Jump to content

Luni/nda

From Nepali Proofreaders
(ण)

(१)
दोखी दिलको कहानी
ह्मेन्दु वनकी सुनखानी
वैलिजाँदी जवानी
आन्जा' 'जिन्जी' दोटो ।
रच्छन्‌ जालको जाली
बुद्धि आफ्ना घोटी ॥

(२)
आन्जा जान्छे ह्लामा 'ह्लूसिङ्गो' को घर ।
काँचो धागो बेह्रेको सारा वरपर ॥

(३)
'ह्लूसिङ्गो' को बोली मेघले मेट्दैन !
'ह्लूसिङ्गो' को गोली बिजुली भेट्दैन ॥
'ह्लूसिङ्गो' ले हाने के मुटु छोड्दैन ?

(४)
असिनालाई हान्ने, दुश्मन बारीमा ।
वज्र फर्काई फ्याँक्ने सल्लाघारीमा ॥

जसका हातमा भूतका हुन्छन्‌ जगल्टा ।
जसका बोक्सी खान्छन्‌, ताता अगुल्टा ॥
ठूलो झाङ्क्री वनको आई मन्त्रेको ।
मुर्दा कति जिउँथे उल्ले जन्त्रेको ॥

(५)
ह्लासाभरको ह्लामा
जान्ने ह्लूसिङ्गो ।
तासा ह्लामालाई
पत्यार पार्नलाई
छिटो फिलिङ्गो ॥

(६)
आन्जा जान्छे वहाँ कथा सुनाउन ।
प्रेमको विजोग कथा कुरा घुमाउन ॥

(७)
"डाक्टर, वैद्य, धामी
झारफूक सारा हार
हिमाल बूटी ल्यायौँ
ल्यायौँ सागर खार ।
ल्यायौँ [1]ढुङ्गाबाट
कालो पसीना ।
ल्यायौँ सेतो भालु
बोसा मसीना ॥

धूप लगायौँ हाम्ले
मञ्जुश्रीको थान ।
जान्न ह्मे ह्मे ह्लूसिङ्गो
भेद हालेको बान ।

(८)
"उठ्नोस्‌ मे मे ह्लोसिङ्गो
जाऊँ तासी घर ।
हेलम्बूको गुम्बा
पुर्‍याइदिए मात्रै
जान्छ भन्नोस्‌ पीर ॥"

(९)
उठ्यो ह्लामा ह्लोसिङ्गो ।
वज्र फ्याक्ने ह्लोसिङ्गो
भूत उखेल्ने ह्लोसिङ्गो
हिँड्यो तासी घर ।
मकल हाल्यो धूपी
बुरबुर धूलो धूपी
ध्यानको देखाई खूपी
झिक्यो 'ह्मे' 'ह्मे' स्वर ॥

(१०)
"सुन है 'तासी' ह्लामा ।
सुन है 'ह्लानो' ह्लामा ।
लूनी रानीलाई ।

हेलम्बूको गुम्बा
कहालिन्‌को खम्बा
ह्लामा गरी जम्बा
पठाऊ लानलाई ।
नत्र लूनीलाई कोयली आर्को छैन !
नत्र लूनी फूलफूल गल्छिन्‌ बन्दै मैन
नत्र यिनको मनमा हुने छैन छैन ।"

(११)
आए लामा डोले
ल्याम्बो झ्याम्बो डोले
झापन झल्लर खोले
ह्लासा शहरमा ।
आए डोली झापन
'जिन्जी' 'आन्जा' लाई
हेलम्बूको बाटो
पहिलो पहरमा ।

(१२)
लागे लामा डोले
ल्याम्बो झ्याम्बो डोले, ह्लामा उकाली
लहर लहर लामा
किश्ती सरजाम काँधमा उचाली ।

(१३)
लामो लामो बाटो
ढुङ्गा बगरको ।

लामो लामो बाटो
वन र डाँडा छाँगा
पर्वत हाँगा हाँगा
उकाली र ओराली, कराली र भिराली
हेलम्बूको सेर्पा ह्मेन्दु शहरको ।

(१४)
आए डोले ह्लामा
लहर लामा लामा
किश्ती सरजाम केलिन्दीको तीर ।

(१५)
सेर्पा साम्बा सोम्बो
भेट्छ ह्लानो होङ्गो
जुवाइँ मानले ठूलो, झुकाई आफ्नो शिर ।
छोरी रानी लूनी
जून झैँ आकाशमुनि, वैलिएको फूल ।
चिन्ता पीरको कीरा, लागी गुलाफ जरा
मकाएकी मूल ।
पीली पीली रानी, पात झैँ पहेँली ।
बल्ल बल्ल माइती, भित्र पसिन्‌ टलपल
आँखाभरि बन्दै आड ली लहेली ॥

  1. शिलाजित