गा पनि बंगोपसागरनिर आइपुगेपछि भँगालो फाटेर सानो सानो रूपमा परिणत हुन्छिन्‌ । हाम्रो शरीरको मोटो पाखुरा पनि जब नाडीनिर आइपुग्छ त्यो मोटाइ हराएर जान्छ र भिन्न भिन्न लमाइका पाँच औँला दृष्टिगोचर हुन्छन्‌ । भनाइको तात्पर्य, महाकविले महाकाव्य मात्र लेख्नुपर्छ भन्ने कुरा होइन । आफ्नो उमङ्ग, कल्पनाको तरङ्गमा जुनसुकै सानोतिनो विषयलाई पनि लिएर साहित्यिक रङ्ग भर्न सकिन्छ ।

शायद यही उद्देश्यको मर्म बुझेर महाकवि श्री लक्ष्मीप्रसाद देवकोटाज्यूले यो 'म्हेन्दु' को सृजना गर्नुभएको होला ।

निकै चड्किलो, मट्किलो, भड्किलो यो पुस्तिका रुचिकर होला भन्ने ठानेर श्री ५ को सरकार, शिक्षा-विभागअन्तर्गत नेपाली-भाषाप्रकाशिनी- समितिले सर्वसाधारणको समक्ष प्रस्तुत गरेको छ ।


२०१५, चैत्र ११ –भीमनिधि तिवारी

नेपाली-भाषाप्रकाशिनी-समिति छ
म्हेन्दुको विषयमा

म्हेन्द यो एउटा तामाङ लयको फूल हो । यसमा दोसाँधे नीलो मोहनी छ, जो गोसाईंथानतिरको कुइरे उकालामा चम्कन्छ । मंगोल तथा आर्य- संस्कृतिको मधु सम्मेलन भएको नेपाल यहाँ एक प्यारको काल्पनिक कहानीमा अमरत्वको सङ्केत दिलाएर वनचरी र झर्नाहरूको स्वरमा बोलेको सुनिएला भन्ने आशा गरिन्छ । मलाई तामाङ सेर्पाहरूको बोली र नाच, तिनको विचित्र शब्दोच्चारणको दोसाँधे मोहनी, तिनको सरलता र सरसताको टूना गहिरोसँग लागेको थियो । मेरो २००३ सालतिरको गोसाईंकुण्डतिरको यात्राको कवितात्मक फल हो । यस सानो गीतिकाव्यमा छोटा साना द्विशब्दांशीदेखिन्‌ लिएर चार पाँच छ सात शाब्दांशी पङ्क्तिसम्म पाइन्छन्‌ । केही छन्द त संस्कृतका विद्युन्माला या त्यस किसिमका अरू छन्दसँग मिल्न जान्छन्‌ । यस किसिमको लय-लहरीमा बगेर एक पटक तादी मादीसँग मिल्न मन लाग्नु स्वाभाविकै हो । भोटे लयमा एक राम्रो भावपूर्ण गीतिकाव्य खडा गरूँ भन्ने मेरो भावना थियो, जस्तो झ्याउरे छन्दमा त्यस प्रकारको काव्य खडा गर्ने प्रयास मुनामदन थियो । तर भावनाको उँचाइबाट कति तल आएर सन्तोष लिनुपर्दछ कि एक पहिलो कदमसम्म त्यस दिशामा लिइयो । यहाँ पहाडी वातावरण, केही नीलो कुइरोले ढाकेको उँचा र सरल तरल संसार झल्केला । जनवाणी र जनलयप्रति कवि लम्किन खोज्नु नै एक स्वस्थ प्रकृति जस्तो लाग्दछ । हामी हाम्रा महाकाव्य र उच्च कविताका हस्तिहाडे बुर्जामा दुनियाँबाट कति टाढा र विदेशी छौँ । नेपाली काव्यसाहित्यलाई जनतातिर लैजाने र जनताको मुटुको सपनाको अन्वेषण तथा उद्घाटनको रूप बनाउने प्रवृत्ति हुनुपर्दछ भन्ने एक अमुखरित सिद्धान्त केही मात्रामा यस गीतिकाव्यले प्रकट गर्दछ । थोरै मीठा शब्दमा सौन्दर्यका रसिला झल्याकझुलुक, जस्तो तादीका बहुल तरङ्गमा घामको यतिभन्दा त यहाँ केही पाइयोइन तर यो उच्च कवि र कलाकारहरूलाई नयाँ दिशातिर लैजान खोज्ने, बिउँझाउने घचघच मात्र हो । यो गीतिकाव्य अंग्रेजीमा बेलाड्को ढङ्ग लिन खोज्दछ र प्रेमको उच्चता, विशालता र अमरत्व यसको आत्मा हो । यो पनि वियोगात्मक छ तर वियोगलाई नै संयोगको रूप दिएर मृत्युको काँढाको तीखो टुप्पा मार्दछ र जीवनपछिको अनन्त जीवन तथा शान्तिको तत्त्वको सङ्केत गर्दछ । युद्धभन्दा बलिदान ठूलो छ– त्यो आफ्नै । आत्मसमर्पण नै सर्वोच्च मार्ग हो र जीवनको महान्‌ विजय हो र प्रेमपथ नै सर्वोत्तम पथ हो भन्ने झल्केला । तर सिद्धान्तले कविता बन्दैन, कविताबाट बगेर आएको वस्तु कति प्रभावकारितासँग मुटुभित्र पस्तछ सो रसिक र पारखीको चेतबाट मात्र थाहा पाइन्छ । मलाई यो ढङ्गरङ्गमा बडो आनन्द लाग्यो लेखिदिएँ । सिपी फाल्यो लहरले । मोती छ कि छैन वा कति छन्‌ यो विशेषज्ञले हेर्ला । बजारमा पुर्‍याएर मोलहरूमा झगडा गर्ने काम हामी समालोचक या व्यापारीहरूलाई छोडिदिऊँ । यौ एक दिनको लहडी लहरको सिपीको फेंक हो ।

चैत्र ३१ गते २०१५ लक्ष्मीप्रसाद देवकोटा

कविकुञ्ज, मैतीदेवी, कान्तिपुरी
म्हेन्दु
प्रथम

[१]
उषा परी
हिमाल झरी ।

[२]
आँखा चङ्खी
सुनको पङ्खी ॥

[३]
फर फर गर्दै
हावा हम्की ।
गिरिशिर टेकी
झिलमिल गम्की ॥

[४]
हाँस्छे उषा
लाली छर्की ।
कुसुम छ सुन्दर
मोती लुर्की ॥

[५]
धप्के चूली
सुन झैँ फुली ।
झलझल झल्का
नाला टल्की ॥
सुन सुन झिल्की
क्या, नगवेली

[६]
सुरपुर मुस्की
बास्ना फुस्की ।
मगमग हावा
चल्दछ लस्की ॥

[७]
आधा ब्यूँझी
थूँगा झस्की ।
सरसिज फुस्की
मुसमुस मुस्की ॥

[८]
सपना मेरो
सुनको फेरो ।
घुम्दै ब्यूँझ्यो
नभ वन घेरो ॥

[९]
रुनुझुनु छन्छन्‌
अणु अणु बन्छन्‌ ।

आशा पखेरु
नव स्वर लिन्छन्‌ ॥

[१०]
यी हुन्‌ 'म्हेन्दु'
गिरिकी शोभा ।
सुरपुरबाटै
झर्छिन्‌ हो वा ?

[११]
सुषमा रानी
स्वर्ग बयानी ।
सुनकेस्री यी
फूलकी खानी ॥

[१२]
तुहिन वदनमा
जीवन लाली ।
फुल्दो तनमा
बास्ना हाली ॥

[१३]
गिरिशिर बाली
खगस्वर ताली-
सँग यी झुल्छन्‌
डाली डाली ॥

[१४]
हँसमुख राम्री
जिउ सब फूलफूल ।
तिनले पर्ने
लिनु गह लव जल ॥

[१५]
तर पर पर छन्‌
युग युग सब पल ।
किन यति निठुरी
मुख त्यति कोमल !

[१६]
नरमपनामा
मोती टलपल ।
निठुरपनामा
कण्टक विह्वल ॥

[१७]
हृदय छ मेरो
निशिदिन खलबल ।
परमुख बन्दा
शिखर समुज्ज्वल ॥

[१८]
जब ती ऊषा
जस्ती झलमल
बोल्छिन्‌ नाला
स्वरमा कल्कल ॥

[१९]
पत्थर सुन्दर
बोल्छन्‌ "जलजल !"
हाँसो चोरी
ऊषा झलमल ॥

[२०]
हेरी चाला
मीठा चञ्चल ।

फूलमा दाना
सिक्छन्‌ ढलमल

[२१]
उनको हाँसो
देखी फुल्छन्‌ ।
राम्रा रँगका
फूलहरू पलपल ॥

[२२]
छन्‌ फुलबूना
बनकी टूना ।
मृगिनीका झैँ
गहका कूना ॥

[२३]
ह्वैनन्‌ म्हेन्दु
निष्ठुर हाइ !
रोक्छन्‌ आमा
दाज्यू भाइ ।

[२४]
मैले देखें
सपना यौटा ।
उड्थिन्‌, लग्थे
सुरपर द्यौता ॥
ओढ्थिन्‌ उनले
सुनसुत बादल ।
बज्थे करमा
सब मृदु स्वरमा
रुनु झनु साना ।
दिल-रव नाना ।
म थिएँ तलतिर
उनतिर हेर्ने-
टप्प खसालिन्‌
आँसु दाना ॥

[२५]
ब्यूँझी देख्छु
झर्दी ऊषा
तस्विर सुन्दर
सुनकी भूषा ॥

[२६]
प्रणय प्रतिज्ञा-
माथि तुषारो ।
पर्दछ, बोल्नै
अब कति गाह्रो
कुसुम- तनीको
झन्‌ दिल साह्रो ॥

[२७]
रोयौ किन रे ?
हाँगा, भन रे ?
हामी खोज्छौँ
ऊषा छुन रे !
सपना जस्ती
घरकी सुन रे !
टकले फुल्छौँ
रोई मन रे !

[२८]
तर उनलाई
हाय ! न हाई !
आफ्नै छविकी
स्वर्गरजाइँ ॥

द्वितीय

[१]
आमा ती 'मिन्दी' ले
भन्दछिन्‌ एकलासमा-
"म्हेन्दु' सुन्‌ विन्ति ले !"

[२]
तामाङ्‌की तरुणी,
आँखाकी हरिणी,
बैंसको गुलाफमा
छोरीलाई बिगार्न
शहरको गुण्डाले,
कपालको मुण्डाले,
ल्याउँछ है सिँगार्न !

[३]
किलिपको पुतली
फूल जडी नक्कली ।
सुन बत्तु झल्मली
चार पैसे अत्तर ली ।
मीमजुत्ता कुर्कुच्चे
फुली त्यो नकबुच्चे ।
पोते त्यो फूलगुच्छे
मन चोर्छ उत्तर ली ॥

[४]
छिँडीमा सुकुल छ
फुटेको मकल छ !
बाँदरको सकल छ ।
झ्याङप्वाले छत्तर छ !
टमकिन्छ
टिम टिम भै,
चोर आँखा
झिम झिम भै
रेशमको रुमालमा
गह्नाउने अत्तर छ ॥

[५]
चोली झैँ कोट लाई
हाँक्दो छ भोटलाई
फूलको बोटलाई
ताक्दछ तामाको
कल्लर छ घाँटीमा ।
झिल्‌ झिल्‌ टाँक झल्कने
फेर लाउँछ कम्मरमा
फकाउने रहरमा ।
गुण्डा त्यो शहरमा
केशझुप्पे क्या स्वाङ्‌को ?

[६]
"हाम्रो यो हेलम्बो
सेर्पाको झोलुङ्गो
झर्नाले झन्कन्छ,
बादलले घन्कन्छ,
पन्नाले झल्कन्छ
स्वर्ग झैँ क्या राम्रो !

जन्मको मुटु थल
नछोड्‌ है यो हाम्रो !

[७]
परीको शहर झैँ
बादल झैँ उँचा छ !
ताज लाउने हिमाली
दक्षिणी पहरालाई
पन्नाले लर्केको
तादीमा भुजा छ !

[८]
झुलनबाग झरेको
झर्नाले झर्झर छ !
नागिनी तादीले
पीर्तिले बेरेको
हिमालले हेरेको
क्या राम्रो शहर छ !

[९]
नीर थुम्का हाँसेर
हेर है हेरेको
पहिलो किरणले
मीठो म्वाइँ गरेको
एक झुम्का बादल छ
उत्तरमा झरेको ।
इन्द्रेनी रँग ज्यूँदै
भुवामा परेको

[१०]
चरीको खलबलमा
गानाले सुर लिन्छ
पस्मिना छातीले
ढुक्कुरले कुर्लिन्छ !
तादीको इन्द्रेणी
पहाडमा उर्लिन्छ ।

[११]
गुण्डा हो त्यो तेरो
विन्ति ले यो मेरो,
एकछिनको भँवरो
भुनभुने नखरो !

[१२]
गोसाईथान बाटाको
छोरी-ठग लाटाको !
शहर पो के हुन्छ ?
यस्तै घर माटाको !

[१३]
नोबल्‌ है विन्ति ले
आमाको गिन्ती ले ।
के खन्छेस्‌ खाल्डो है
दशाको खन्तीले ।

[१४]
म्हेन्दु हेर्‌ हेलम्बो
सेर्पाको झोलुङ्गो ।
चाँदीको दरबार झैँ
सुन गजूर घरबार झैँ ।

[१५]
गोरो मुख सेर्पा छ !
काम गर्ने खुर्पा छ !
सुनबाला घैयाँ छ ।
यसै नै मैयाँ छ ।

[१६]
दूध फल्छ मकैमा
जूँगालाई ओठैमा ।
गाना झैँ सरबर छ
घाँस हाम्रो डोकैमा ।
सुनमा चाँदी फूल
मकैको बुट्टा छ ।
भेडाको ऊनमा
न्यानो नींद लट्ठ छ !

[१७]
बुलबुले बटुको
ओठमा ढल्किन्छ !
पहाडको रक्सीमा
रम रम मन पल्किन्छ !
हिमालको तल चुली
आँखामा झल्कन्छ !

[१८]
फूल नाच्छे बारीमा
हावाको झोक्कैमा !
सुनगाभा जिउ तेरो
स्वर्ग छ ढोकैमा ।
अमृत छ भोकैमा !

[१९]
हाम्रो त्याँ जाल छैन
झिल्मिली माल छैन
बाङ्गोको चाल छैन !

[२०]
पहाडको हिउँगोरी
लालगाले हे छोरी !
म्हेन्दु ! सुन्‌ तँ नजा
गुण्डाको घरमा !
असर्फी नभजा !"

[२१]
सुन्दछिन्‌ म्हेन्दुले
बादलको इन्दुले
कुरङ्गी लमकोसे
प्रेम झैँ गोल विन्दुले
X X X

[२२]
सिरुपाते खुकुरी
तेर्सोमा भिरेको
मखमलको इस्टकोट
लहर टाँक जडेको !
ऊनको कम्बरमा
पटुका बेरेको
दौराको लामो फेर
घुँडामा झरेको !
गलबन्दी भेडाको
फेटा झैँ गुतेको ।
आँखाको कन्चट हाड
गालामा उठेको

जूँघाका भूवाले
चालीसमा भेटेको
नाक थेप्चो डाँडोमा
आधै भेटेको
आयो है वीर तेजी
बाबु त्यो 'गम्बोजी'
'के हँ के भो' भन्दै
फूर्तिले भोटेको ।

[२३]
"किन यो रुन्छे है
के कुरा भन्छे है ?
डालभरी आँसु ला
बादल झैँ बन्छे है ।"

[२४]
आमाले भन्दछिन्‌
उनको मुख हेरेर
आधि डर आधि दुःख
आँखामा भरेर-

[२५]
"शहरको 'गुम्बुले'
यसको मन बिगार्यो ।
मोतीको दानाले
दोटा डील सिँगार्यो !"

[२६]
"हुन्न त्यो सिँगाने
गल्लीको रैथाने
कपालमा मुडेको"
हाइ हाइ ! क्या दिल दाना !
हीरा झैँ बूँद साना !
परेला-डीललाई
निचोरी झर्दछन्‌ ॥
कमलमा एक लहर
गोलविन्दु बरबर छन्‌
क्वै फुटी बीचैमा
पानी झैँ पग्लन्छन्‌ !
क्वै दाना तर्केर
थोरै बेर लर्कन्छन्‌ !

[२७]
मुटुको गाँठोले
आँखालाई निचोरी
नराम्रो मानेर
रुन्छिन्‌ ती बिचरी !

[२८]
गम्बोजी भौं गाँठो
पार्दै ऊ भन्दछ-
'किन यो कर्कलो
रोए झैँ बन्दछ ?'

[२९]
'गुम्बु' त्यो भन्छ- ए
मर्छ रे नपाए
तादीमा हाम्फाली !
बिजोग एक निकाली !

[३०]
रीसले मैले ता
झल्झल धार झल्काएँ ।
ला थाप्‌ शिर भनेर

गर्धनमा टल्काएँ
थर्थर्‌ पो काँप्यो बा
नामर्दी ठानेँ बा !

[३१]
हुन्न जा सिँगाने
त्यो गुण्डो रैथाने
तँ बोले काटौँला
तादीमा गाडौँला
तेसै के छाडौँला !

[३२]
किन यो रुन्छे है
के कुरा गुन्छे है !

[३३]
आँखालाइ पुछेर
तर ती वर्लिइन्‌ ।
तादीमा हाम्फालूँ
भने झैँ सुर लिइन्‌ ॥
सम्हाली मन फेरि
आशाको भर लिइन्‌
एकलासमा घोरिई ।
पर्खने सुर लिइन्‌ ॥

[३४]
मन भन्थ्यो बोल्न जा
सम्सम त्यो खोल्न जा
प्रेम टुना संसारमा
जीवन-धन मोल्न जा ॥

[३५]
सुनचरी साँझमा
नेपाल वन माझमा
पखेटा फिँजारी
शिखरका राजमा
नसुन्ने भाषामा
कुर्लन्थी आशामा
बोल्नको टूना भै
जीवनको पाशामा ॥
फुलपत्ती जिभ्रो ली
बादलका राशमा ॥

[३६]
"चरी हूँ"- मन लाग्यो
'म्हेन्दु' लाइ अकासी
प्रेमको शिखरमा
पखेटा विकासी

[३७]
कल्‌ कल्‌ कल्‌ केलीमा
जल जल जल तादी छन्‌
आँसुमा झल्‌ झल्‌ झल्‌
प्रीतिका शांदी छन्‌ !

[३८]
म्हेन्दु वन रुनझुनमा
बादल जल सुन सुनमा ।
दुइ नजर कनकनभा
रुन्छिन्‌ ती मनमनमा ।

तृतीय
(प्रकृतिमा म्हेन्दु)

[१]
यात्री बनेँ गोसाईंथान
सारा सुनेँ निर्झर गान ।
सात झर्नाको वीणा रुनझुन
चाँदी रङ्गमा झर्दा जुनजुन ॥

[२]
यस्तो मीठो गाना मैले
दिनमा पहिले सुनिनँ कहिले !
सारा झरझर गह्वर गुञ्जन
कुँज्छन्‌ कूजन पन्छी रुन्छन्‌ !
नाला-बाला बेल्छन्‌ गुनगुन
झल्की झर्छन्‌ जूनका कनकन
बोल्दा संसार लिन्छन्‌ स्पन्दन
झर्छन्‌ सारा सुरका नन्दन
मधुर देशका अधखुल झनझन ।
सकल मिलीकन स्वरमा रुन्छन्‌
भर्दै दिलमा अविदित रुन्झुन

[३]
"पर पर बन्ने भाग्य छ मेरो
हेर्दछु जलले गिरि, वन घेरो !
अरूले रोक्छन्‌ दिल यो मेरो"
भन्दै मानो रुन्छिन्‌ 'हेन्दु'
रुन्छिन्‌, रुन्छिन्‌
सब स्वर हुन्छिन्‌
जङ्गल भरभर
पर्वत भरभर
जलस्वर, स्वर जल
झार्छिन्‌ धुन्छिन्‌ ।
सारा प्यारा दिल दिल दिल !

[४]
बरबर हुन्छिन्‌ बरबर हुन्छिन्‌
मानो वर्षा बादल बन्छिन्‌ ।
स्मृतिमा बिजुली झिलझिल झिल
मानो भन्छिन्‌ गुम्बु गुम्बु !
सागर मेरो दिलको अंबु !
ढाकी सारा पर्वत पाखा
झर्दछ बन्दै जल जल जल
यो हो मेरो संकेत भाषा

[५]
यो हो मेरो आँसु आशा
ध्वनिले बुझ्ने मासा मासा
झल्कोस्‌ दिलमा झल झल झल !
भेट्ने आशा पाई निराशा
रोइरहेकी पल पल पल !

[६]
के भन्छिन्‌ ती छैन नि थाहा ।
भन्दछ "गुञ्जु" दिलको राहा
पन्छी बोली बोल्न खोज्छे
झाङ्झुप्पामा चुलबुल चाहा !

[७]
झल्कन्छन्‌ के के मनमा झल्का
स्वर्ग र पृथ्वी झिल्का मिल्का ।

लहरी चल्छन्‌ हिमाल झिल्का
ब्यूँझी रुन्छन्‌ निद्रा दिलका
पङ्ख अनेकन्‌ गुज्छन्‌ पलका !

[८]
को होला त्यो गाना रच्ने ?
अविदित भाषा गुँज्ने कुँज्ने ?
झरझर झमझम गाना रुज्ने

[९]
"एङ्गे बेङ्गे सोङ्गो लाङ्गा"
के के भन्छिन्‌ स्वरकी गङ्गा ।
नाच्छन्‌ तटमा लाखौँ रंभा
फट्टिकहरूका झल्की खम्बा ।

[१०]
अविदित भाषा चरी झैँ बोली
गिरि गह्वरका कुञ्जी खोली
अधखुल माने प्रतिध्वनिसाथ
घुम्छन्‌ रम्छन्‌, गर्छन्‌ माथ ।

[११]
गायक पङ्खी टोन विदेशी
साङ्ग्रा सीमा मनका खोसी
बाँध टुटाई साँध टुटाई
दिन्छन्‌ सारा दिलदिल गाँसी
विदेशी टुनामा देश विकासी
मानवताको मुटु सब गाँसी ॥

[१२]
आँसु जस्ता अधखुल माने
स्वर छन्‌ मीठा स्वर लैजाने,
अधखिल कुड्मल अधखुल माने
जसका मुटुमुटु जलले लाने,
जति पर लग्छन्‌ उति वर पारी
मावनताको हृदय उघारी
लग्छन्‌ मन यो भारी भारी
सुन्दरताका देश सिँगारी ।
नबुझिनु बुझ्नु अविदित ज्ञान
भाषाभन्दा मधुर छ गान ।
आँखाभन्दा मसिनो कान
सुन्दा यिनका म्हेन्दु गुनगुन
फूलहरूले बोले झुनझुन ।
यौटै भाषा यौटै तार
बन्छन्‌ तारा सृष्टि सितारा ।
सीमित हुन्छन्‌ अर्थ र माने
सुन्दर आफैं बोल्दैछ स्वरमा ।
नालाहरूले नाघी मानव
भाषा बोल्छन्‌ अविदित सुरमा ।
हामीभन्दा रम्य पँखेरु
बोल्छन्‌ दिलमा बिझ्ने भाषा ।
हाम्रा भाषा बोल्दैनन्‌ ती
हाम्रा दिलका आँसु आशा ॥
सब भाषाका मुटुका स्वर छन्‌
यिनका गाना बरबर झर्छन्‌ ।
नाघी जाति देश र सीमा
कसरी बुझिन्छन्‌ मुटुमा दिलका
माने जाने मतलब ताने
वैलिन्छन्‌ ती पत्ती फूलका !

[१३]
आफ्नोभन्दा तामाङ्‌ बोली
बैंस मधुरका लाली खोली !
अधर गुलाबी बोली बोली
भन्दछ यौटै मानव मानव
एकै सूतको कञ्चन चोली ।

[१४]
सुन्दा 'म्हेन्दु' गाना इन्दु
छुन्छिन्‌ इन्दीवरका विन्दु
झर्छन्‌ तारा पृथ्वी जलमा
बन्छन्‌ द्यौता मानव बन्धु !
गाँसी नाला सारालाई
लिन्छन्‌ छातीमाथि सिन्धु ।
परमेश्वरले आफ्नो मूर्ति
छाया झार्छन्‌ मानव दिलमा
गाँसिन्छन्‌ सब देश र रीति
माला बन्दै रङ्गी फूलमा ॥

[१५]
भाषा घुम्छन्‌, जाति मिल्छन्‌
यौटै रूखमा हाँगा फुल्छन्‌ !
देव र देवी पन्छी डुल्छन्‌ !
एकै ज्योति फूलमा फुल्छिन्‌ ॥

[१६]
जानें मैले प्रेमले खोले
सिर्जन कुञ्जी परमेश्वरले
एकै दिलले हाँसी बोले
त्यसमा रँगरँग भिन्दै घोले
धेर दिशामा लहरी डोले
शवल बनेका पन्छी बोले ।

[१७]
हेलम्बुमा कान्तिपुरी छन्‌
कान्तिपुरीमा भोट भरी छन्‌
फूल अनेकन बोटभरी छन्‌
कमलहरूमा दिव्य गुलाफ ।

एक छ फुल्दो, फल्दो, बल्दो,
एक अनेकन लहरी चल्दो
आखिर सारा रँगहरू मिल्छन्‌
आखिर सब स्वर मुटुमा मिल्छन्‌
प्रेम प्रेरणा सुन्दर राहा
ब्रह्म अनेक छ एक मिलाप ॥

[१८]
सुनयुग हाम्रा नभमा फुल्छन्‌
मनका सपना बादल झुल्छन्‌ ।
उदयहरूले नवी उछल्छन्‌
तारा बिरादर नभमा फुल्छन्‌ ।
प्रेरण हावा ऋतुमा डुल्छन्‌
कविहरू तादीसँगमा झुल्छन्‌ !
मानिस हो संसार !
उदय नयाँमा नवध्वनि खुल्छन्‌
बादल बन्दै ज्योति माथि
चढ्दछ पारावार !
फटिक फुटेको लयमा चल्छन्‌
एक अनेकौँ पार !
विश्वकी देवी सुन्दर छाया
गाना भर्दै दायाँ बायाँ
आँसुहरूले फूल सिँगारी
आऊ आऊ सपना प्यारी
गिरिवनहरूका अमृत भारी ॥

चतुर्थ

[१]
रानी जुनेली
चाँदी उजेली,
राज्छिन्‌ हेलम्बु
सेर्पा झोलुङ्गो !

[२]
ढुङ्गा फुल्ला फुल्लामा
पानी बोल्ला बोल्लामा
थुँगा हिल्ला हिल्लामा
टह टह जून ।

[३]
भन्छिन्‌ हिन्दु कुरंगी
उसका आँखा कोस लामा
जलभर जलभर
टलपल छन्‌
वसन्तको वन ।

[४]
बाबा गम्बोजी
आगो फिलिङ्गो ।
नछोड्‌ भन्दछ
सेर्पा झोलुङ्गो ॥

[५]
आँखा टलपल ती
पार्छिन्‌ अंबुजा !
गुम्बु भन्दछन्‌ दुखी दिलधुजा
"हाम्लाइ रोक्नमा
उनलाई के मजा ?"
आँखा आँखामा
जूझी रसायो ।
पीर्ति पीर्तिमा
बोल्ने जल आयो ॥

[६]
आँखा पुछी ती
मीठी वनचरी
आँखा चिम्लिन्छिन्‌
आँखा मन भरी ।

[७]
"छोड म्हेन्दु जून रानी मलाई !
गेरु रँगाउँला
केको दुख हाई ।
म्हेन्दु छीटो अँगालो, हाल्छिन्‌ !
बल्लरी रोई फूलफूलमा
दाना बर्बरी !

[८]
"नजाऊ" भन्दछन्‌
फेरि त्यो घरमा !
हामी मरौंला
झुण्डी यो बरमा ॥"

[९]
आँसु रुमालले
पुछी बर्बरी ।
गुम्बु भन्दछन्‌ ।
प्रेमका निर्झरी ॥

[१०]
"यहीँ बसौंला
तिम्रो मन भए ।
चकोर तन हूँला
रानी, जून भए ।"

[११]
"घरमा क्वै छैनन्‌ ?"
सोध्छिन्‌ म्हेन्दु ती
जून-बादलकी
वरवर विन्दु ती ॥

[१२]
"सारा घर मेरो
सारा देश भाषा ।
तारामण्डल छ
छानो एक खासा ॥"
"हामी सबैमा, यौटै दिलआशा
सबको सुनै सूत
वेटर सब मासा !
एकै जादूमा
बुन्ने ईश्वरले
भन्छन्‌ यै स्वरले-
भाषा सुन्दरमा
एकै मन्दिरमा
सारा जहान छन्‌ !
प्रेम हो जिन्दगी
हेलाँ चिहान छन्‌ ॥"

[१३]
म्हेन्दु भन्दछिन्‌-
बुलबुल वनवाणी ।
"शहर के गर्ला
हाम्रो सरानी ?
भन्छ हामीलाई
थाक्से भटेनी ?
हेलाँ गर्छ रे
गिज्याई भन्छ रे
हाम्रो थाप्लोमा
तातो खरानी ॥"

[१४]
भरखर रोएकी
जूनको झरी झैँ !
मुसमुस हाँस्दछिन्‌
स्वर्ग परी झैँ !

[१५]
"हा हा छुच्चाको
बोली छिचरो"
गुम्बु भन्दछन्‌
-मैलो बिचरो ॥
"सांग्रा दिललाई
पृथ्वी कुरङ्ग छन्‌ !
नीच दिलभित्र
झूटा सुरुङ छन्‌ !

[१६]
छोटा लाल चुच्चे
संस्कार ठुँग्दछन्‌ !
माखा मैला ती
घाउमा पुग्दछन्‌ !

हात्ती लच्किँदा
कुक्कुर भुक्दछन्‌ !
छुच्चा आँखाले
दोष नै ढुक्दछन्‌ !

[१७]
हाम्रो नेपालमा
हेलाँ जाल छैन ।
थोरै छुच्चा छन्‌ !
बाङ्गो चाल छैन ॥
हीरा हीरा छन्‌
थोत्रो माल छैन ॥

[१८]
हामी सबैलाई
प्रेमले अँगाल्छौँ ।
सारा संसारको
प्रीति सँगाल्छौँ !

[१९]
चौडा दिल हाम्रो
पहाड नाघ्दछ ।
सागर पारी गै
संसार ढाक्दछ ॥
प्रेमको ध्वनिले
प्रेमलाई डाक्दछ
ध्रुव ध्रुवलाई
भाइ राख्दछ ॥

[२०]
प्रेमको राजमा
कालले हार्दछ ।
जति चौडा दिल
उति अमृत जून
शान्ति झार्दछ !
"हेला गर्नेले
स्वर्ग बार्दछ !
गङ्गाजल झैँ छन्‌
शिवमन्दिरमा !
पूर्णिमाका दिन
सब दिल सुन्दरमा ॥

[२१]
बूढी आइमाइलाई
आमै भन्दछन्‌ ।
बैंसकी सेर्पेनी
दिदी गन्दछन्‌ ।
सेर्पा दाजुभाइ
आफु भन्दछन्‌ ।

[२२]
सत्य बस्दछ
ओठमा सजिलो ।
फूल झैँ दिल खुल्छन्‌
बासले हँसिलो
नेपाल प्रेमले छ
आँखा रसिलो ॥

[२३]
छुच्चा वार वारमा
नेपाल अड्दैन ।
निन्दा अरूको
दिलमा चढ्दैन !

सांग्रा किताब नै
नेपाल पढ्दैन ।

[२४]
संसार सेवामा
प्रेमको मेवा छ !
नेपाल संसारमा
प्रेमको टेवा छ ।
पहाड जस्ता छन्‌
छाती वीरका ।
वज्र कठोर भै
झर्ना झरेका !
प्रेमका जरामा
पहाड अड्दछन्‌ ।
स्वर्ग देवलोकमा
शिखर चढ्दछन्‌ ।
फूलका भावना
आँसु जड्दछन्‌ ।
चरा हाँगामा
वेद पढ्दछन्‌ !
मानिस भन्दामा
ज्यान दी लड्दछन्‌ !

[२५]
म्हेन्दु आँखामा
नीरव जून झल्क्यो ।
पहाड घाउ झैँ
सेतो पहरा
उनको दिलमा
अमृत मलमले
पूर्णिमाको रात
जस्तो भै टल्क्यो !

[२६]
गुम्बु भन्दछन्‌-
यात्री हूँ हामी
सुन्दर मन्दिरका
दिलका बिरामी !
हिँड्छौं गोसाईंथान
सुन्दर निम्तामा
स्वर्ग भेट्टाउने
मनको चिन्तामा ॥

[२७]
हामी घर खोज्छौं
घरका बाहिर ।
घरका द्यौताको
आज्ञा जाहिर !
पालन गर्नामा
पहाड वननेर !

[२८]
हामी बोल्दछौं
मनमा सुनभाषा
पीर्ति झल्किँदा
वेटर हर मासा ।
सत्य झर्दछ
प्रेममा सुन्दर भै ।
ईश्वर बस्दछ
प्रेमको मन्दिर भै
प्रेमका सच्चा पल
बोल्छन्‌ सद्वाणी

प्रेममा नबोले
भेट्छ सर्वाणी ॥

[२९]
"तिमी जहाँ छौ
उही मेरो घर
मेरो आत्मामा
मेरो सत्‌का स्वर ।
तिम्रो मुखमा
ईश्वर मोहनी
मेरो दरबार छ
तिम्रो मनमनि !
सत्‌को तरवार छ
तिम्रो भौँ मनि ॥

[३०]
प्रेमको सिर्जना
प्रेमको मालामा ।
तारा गाँसिन्छन्‌
सेता ज्वालामा !
हाम्रा नजरमा
सत्य तिर्सना ।
प्रेमका बाटामा
सुन्दर देख्दछे ॥
हेलाँ, निन्दाले,
माया जल बुनी
अज्ञान भरेर
आँखा छेक्दछे

[३१]
तिम्रो मुहारमा
ईश्वर हाँस्छन्‌ ।
मेरो मरु-प्यास
दिलका नास्दछन्‌ ॥

[३२]
झल्का झिल्काको
पाई इशारा ।
संसार वन हिँड्थे
ईश्वर सहारा

[३३]
पृथ्वी फुल्दथिन्‌
बाटा-बाटामा
सुगन्ध किरण
हाली माटामा ॥
फूलका रङ्गमा
तिम्रो सपना !
पाउँदै दिल चल्यो
हेर्न बिपना ॥

[३४]
"काहीँ काहीँका
पहाड फूल त ।
दिलका कुञ्जी झैँ
प्रेमका मूल ती ॥
हुन्छन्‌ फुलेका
सत्‌का शहरमा ।
पाइ त्यो कुञ्जी
तिम्रा मुहारमा ॥

सम्सम खोल्दछु
पहाड दरबारमा ।

[३५]
"सत्य सुन्दरमा
ओर्ली बोलायो ।
जीवन जादूकी
झिलमिल खोला यो ।
यसका किनारमा
क्या फूल मिलायो !

[३६]
"सूर्य परमेश्वर
माया चन्द्रमा ।
प्रेमको अँगालो
दिन्छन्‌ उज्यालो
जीव छ च्याखुरा
सुन्दर आँखामा ।
प्रेमका गहना
फुल्छन्‌ शाखामा ॥

[३७]
"ईश्वर बोलाउन
जल ली आँखामा ।
रङ्ग रूप बने
अक्षर भाखामा ॥
दिनका पत्र छन्‌
कालका शाखामा ।

[३८]
"सिर्जन तत्त्वमा
हाम्रो भेद भयो !
दिलदिल बोलाउँदै
'मिलन' खोज्छ यो ।
ढुक्कुर कुर्लन्छन्‌
दिलले दिल डाकी ॥
प्रेमको हावामा
मिल्ने मन राखी ॥

[३९]
"ईश्वर मोहनी
पत्ती भन्नेले !
आफ्नै ठग्दछ
आफै सुन्नेले ॥

[४०]
"बिजोग संजोग छन्‌
जाँच झैँ रङ्गबिरङ्ग ।
सच्याइपाउँदछ
आफ्नो दिलको रङ्ग

[४१]
"तिम्लाई बोलाउन
हेर म आएँ !
मलाई बोलाउन
तिमी पठाए ॥
हाम्रो मिलनमा
स्वर्ग बनाए ।"

[४२]
सुन्छिन्‌ म्हेन्दु ती
मीठो जूनमा ।
टोल्हाई आँखामा
जादू वनमा ।

[४३]
जून झर्‌ झर्‌ झर्
बास्ना हर्‌ हर्‌ हर्‌ ।
पराग बर्‌ बर्‌ बर्‌
सपनाको वन ।
जलका चाँप छन्‌
छम्‌ छम्‌ छन्‌ छन्‌ छन्‌ ।
झर्ना झर्दछन्‌ ।
झम्‌ झर्‌ झन्‌ झन्‌ झन्‌ ।
जून छ मग्‌ मग्‌ मग्‌ ।
प्रेमको रम्‌ रम्‌ रम्‌ ।
खुल्छ दिल सम्सम्‌
हेलम्बुको वन ।

[४४]
मधुर कल्पना
कानेखुशीमा ।
कथ्छे कहानी
सुन्दर देशमा ।
मूर्ति शिल्पिँदै
प्रेमको भेषमा ॥

[४५]
सुन्छिन्‌ कथा ती
प्रेमका शहरका ।
जादू जस्ता दूर
बगदाद शहरका ॥

[४६]
पृथ्वी कत्री छन्‌
कस्ता शहर छन्‌ ।
जादू कारखाना
क्या क्या रहर छन्‌ ।
आकाश उडाउने
कस्ता विमान छन्‌ ।
तारमा झल्किने
बत्ती लहरमा ।
झिलमिल क्या खुल्छन्‌
पसल शहरमा !
चंकी आँखा हुन्‌
सुन्छिन्‌ रहरमा ।

[४७]
जादू जस्तो भो
जगत्‌ फैलेर ।
ठूला शहरमा
बत्ती बलेर !

[४८]
रानी जुनेली
चाँदी उजेली ।
रोज्छिन्‌ हेलम्बु
सेर्पा झोलङ्‌गु ।
पुगिन्‌ डाँडामा
हाँस्दी जूनरानी ।
दोटा छुट्टिछन्‌
आँखा भो पानी !
चखेवीको भो
पालो उज्यालो ।
जब नजीकै
पर्थ्यो उकालो !

पञ्चम

[१]
सेर्पा राङ्जा राम्रो
अग्लो गोरो हाम्रो
लडाइँमा चाम्रो !

[२]
मिर्मिर जूँघाओठे !
बाघलाई मार्ने खुकुरी
हान्छ एकै चोटे !
हँसमुख तामाङ भोटे ॥

[३]
बीँडमा खोपी खुकुरी
सिरुमापाते खुकुरी !
तेर्सो भिर्छ, पारेर
दुश्मन शिरको टुकुरा ।
त्यो ता कैल्यै हटेन
लडाइँमा पटक्कै
वीरको छाती फर्कायो
उसको अगि लड्ने को ?
इन्द्रै पनि थर्कायो ।

[४]
कपाल माथि फर्कायो ।
तामाङ टोपो कर्कायो
आँखा ठूला तर्कायो
दुश्मन सारा थर्कायो !

[५]
गालामा यौटा चोट छ !
लड्दा लब्सी बोटले
दिएको चिनो खोट छ ।

[६]
रक्सी खान्छ अघोरको
लाग्ने हुन्छ घनघोरको
खुकुरी ली नाच्छ
मुटु थर्काइ कमजोरको ॥

[७]
देख्यो त्यल्ले म्हेन्दुलाई
च्याखुरा झैँ इन्दुलाई ।
राजहाँसले सिन्धुलाई ।

[८]
छाती खोली कबोल्छ
"मेरी म्हेन्दु को बोल्छ ।
खुकुरीको धारले
त्यसको गर्धन म मोल्छ ॥

[९]
गुंजेलामा गएर
राङ्जालाई भन्दियो ।
गुम्बु माग्छ-म्हेन्दु यो
लान खोज्छ भन्दियो ॥

[१०]
तादी नदी तीरमा
फूलको हाँगा शिरमा
कहालीको भीरमा
गुम्बु म्हेन्दुसँगमा छन्‌ !

[११]
भेट्टाएर राङ्जाले
हाँक्यो गुम्बु मजाले !
म्हेन्दु ताक्ने भाङ्जाले ।

[१२]
म्हैन्दु देखी तर्सिइन्‌
आँखामा आँसु बर्सन्छन्‌ ।
हरामीको डरले
मुटु कामी थर्कन्छन्‌ ॥

[१३]
खुकुरी ली हातमा
नाङ्गो झलझल वातमा
उफ्र्यो राङ्जा घाटमा ।
"लौ आ" भन्छ ठाँटमा ॥

[१४]
गुम्बु भयो अकमक्क
थाहा के र ? भो छक्क!
हाँक लिनु कि चुप लाग्नु
टुलटुल आँखा पिलिक्क ।

[१५]
म्हेन्दु छेकी बस्दछिन्‌
राङ्जा नाची आउँदा
"जूँघा भए आ" भन्छ
चुपचाप गुम्बु पाउँदा ॥

[१६]
रोइन्‌ म्हेन्दु फूल झैँ
विन्दु शीतको लव जल झैँ
हात जोरी भन्दछिन्‌-
स्वरले खोला कलकल झैँ !

[१७]
"मेरो विन्ति नलड
पीर्ति दुइटै दिल पढ ।
यिनलाई मारे राङ्जाजी
मुखै हेर्दिन गन्धा पो !

[१८]
पीरतीको बाटोमा
लड्छौँ हामी माटोमा ।
साँचो गुदी साटोमा
रगत खालि हातलाई
पृथिवीको पन्नामा
फूल तगेको तन्नामा
चिरी मुटु कमलको
रगत तातो बगाई ।

[१९]
हेर त फूलले के भन्छ ?
पीर्ति त्यस्तो रँग हुन्छ !
हेर चरा के भन्छ
पीर्तिको त्यस्तो स्वर हुन्छ !

[२०]
ईश्वर हाँस्छ वनवनमा
जून लिपेको आँगनमा
झल्की उठ्दछ कनकनमा
शरम छैन हा ! मनमा !
प्रेमले सिर्ज्यो संसार जो
दयाले बर्स्यो जलसार जो
सुखलाई दियो सिंगार जो
हेरन जलको कनकनमा ।
शोध हे वीर मनमा
पोख्नु पो रगत रणमा !

[२१]
मुना मुना के भन्छ
आँधी खपी नरम छ !
लडाइँ गर्ने बाँझको बोट
ड्याङ्‌र्याङ् डुङ्ग्रुङ् शरम छ !

[२२]
फूलको नसा के भन्छ
चोट लाए पाप हुन्छ ।
पृथिवीको छातीमा
ढुङ्गे दिललाई श्राप हुन्छ ॥

[२३]
फूल सारा क्या रुन्छन्‌
मानिस दिलले नसुन्छन्‌
धूलो वर्षाले धुन्छिन्‌
मुर्दा आँखा सुनसान छ !

[२४]
मेघ झैँ मर्द गर्जन्छ
हाम्रो आँसु वर्षन्छ !
लडाकाले शान्तिको
ढुक्कुर मुटु तर्सिन्छ ।

[२५]
भित्र चरी मूर्छा छ
बाहिर मुङ्गो वर्षा छ
काँप्छिन्‌ पृथ्वी धाँजा गै
छातीमा दु:खको धर्सा छ !

[२६]
फूल यौटा बनाइदेऊ
द्यौता त्यल्लाई भन्नेछु
च्याती च्याती मार्नेलाई
राक्षस मैले गन्नेछु ॥

[२७]
दिलमा मासु नपल्हाई
कल्ले लिने लौ मलाई ?
ढुङ्गो पीर्ति गर्दैन
पीर्ति गर्ने मर्दैन !

[२८]
झगडा यो के लागि ?
माटो खरानी लौ मागी
चाहे जिउ यो छोड्द्युँला
ढुङ्गो जस्तो मान्छेको
मुखलाई आँखा मोड्दिउँला !

[२९]
सुनको शहर माथि छ
नरम दिल पो साथी छ ।
फुली आएँ बोलाउन
मनमा तिम्रो राती छ ॥

[३०]
ईश्वर फूलमा वेद फुल्यो
सुगन्धमा सत्‌ झुल्यो !
किरण भई भेद खुल्यो !
चरी बोलमा प्रेम बोल्यो
यस्तो संसार पाएर
अन्धो आँखा क्या पोल्यो

[३१]
आँसुभरी ले विन्ति
वीर है मेरो बेगिन्ती

प्रेमको देशमा कर छैन
मानिस जलका बल हुन्‌ ती ।

[३२]
मेरो माटो देखेर
सिँगारेका बोलाउने
आत्मा मेरो नजानी
तीखो धारले पोलाउने !
बुझ्ने मलाई पारी आ ।
अर्को जनम खेलाउने ।

[३३]
विन्ति वीरहो ! नलड
ढुङ्गे दिलले नभिड ।
माटोबाट बीउ चढ्छ
नरम सुनफूल चूलीमा
शान्तिको बाटो किरणमा
कलिलो नै ईश्वर हो !
धर्म्म हो आँसु रातीमा ।
आँसु आँसु रोएर
विन्ति छ मेरो छातीमा ॥

[३४]
राङ्जा भन्छ "छोड्दैन !
आज यो मुख नै मोड्दैन !
आ लड् आ भिड्‌ ! भिड्दैन ?
अझ त चीसो रगतको
तेरो टाउको गिँड्दैन ।
थरथर सिङ्‌ हे छेरुवा
कानलाई लाजले छेड्दैन ?

[३५]
म्हेन्दु भन्छिन्‌ रिसलाली
आँधिकी रुँदी फूल डाली ।
"लड्छौ अझ राङ्जाजी
शरम धरम सब फाली ?"

[३६]
"हे वीर । हेर हेर एक फेरा
चाँदी चूली घनेरा ।
आज जूनमा क्या बोल्छ
शान्तिमा प्रेमको हिउँ डेरा !

[३७]
"नरममा जून लाग्यो
अँधेरीको गुन भाग्यो ।
सेतो शान्ति झै जाग्यो
परमेश्वरको प्रेम लाग्यो ॥

[३८]
जसले प्रेमले बनायो
रेखा चिन्दै रँगायो ।
यौटा फूलको नसालाई
लाखौं छिनो लगायो ॥

[३९]
शरम छैन के तेरो ?
माटो लान्छस्‌ यो मेरो
मुटुमा मेरो चोटलाई ?
काटे काट्‌ लौ राङ्जाजी
गर्दन मेरो छिनेर
लैजा बरु मलाई !

[४०]
"लौ हेर ज्यान यो पर बन्दी
म झैँ आइमाई वीर हुन्थी ।
सह्मानलाई जो रुन्थी ?
हेलिन्छु हेर तादीमा
पछि लाग्ने वीरलाई
राख्नेछु सधैं गादीमा !"

[४१]
यत्ति भनी लमकोसे
हाम्फालिन्‌ ती जलमा ।
यौटा बस्थ्यो गादीमा,
एक झिमिक्‌मा कुदेर
हाम्फाल्यो त्यो भलमा,
आर्को रह्यो थलमा ॥

[४२]
लहर बोल्छन्‌ तादीका
"म्हेन्द-गुम्बु" कहानी ।
सुनिन्छ भन्छन्‌ तीरमा
हेलम्बुकी वनरानी ॥

महाकवि देवकोटाका केही कृतिहरू

उपन्यास

चम्पा

कथा/कहानी

लक्ष्मी कथासङ्ग्रह

कविता/खण्डकाव्य

कुञ्जिनी कृषिबाला
गाइने गीत दुष्यन्त-शकुन्तला भेट
पुतली
महाकवि देवकोटाका कविता (डा. कुमारबहादुर जोशीद्वारा सम्पादित)
मुनामदन राजकुमार प्रभाकर
रावण-जटायु युद्ध लक्ष्मी गीतिसङ्ग्रह
लक्ष्मी कवितासङ्ग्रह (डा. चूडामणि बन्धुद्वारा सम्पादित)
लूनी सीताहरण
सुनको बिहान ह्मेन्दु

महाकाव्य

पृथ्वीराज चौहान वनकुसुम
शाकुन्तल सुलोचना

नाटक /एकाङ्की

सावित्री-सत्यवान

निबन्ध

दाडिमको रूखनेर (राजेन्द्र सुवेदीद्वारा सम्पादित)
प्रसिद्ध प्रबन्धसङ्ग्र लक्ष्मी निबन्धसङ्ग्रह

समालोचना

स्रष्टा देवकोटा :द्रष्टा परिवेशमा (राजेन्द्र सुवेदीद्वारा सम्पादित)

मुद्रक : साझा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर, फोन : ५५२१०२३