Jump to content

Luni

From Nepali Proofreaders
लूनी




महाकवि लक्ष्मीप्रसाद देवकोटा
लूनी
(गीतिकाव्य)




महाकवि
लक्ष्मीप्रसाद देवकोटा





प्रकाशक : साझा प्रकाशन
संस्करण : पहिलो, २०२५
दोस्रो, २०२७
तेस्रो, २०२९
चौथो, २०३५
पाँचौँ, २०४९
छैटौँ, २०६० (२१०० पति)
आवरणकला : टेकवीर मुखिया
मूल्य : रु २७।–;
मुद्रक : साझा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर
फोन : ५५२१०२३, फ्याक्स : ५५४४२३६
ISBN: 99933-2-307-1
प्रकाशकीय

'रानी लूनी राम्री
शिरीष कोमल हाम्री'

भनी गुनगुनाउँथे २००१ सालतिरका त्रिचन्द्र कलेजका विद्यार्थीहरू ।

महाकवि (अझ नभैसकेका) लक्ष्मीप्रसाद देवकोटा भाषानुबाद परिषद्‌मा जागीरे हनुहुन्थ्यो त्यसताका । दिउँसो उहाँ कलेजको ठूलो मसलाको बोटमनि बस्नुभएको हुन्थ्यो, वरिपरि हन्थे– कलेजका रसिक छात्रहरू । "आज के लेख्नुभयो कविजी ?" भन्थे विद्यार्थीहरू, अलि नाके स्वर झिकेर उहाँ गाउनुहुन्थ्यो–

आज क्यान लूनी रानी
आज क्यान लूनी
आधा वचन सुन्न छाड्यौ
आधा बचन सुनी... '

अनि भोलिपल्टदेखि विद्यार्थीहरू पनि गुनगुनाउन थाल्थे- 'आज क्यान लूनी ...'

लूनीको मोहनी अलि छकै रहेछ क्यारे, महाकविका अरू काव्यहरूभन्दा बढी यही गाइन्थ्यो त्यसताका बिद्यार्थीहरूबीच । यही बढी प्रिय थियो त्यस बेला महाकविको पनि ।

त्यति भएर पनि किन हो लूनी गुप्तबास बसिन्‌ । कारण थाह छैन तर शायद सेर्पा “साम्बा सोङ्गो' को तस्वीरमा त्यस बेलाको ३ को छाया परेको देखियो कि ? जे होस् । कुज्जिनी आइन्, अनि शकुन्तला, सुलोचना

पनि आए । हुँदाहुँदा ह्मेन्दुसम्म आइसक्ता पनि लूनीचाहिँ गुम्बाको गुम्बै । लूनी लुकेकी लुक्यै रहिन्‌ ।

आज बाइस वर्षपछि महाकविको लूनीलाई उद्धार गर्ने श्रेय साझा प्रकाशनले पायो । सन्जोगैले पाएको कुरामा हामी जसको दाबा गर्न सक्तैनौं । त गर्व हामीलाई छ– महाकविको 'लूनी रानी' लाई सबको सामुन्ने आउन मद्दत गर्न पाएकोमा ।

त्रिचन्द्र कलेजका त्यस बेलाका छात्रहरूले झैँ अब अरूले पनि लूनी रानीलाई माया गरेको हेर्ने हाम्रो धोको छ ।

२०२५

कमलमणि दीक्षित

लूनी
(क)

(१)
सेर्पा 'साम्बा सोङ्गौ'
राज्छ दरबार 'लोङ्गो'
सेर्पा हेलम्बू !
चाँदी चूली झलझल
खोला नाला कलकल
सेर्पा झोलुङ्गो ।

(२)
चारकोस फूलबारी
रङ्ग रङ्ग भारी भारी
मग्मग खिलखिल छ ।
गरा गरा फुल्छन्‌
मीठा चरा झुल्छन्‌
सारा झिलमिल छ ॥

(३)
सुन जलपको छानो
झ्यामोलुङमो मानो
बिहान खुल्दामा ॥
'केलिन्दी' को जलमा
झलझल बल्दो पलमा
चम्के जस्ती सुन सुन
किरण मिल्दामा ॥
सिंह दोटा पाले,
लामा लामा बाले
'साम्बा' दरबाजा ।
खुट्किलामा मखमल
कुल्चिनलाई कोमल,
साँझ सबेर बज्छन्‌
घूँ घूँ भै बाजा!

(४)
बुट्टे रेशम पर्दा
झ्यालमा झल्कन्छ ।
नागबुट्टे सिलिङ्ग
रङ्गले टल्कन्छ ।
लक्खन्‌बुट्टे काठका
किश्ती उसका छन्‌ ।
चियादानी सुनका,
माणिक प्याला धनका;

गरम गरम प्याला,
बोक्छन्‌ गुलाफ गाला;
हिउँ जस्ता छाला,
कोमल जसका छन्‌ ॥
गालामाथि कोठी,
काला तिलका छन्‌ ।
जसका तिर्छी नजर
मार्ने झिल्का छन्‌ ॥

(५)
सिल भुवाको भोटो
मखमल अल्खामा;
कान चिरेको टोपी,
बाघको छालामा;
पन्ना लप्सीजत्रो
कानमा झल्कन्छ ।
बाहुला जोरी साम्बा,
सिमल भुवामाथि
सुखले ढल्कन्छ ॥

(६)
असल असल नौनी
चाँदी डब्बामा
बनेका मिर्ग खुट्टी,
हिउँले धूलो छुट्टी,
बुर्बर पारी हाल्छन्‌
चिया बट्टामा ॥

(७)
चामर डोल्छे एउटी
मखमल अल्खाकी ।
चस्री चामर लामो-
सेतो लरबर चामर
चाँदी डाँठको चामर,
तिर्छो झल्काकी ।
एउटी लिन्छे पङ्खा–
मुजूर पुच्छर पङ्खा,
चाँदी डाँठका पङ्खा,
राम्रो– उल्काकी ।

(८)
ठूला ठूला सुनका
द्यौता थान थानमा ।
झ्यान झ्यान– बज्छन्‌ झ्याली
छिटा झ्यान झ्यानमा ।
घ्याङ घ्याङ बज्दछन्‌ घट
बुद्ध मन्दिरमा ।
घोडा पुच्छर तारका
बाजा सुन्दरमा,
राँ राँ रुँ रुँ गर्छन्‌
साँझ सबेरी ।
छिटा छिटा स्वरमा
स्वरका भङेरी ।

बज्छन्‌ मुख चुम्बा
गिन गिन गुन्गुनी ।
बज्छन्‌ घ्याम्पे ढ्याङ्ग्रा
घड्‌ घड्‌ घन्घनी ॥

(९)
बुद्ध मन्दिरमाथि,
झल्लर छाता छ ।
झल्लर सुनको छाता,
साँझको नाता छ ।
नाच्छन्‌ वरिपरि
पयर फेकेर ।
कोकिल कण्ठी राम्रा,
हेलम्बूकी छोरी,
फूलमा टेकेर ॥

(१०)
राता राता धूपी
गोसाईं बाटाका ।
बुद्धअघि बाल्छन्‌,
अमर धुनी मगमग
मगमग अमर धुनी
हिमाल पाटाका ॥

(११)
नौनी दिया झिलमिल सेता लप्का छन्‌ ।
भोटे धूपका ठोसा राता टुप्पा छन्‌ ॥
रङ्गबिरङ्गका राम्रा फूलका झुप्पा छन्‌ ।
वरिपरि घुम्ने उल्का रूपका छन्‌ ॥

(१२)
आउँछन्‌ लामा गोल शिर
वासो लामा 'जङ्गी',
गुम्बे लामा सिङी
घ्याङ्गे लामा रिङ्गी– घुँडा प्रणामी ।
आउँछन्‌ सेर्पा भोटे
झ्याम्बो झ्याम्बो भोटे
मोटा मोटा ओठे– आँखा बादामी ।
भुइँ छोई शिरले
पटक पटक उठ्दै,
पटक पटक पस्री– ढङ्ग गुलामी ।
हातले छोइमाग्न– वेल झैँ नङ्गा शिर ।
आइमाई, बच्चा,
ठिटाठिटी कच्चा
ईश्वर मानी सच्चा,= (मेट्न मनको पीर)
सेर्पा साम्बा सोङ्गो,
राज्छ दरबार लोङ्गो
सेर्पा हेलम्बू ।
चाँदी चूली झलझल
खोला नाला कलकल
घाँस हरा मखमल
सेर्पा झोलुङ्गो

(ख)

(१)
छोरी उसकी 'लूनी'
रानी सेपेर्नी ।
हेलम्बूका जून झैँ
हिमाल हिउँमनि ।
झ्यामलङ्गो सुन झैँ
फागुन दिनमनि ।

(२)
कलकलाउँदो सलमल
रेशम मुना झैँ ।
बास आउने फूलकी
बैँसे-टुना झैँ ।
धौलागिरि छोप्ने
बादल बुना झैँ ।
अप्सराकी मूर्ति–
नन्दन कुना झैँ ॥

(३)
रानीवनमा फुल्ने
गुलाफ हँसिली ।
वसन्तकी झरी
जस्ती रसिली ॥
साँझकी बहिनी जस्ती
हिमाल दरबारमा ।
फूल फुलेकी जस्ती मानिस घरबारमा ॥

(४)
हरिन हलुका पयर
हरा वनको माझ ।
फूल-थुङ्गो शरीर
सिर्जनाकी ताज ।

(५)
चम्पा सुन्दर गाला
गुलाफ लालीमा ।
वन बैँसे पालुवा
चरा तालीमा ।
सुगन्धकी रङ्ग
बैँसकी डालीमा ।

(६)
दन्त लहर उनका
मोती झल्कन्छन्‌ ।
पालुवाका रङ्गका
ओठ टल्कन्छन्‌ ।

(७)
वनका चरा बोल्छन्‌
उनका बोलीमा ।
राम्रा सब चीज मिल्छन्‌
उनका चोलीमा ।

(८)
मलमल अल्खा सुन्दर
सलमल झल्कन्छिन्‌ ।
हावा परी केशमा
चुम्न पल्कन्छिन्‌ ।
ञूँका यारिङलाई
फूलमा ढल्कन्छिन्‌ ।

(९)
माणिक बाला सुनको
तेलको बट्टामा ।
सुग्घर हातका राम्रा
हेलम्बूका केटो
बैँसका ठट्टामा ।
तातो पानी फेटी
कपाल झल्काउँछन्‌ ।
चाँदी डाँठे थाँक्रो
हातमा ढल्काउँछन्‌ ।
अँध्यारोलाई फाली
पूर्व बादलमा

पश्चिमतिर हेर्दी
जून झैँ गाजलमा ।
मानसरोबरको
ऐना झल्केर
आफैँ मुसमुस हाँस्छिन्‌
थोरै ढल्केर ।

(१०)
चिउँडो उनको नौनी–
डल्लो सलक्क ।
टुना उनका आँखा
मुसमुस झलक्क ।
सुन पिटेको शरीर
फूल खँदिलो
छुँदा पाप लाग्ने
साह्रै कलिलो ।

(११)
सुनको बुट्टे पाल्की
उनको वाहन छ ।
ल्याम्बो झ्याम्बो डोले
बोक्ने बथान छ ।
चम्री झल्लर पर्दा
तिलको सिरान छ ।
कर्‍याङकुरुङ भुवा
उनको ओछ्यानमा छ ।

बैँसे ठिटी राम्रा
सुसार बथान छ ।
'हेलम्बूकी रानी'
नामको उखान छ ।
हामी जस्ताबाट
गरीब बखान छ ।

(ग)

(१)
आज वैशाख पूर्णिमाको 'मारदौन'[1] भन्ने उत्सव छ ।
सारा सेर्पा हेलम्बू नै हेर्न आज उत्सुक छ ॥
स्यावा मैदान मखमल-हरा चारैतिर घेरिन्छ ।
आइमाई बच्चो ठिटो बूढो जवान सारा वैरिन्छ ॥

(२)
कुश्ती तरबार ढालको लडाइँ काँढको वर्षा देखिन्छ ।
छिटो घोडा चढ्ने पट्ठो मुजूर कल्की पहिरल्छ ॥
राक्षस जस्ता मारका मूर्ति मारमुङ्ग्रीले लड्दछन्‌ ।
आज स्यावा मैदानमाथि जोडतोड गर्ने भिड्दछन्‌ ॥

(३)
घोडेजात्रा के रमाइलो नेपालको चउरमा ?
आज हेर ! सेर्पा संसार घाम लागेको प्रहरमा ।
बाँसुरीले ह्लामा नाच्छन्‌, धूँ धूँ पार्छन्‌ तुरही ॥
हार्नेलाई कालो मुसो जित्नेलाई फूल हाँगो
के नाच्ला है सेर्पा जस्तो ।
आज पर्वतको छाँगो ?

(४)
बुद्ध मूर्ति जिउँदो आकार सुनको राम्रो सिँगारी ।
फूलैफूलको रथमा हाली सेर्पा लग्छन्‌ घिसारी ॥
मूर्ति छुने आइमाई पाउँछ भन्छन्‌ आफ्नो दिल-इच्छा ।
आजको दिनमा हुन्छ भन्छन्‌ पाप धर्म परीक्षा ॥

(९)
सेर्पा साम्बा सोङ्गो बस्छ रथको आज अगाडि ।
खेल र कूद घोडदौड चल्छन्‌ बाँझको रूखपछाडि ॥
हेलम्बूकी रानी लूनी सिँगार-सुन्दर मखमलमा ।
सल्लाघारीमुनि बस्छिन्‌ सुन्दरीको टहलमा ॥

(६)
सारा सेर्पा जित्ने आज चाङना नामको ठिटो भो ।
अग्लो गोरो राम्रो सेर्पा घोडादौडमा छिटो भो ॥
कुश्ती खेल्दा राङजालाई धोबीपाटले पछार्‍यो ।
बुद्धको रथ दुवै हातले तानी एक्लै घिसार्‍यो ॥

(७)
काँढमा उसले बैँसको हाँगो एकैचोटि चिर्दामा ।
आश्चर्यको रङ्ग छायो हेर्न सबका पर्दामा ॥
उसले कम्बर भाँची नाच्दा सबैभन्दा राम्रो भो ।
सेर्पा राङजाभन्दा बढी सेर्पा चाङना हाम्रो भो ॥

(८)
बीस वर्षको गोरो ठिटो डालडिलको क्या राम्रो ।
सेर्पा हेलम्बूको शहरभन्दा चाङना यो हाम्रो ॥
कालो कपास निधारबाट मन्टो हल्लाई फेक्दछ ।
एउटा हातले पसीना पुछी कपाल सम्याइराख्दछ ॥

(९)
तेर्सो पारी भिरेको छ बोक्रे दापमा खुकरी ।
कम्बल कोट र कट्‌टु लाउँछ दुश्मन शिरको टुकुरी ॥
गरीब घरको सादा पोशाक बिहानलाई बादल झैँ ।
कस्तो राम्रो अनुहारमा सुहाएको मखमल झैँ ॥

(१०)
फूलको हाँगा ल्याई उसको हातमा राखी कराए ।
मुजूर कल्की घालू टोपी माथि चढाई लगाए ॥
सेर्पा चाङना गुलाफ जस्तो गाला दुईमा फुल्दछ ।
हेलम्बूकी रानी लूनी नजर त्यसमा झुल्दछ ॥

(११)
आज बाला हेलम्बूमा नौनी चम्री गाईका ।
सेता झिलमिल झिलमिल बत्ती, 'मारदौन' मनाऊ गायिका ॥
हातेमालो सेर्पा[2] स्यावा घर घर आज घुम्नेछ ।
सेर्पा चाङना हेलम्बूको लोङ्‌गु दरबार पुग्नेछ ॥

(१२)
हेलम्बूकी रानी लूनी उनकी आमा हेलम्बा ।
गुँथेकी छन्‌ माला उनले रङ्गीचङ्गी फूलथुँगा ॥
आज उनको पयर छोई सेर्पा चाङना पाउनेछ ।
माला, मिनाज, सुनको थैलो सांवा कीर्ति गाउनेछ ॥

(घ)

(१)
आज क्यान लूनी रानी,
आज क्यान लूनी ?
गर्मी दिनुमा बोर गुमेको
जस्तो बन्छ्यौ भुनी ?

(२)
आज क्यान लूनी रानी,
आज क्यान लूनी ?
आधा वचन सुन्न छोड्यौ
आधा कुरा सुनी ।

(३)
कस्तूरीको रोग लागे
जस्ती रानी लूनी !
पालुवाको पैलो मुगा
रङ्गको बनमुनी !

(४)
सोह्रैँ दिनको चन्द्रमा झैँ
हिमाल कुमारदेखि ।
वैलिनलाई पश्चिम झक्दी
बैँसको छोडी सेखी !

(५)
म्यान आज सुनकेस्रा झैँ
शीतको दाना साथमा
वैलिजान खोज्छ्यौ रानी
स्वर्ग फुल्ने पातमा ?

(६)
क्यान आज लूनी रानी,
जलमा साँझको छाया ?
जस्तो पारी पलक झार्छ्यौ
हाम्रो छोडी माया ?

(७)
क्यान आज लूनी रानी,
आज क्यान लूनी ?
वसन्तको पालुवामा,
चकोर जूनमुनि ।

(८)
आज क्यान लूनी रानी,
पिँजराकी चरा
नबोलेर खालि सुन्छ्यौ
संसारको कुरा ?

(९)
क्यान आज लूनी रानी,
हेलम्बूकी जल झैँ
खोजिहिँड्छ्यौ रुनलाई
एकान्तको थल झैँ ?

(१०)
क्यान आज लूनी रानी,
मिर्मिरेको पलमा ।
आँसु दाना जस्तो भयौ
कुमुदको फूलमा,

(११)
आज क्यान लूनी रानी,
हेलम्बूकी चूली ।
तारामनि फुके जस्तो
साँझको झिलमिल जेलि !

(१२)
भँवराको पखेटा झैँ
केश तिम्रो कोरी
'जिन्जी' सोध्छे लूनी रानी
हेलम्बूकी छोरी ।
भइ हाम्लाई दिलको दर्द
हिउँ जस्तो गोरी ।

(१३)
थोरै खाने थोरै बोल्ने
रातमा धेरै जागा ।
बादलवारि हेर्ने धेरै
या त फूलको हाँगा ।
टुना लायो कल्ले रानी
नानीमाथि झल्की
बोल बोल, माया गर
नजलन सल्की ॥

(१४)
'जिन्जी दिदी ! जिन्जी दिदी'–
आँखा उठे मुखमा !
भाका भने बन्द भयो
बोलिनको दुःखमा !

(१५)
"क्यान आज लूनी रानी,
कोपिला झैँ बन्द ।
हामी दिलको पाइसक्छौँ
लुकाएको गन्ध !

(१६)
"सेर्पा चाङना फूलबारी
गुँथ्छ रङ्गीन माला !
चाङना जसले "मारदौन' जित्यो
ह्लासा वीरको चाला !

(१७)
मिर्मिरे जुँघा उसको ओठमा
फूलको केशर कालो !
ढुक्कुर जस्तो गोद गाई हिँड्छ ।
फूलको बोकी डालो !

(१८)
जिन्जीको छ कुने आँखा
हामी देख्छ फूलशर ।
मुटु हान्ने धनुमाथि
बिश्ने ठाउँ करकर !"

(१९)
आँखा झक्दी लूनी रानी
गाला गाला फुल्छिन्‌ ।
नशा नशा गुलाफ चल्छन्‌
नरम तवर बोल्छिन्‌ ॥

(२०)
"ह्वैन जिन्जी ! ह्वैन जिन्जी,
झूटो बोल्छ्यौ तिमी !"
जिन्जी भन्छे "चिन्छु मैले
चिन्छु तामा सीमी ।"

(२१)
"तर आज लूनी रानी,
अर्ती मेरो सुन ।
सेर्पा चाङना कम्बल जस्तो
तिमी हाम्री सुन ।

(२२)
आउला ठूलो आँधी गड्गड
रूखलाई रुलाई भाँची !
राम्रो गरी सह्माले है
आफ्नो दशा जाँची !

(२३)
निकाल्दिन्छु म ता त्यल्लाई
हाम्री रानी लूनी !"
बरबर आँखा दोटा झरे
रेशम झल्लरमुनि

(२४)
जिन्जी दिदी कोमल बनिन्‌
पग्लिएको हिउँ झैँ ।
चुम्बन दिई भन्छिन्‌ कठै !
लूनी प्यारी जीउ झैँ ।
हेलम्बूको राज्य छोडी
तिम्रो इच्छा धाउँला
तिम्रो निम्ति मर्नुपरे
प्राण लिई आउँला ।

(ङ)

(१)
किश्ती किश्ती चाँदी सुनका
बोक्ने भोटे घुम्छन्‌ फन्का
पर्वत, डाँडा, छाँगा वनका ।

(२)
झासी ह्लामा ह्लासा घरको
चाँदी ईंटमा सुनको धर्को ।
ताता छाना जलप चर्को
भेज्दछ आफ्नो मानिस घरको ।

(३)
फूलको किश्ती अबीर लावा
पत्र छ जसमा साटित सुन्दर ।
मगमग अत्तर छिट्दै हावा
ल्याउँछ साम्बा सामु 'ह्मेन्दर !'

(४)
शिरले आदर भारी पारी
झुक्दै एकछिन किश्ती भारी
हात दुवैले चट्ट उचाली
राख्दछ साम्बा सुनको खतिया

(५)
माथि सुन्दर फूल खसाली !
"संसारभरको सेर्पा राजा
सुनको बारी, सुनको दरबार
सामु हाम्रो तासी ह्लामा
झुक्दछ शिरले बिन्ती एकबार !

(६)
"हामी सानो झासी ह्लामा
ह्लासा घरको सानो छाना
बिन्ती आदर गर्दै आई
माग्छ हजुरको छोरी 'लूनी'
हाम्रो छोरा 'ह्लानी' लाई

(७)
पच्चीस ह्लामा गाउँ बिर्ता
पच्चीस बाघको छाला भेटी ।
पच्चीस साँप्ला सुनको दाइजो
पच्चीस राम्रा ह्लासा केटी !
बिन्ती हाम्रो सोङ्गो राजा
कानले दिलमा धारेदेखि
आजको मैह्ना दर्शन गर्न
'ह्लानो' भेज्छौँ चिट्ठी लेखी ।"
लेख्दछ सेर्पा साम्बा सोङ्गो
भोटे अक्षर केही बाङ्गो
सुन-जलपको मसीदानी
प्वाख कलमले बुट्टो तानी !

(९)
"हामी सानो सेर्पा साम्बा
आज्ञा जोहो पालन गर्छौँ ।
मैहना दिनमा 'ह्लानो' आए
फूलको शिरले स्वागत गर्छौँ ॥"

(१०)
किश्ती किश्ती चाँदी सुनका
बोक्ने भोटे घुम्छन्‌ फन्का ।
पर्वत, डाँडा, छाँगा वनका,
'साम्बा सोङ्गो' तर्फका भोटे
थपिई चिट्ठी लग्छन्‌ उनका ॥

(च)

(१)
रानी लूनी राम्री
शिरीष कोमल हाम्री
कठै ! रुन्छिन्‌ मनमा
एक्लै हमेन्दु[3] वनमा

(२)
ह्नामे[4] बोल्छ "को हो !"
पल्लव हेर्छन्‌ "ओहो !"
झुल्छे लहरा !
बैँस फुट्छ रङ्गमा
फूलैफूलका लङमा
वसन्तका सँगमा
नाच्छे छहरा !

(३)
हरियोको संसार
आगो झिल्किन्छ ।
नशा नशा फूलमा
बैँसले वल्किन्छ ॥
भँवराको ताँती फूलमा पल्किन्छ
हावा चुम्छ फूललाई
गाला ढल्किन्छ ॥

(४)
वसन्तको लहर
सुन्दर सागरको
आई छुन्छ शहर
पहाड भ्रमरको ।
फूल फूलका परी
नाच छ रहरको ॥
तर कठै लूनी !
आकाशको मुनि
एउटी तिमी रुन्छ्यौ आँसु अमरको ।

(५)
फूलको संसारलाई
दिलमा रसाउने ।
कोमल भावले ह्मेन्दु
वनै हँसाउने ॥
आज कठै लूनी !
बादल उदासी !

केलिन्दीकी जल झैँ
दाना दाना हीरा
गरम दु:खका दाना
बस्छ्यौ छिनछिन गाँसी
बादल उदासी !

(६)
आउँछे छिटी जिन्जी
चङ्ख पयरकी
"क्यान रानी लूनी,
ह्मेन्दु शहरकी
आँसु आँसु दाना
कोसमा, रसिली ?
क्यान रानी लूनी,
छैनौ हँसिली ॥"

(७)
रानी लूनी भन्छिन्‌
"ढुक्कुर एक जोडी
ह्मेन्दु वनमा बस्न
खोज्थ्यो नछोडी
एउटा शिकार खेल्ने
टाढा डाँडाको ।
आई हान्छु भन्छ
शरले काँढाको ।"

(८)
बुझी जिन्जी पुछ्‌छे
कोसको झलझल नीर ।
दोटै साथमा जान्छन्‌
केलिन्दीको तीर ॥

(९)
बनाई माला राम्रो
सेर्पा चाङना हाम्रो
पूजा गर्थ्यो फूल !
सच्चा आँसु झल्काई
दिलको फुटी मूल ।
रुन्थ्यो बर्बर कहिले
कँपाइ कँपाइ ओठ
जहाँ फुल्यो झ्याम्म
[5]बखडाको बोट ।

(१०)
भक्ति देखी सुन्दर
घारी लुकेर ।
रानी लूनी, जिन्जी
हेर्छन्‌ छिपेर ।

(११)
खुकुरीको टुप्पो
फूलले सिँगारी
पूजा गर्थ्यो चाङना
आँखा जल भारी !

(१२)
आँखा चिम्ली एकछिन
"रानी हे लूनी !"
भन्दै आँसु झार्छ
हाँगा फूलमनि !

(१३)
नसकेर खप्न
लूनी हामफालिन्‌ ।
सेर्पा चाङनालाई
हातले अँगालिन्‌ ।

(१४)
रोए दुई बरबर
प्रेमको मिलनमा
दुइटा फूल झैँ जोडी
प्रेमको मिलनमा ॥
पिँजराको ढुक्कुर
पोथी फुके झैँ
वनको हरा कुना
भाले लुके झैँ ॥
उडिजाँदी आँखा
भरभर बोले झैँ ।

(छ)

(१)
नाचूँ रे केलिन्तीर[6]
भाचूँ रे कम्बर वीर !
सिँगारूँ पल्लव-शिर !

(२)
जून-बत्ती हिमालमा
हीराझल कपालमा
हेलम्बू नेपालमा ।

(३)
बाँसुरी, वनश्वासी
ओठमा ल्यौ, मृदु हाँसी
हामी सब, हात गाँसी
फूल माला, नाच्नेछौँ ।
सुरसुरमा जललहर
कम्बर यो भाँच्नेछौँ ॥

आजको पिरती
कालले भुल्दैन
भुलेमा संसारमा
ह्मेन्दुवन फुल्दैन ।

(४)
"चाङना' लाई 'लूनी' छन्‌
'लूनी' लाई 'चाङना' छन्‌ ।
व्यर्थ है जिन्जी, जून !
ह्लासामा माग्न्या छन्‌ ॥

(ज)

(१)
'लूनी' मेरी खबरदार !!
'चाङना' त्यो हो चोर सरदार ।
जालिस्‌ नाच्न ! केलिन्तीर ।
फेरि देखूँ लौ एकबार
बच्ने छैन घरबार
लेला मेरो तरबार
काटी तेरो 'चाङना' शिर

(२)
थरथर जिन्जी नीली छ ।
काँप्दी जून झन्‌ पीली[7] छ ॥
लूनी बन्छिन्‌ बदली ।
चाङनालाई धपाए
गुम्बा पस्न लगाए
झल्किआउँथ्यो साउन झैँ
सम्झनाको बिजुली !

(झ)

(१)
आज सुनको डोली छ,
चम्री झप्पन झल्लरको ।
घूँ घूँ घूँ घूँ तुरही
विराँख बाली हज्जाराँ
बाज्छन्‌ भोट, नगारा
उकालीमा, असजिला
हिमाल पारी भोटको ॥

(२)
चाँदी जन्जीर लर्केका
चाँदी डाँठका पानस छन्‌
चाँदी कैँची खैँचेर
कालो झुरो काट्दछन्‌ ॥
सुनको झारी झलमलमा
सुनको बिर्का जलजलमा
ह्लासा बोकी हिँड्दछन्‌ ।
सुनको डाँठको घन छाता
दुलहाले ओढ्दछन्‌ ।
बुद्धको पाङ्ग्रा घुमाई
'ओमे पेमे' पढ्छन्‌ ॥

(३)
रुन्छिन्‌ राम्री दुलही
भोटको ठाडो बाटोमा
आँसु दाना टप्केर
भिज्दा रसले माटोमा ॥
फूल फुल्थे भन्दछन्‌
त्यहाँ फाटफुट पाटोमा

(ञ)

(१)
ह्लासा सारा सुन घर छ ।
ञूँका पहाड भरभर छ ।
पन्ना हाँगा हाँगामा ।
हीरा हीरा झर्छन्‌ रे
छरछखर छङछङ छाँगामा ॥

(२)
कस्तूरीले वन बास्छ
'चूजीक्वाँग' मा फूल हाँस्छ
'सिङ डोङ्कार' मा सुन झल्की ।
चाँदी त तारा झिलझिल छन्‌
चाँदीका सारा पर्खाल छन्‌
घाम र जूनमा क्या टल्की ॥
जिम्बु वनमा ढुक्कुर छन्‌,
साँढे टाउके कुकुर छन्‌
मखमल भुवा बिराला ।
गुलाफ बारी गालामा,

कमल हिउँ छालामा
रजहाँसका चालामा
नाच्छन्‌ परी अप्सरा
उकाला र ओराला ॥

(३)
"सुन जलपकी परखालकी
बुद्धको सुनको दरबारकी,
बिहान देवी हिमालकी
ओर्लि एक दिन टेकिन्‌ रे !
पयरले सुन सुन भरमारमै
सिङ डोङ्गारको फेदीमा ।"
भन्छन्‌ हाम्रो ह्लासामा ।
त्यसैले सुनको खानी भो
झलझल सुनको राशमा ॥

(४)
हिमालभन्दा गहिरो छ
सुनको दरबार पृथ्वीको ।
भन्छन्‌ लामा ह्लासाका
खम्बामा जसका हीरा छन्‌ ।
मोती मुगा खासाका ।

(५)
पश्चिम हिमाल छेउमा
दिनको बाटो तताई ।
धपधप बल्ने दिन– आँखा
सूर्य नामका सुहाई ॥

सुनका उनका पश्मिना
गलेबन्द लाएर ।
डुब्छन् भन्छन्‌ लुक्याँगको
तलाउमा आएर ॥
जुहार जुहार खम्बामा,
दरबार जलमा झलमल छ ।
रातमा सुत्छन्‌ झूल तानी
नीरमा हीरा झलमल छ ॥

(६)
ह्लासाका छाना टल्कन्छन्‌
दुईबार दिनको टुनामा ।
घरमा ज्वाला सल्कन्छन्‌
दुईबार गजुर कुनामा ॥

(७)
गालामा आई फूल फुल्छन्‌
बिजुली छन्‌ आँखामा ।
कस्तूरी पो मगमग छन्‌,
बैँसका फूलको शाखामा ।
बुलबुल जूनमा फुल पार्छन्‌
अनार-मुना भाषामा ॥

(८)
ह्लासाका चरा फुल उड्छन्‌
ह्लासाका फुलफुल सब बोल्छन्‌
भुइँ छ पन्ना लिपेको ।

डाँफेका आँगमा इन्द्रेणी
वनदेवीले छिपेको ।
फूलले लाउँछन्‌ यारिन्‌ रे !
सपनाले तारावन–
बाट रुँदै टिपेको ।

(९)
हिमाल दरबार जून[8] रानी
पुरुष हेरी गल्छिन्‌ हे ।
पन्ध्र दिनलाई गलेर
एक दिन सुती फुल्छिन्‌ रे !
राम्रा आइमाई अनि त
हेर्दै गोल गोल बन्छिन्‌ रे ।

(१०)
तर होस्‌ ह्लासा सुन सुनको
सुनको भेडा सुन ऊनको ।
लूनीलाई कठै ! आँसु छ ।
विषको वनमा गए झैँ
सिक्‌सिक्‌ लाग्दो मासु छ ॥

(११)
मखमल गद्दी नीलोमा
सुनका प्याला भर्दछन्‌ ॥
चामर डोलाई केटीले
गुलाफ अत्तर छर्दछन्‌ ॥

नागको मणि राखेर
अँध्यारोलाई हर्दछन्‌ ।
हजार लामा राजा झैँ
पयरतिर पर्दछन्‌ ॥

(१२)
बज्दछ झिन झिनतारे ।
कोयलकण्ठी गानामा ।
चीनिया रेशम लाएका
ह्लासा बुलबुल तानामा ॥
हरिन छाउरे पयरलाई
हावामा फूल झैँ फेकेर ।
नाच्छन्‌ केटी रेशममा
मखमलमाथि टेकेर ।
गुलाफ अत्तर छर्कन्छन्‌ ।
साँझ सबेरी खानामा ।
हज्जार नोकर तम्सन्छन्‌
एक इशारा लानामा !

(१३)
अनार सर्बत बुलबुलबुल
सुनका प्याला झल्कन्छन्‌ ।
अत्तर झारका बास्नाले
बैँसका अधर बल्कन्छन्‌ ।

(१४)
केलाएका झार भुवा
सुनका तारले फड्कन्छन्‌ ।
सीलको छाला मारेर
गुलाफ जलले छर्कन्छन्‌ ॥
तकिया त्यसको लम्याई
केश ती काला लर्कन्छन्‌ ॥
चरी-भुवा डसनामा
परीका करले फर्कन्छन्‌ ॥

(१५)
तर छन्‌ रानी लूनीलाई
नजर भुलभुल छिनछिनमा ।
कपाल दुख्यो भन्दछिन्‌
बादल हाली ती मनमा ।

(१६)
सम्झिन्‌ उल्टो 'लूनी' ले
चाङना बस्ने झोपडी
तारामण्डल झ्याङप्वाले
खरको छानो आलटाले
बाङ्गोटिङ्गो कटेरो,
स्याउलाको ओछ्यान लाएको,
कम्बल पाखी झुत्राको
स्वर्ग जस्तो त्यो घडी ।
जहाँ गुड्थ्यो विट्विना
घैँटे जलको लडिबुडी ॥

(१७)
कोसको कुना झल्केको
कमल थोपा उज्यालो
देखेर मन मन आँजाले
भन्दछे– (हाम्री रानीको
चालाले भन्छ पानीको,
उल्टो पो पर्‍यो उकालो) ।

(१६)
जिन्जीको आँखा हेरेर
आँजले अंसार बुझ्दछे ।
'यस्ती राम्री जून-फूल झैँ,
कठै ! दुःखले भुलभुल भै,
भन्छिन्‌ चाँडै वैलिन्छिन्‌'
भन्दै मनमा सोच्दछे ॥

(ट)

(१)
'जिन्जी' मैले सपनामा
चाङना' देखेँ रोएको ।
बुद्ध भगवान्अगाडि,
शान्त सुन्दर ज्योतिको,
बयान पारको स्वस्थको,
पयर जलले धोएको ।

(२)
"उनका आँखा टलपलमा
मोती झलझल गुड्दथे ।
दाना दाना लहरना
तारा जस्तो एक गुच्छा
कमल पाउमा झर्दथे ।

(३)
"बुद्ध भगवान्‌पछाडि
छाया जस्तो लुक्थेँ म ।
उनको मुहार सुन्दरलाई
भगवान्‌ नजर द्वारले
टाढैबाट देख्थेँ म ॥

(४)
"के छ तिम्रो मुटुको
भन्दा, भित्री चाहना ? ।"
"लूनी रानी हेलम्बू"
भन्दै चाङना रोएको
"सेपा संसार गहना ।"

(५)
आँसु आयो भुलभुलभुल !
रानी लूनी नजरमा
जस्तो आउँछ कुमुदमा
जून ओर्लिने पहरमा

(ठ)

(१)
हेलम्बूको पूर्वकुना केलिन्दीको तीरमा ।
'ह्मे ह्मे ह्लामा' गुम्बा बस्छ काहालिन्‌को भीरमा ।
हज्जार हज्जार ह्लामा पुस्तक अटेसमटेस शिरमा ॥

(२)
संसार सारा देख्छ भन्थे तिनटा रेखा तानी ।
निधारबीचमा आँखा पुर्‍याई खुम्च्याई दोटा नानी ।
पानी आगो पार्छ भन्थे आगो पार्छ पानी ॥

(३)
भक्त सेर्पा भक्त ह्लामा बत्ती तेल ली जान्थे ।
सानो प्वालमा खस्ने रोटी फलफूल टिपी खान्थे ।
दोटा ह्लामा यौटा 'ह्मे ह्मे' आर्को 'चाङना' भन्थे ॥

(४)
गुम्बा पसेदेखि 'चाङना' चुपचापमा रह्यो ।
न त उल्लाई विरहले फेरि मनमा दह्यो ।
रानी 'लूनी' हेलम्बूकी सम्झी मनले सह्यो ॥

(५)
ह्मे ह्मे ह्लामा ह्लामा पुस्तक दिन्थ्यो भारी भारी ।
न त उल्लाई विरहले फेरी मनमा दह्यो ।
रानी 'लूनी' हेलम्बूको संशे मनले सह्यो ॥

(६)
ल्मे ल्मे ह्लामा ह्लामा पुस्तक दिन्थ्यो भारी भारी ।
अक्षर अक्षर देख्यो झलझल चाङना सुकुमारी ।
जपना सपना बिपना उसका फुल्न लागे भारी ॥

(७)
झन्‌ झन्‌ बन्दै गयो मैन शरीर उसको सारा ।
अन्धकारले ठाउँ छोड्यो बर्स्यो अमृतधारा ।
जून झैँ शीतल ज्योति निकल्यो मगजबाट सारा ॥

(८)
देख्न लाग्यो चाङना अब रानी लूनी ज्योति ।
भगवान्‌ बुद्ध चन्द्रमा झैँ आकाश बल्ने माथि ।
सारा संसार तिनमा बस्यो ज्योति जस्तो जाति ॥

(९)
आखिर तिनी लूनी रानी सजीव बन्दै गइन्‌ ।
वरिपरि नाच्ने मूर्ति पहिरो हुन गइन्‌ ।
सपनामा मीठा मीठा सन्देश बोल्ने भइन्‌ !

(ड)

(१)
ह्लानो ह्लामा दिन दिन देख्छ
लूनी वैलेकी ।
'शरद्कालको फूल झैँ गल्छिन्‌
छैनन्‌ पहिलेकी !

(२)
आँखा उनका परदेशमा
रोगी गौँथली
चिम्लूँ चिम्लूँ जस्तो गर्छन्‌
चम चम नबली ॥

(३)
केश उनका वैले जस्ता
आकाश लता छन्‌ ।
ओठ उनका पालुवाका
सुक्दा दशा छन्‌ ॥

(४)
काँढा छाडी जाने फूल झैँ
हेर्ने नजरलाई ।
आर्कैतिर फर्के जस्ती
प्रेमको शहरलाई ॥

(५)
हेलम्बूकी डाँफे रानी
बेकार पिँजरा ।
गुलाफ टिप्दा वैले जस्ती
गल्दी बिचरा !

(६)
"के चाहिन्छ तिमीलाई
ह्मेन्दो वन रानी"
ह्लानो सोध्छ जबाफ दिन्छन्‌
आँखाभर पानी ॥
कल्ले बुझ्ने जिन्दगीको
भित्री कहानी ? ॥

(ढ)

(१)
"आज जिन्जी, मलाई 'चाङना'
पारि बोलाउँछ ।
आज जिन्जी, ह्मेन्दो वनमा
फूल फूल डोलाउँछ ॥

(२)
"आज जिन्जी, फूलको घण्टी
कसले बजाउँछ ?
आज जलथल बिजुलीले
कसले झल्काउँछ

(३)
"आज जिन्जी, स्वर्गबाट
बादल छेडेर
सुनको भर्‍याङ सुन खुड्किला
कल्ले लगाउँछ ?

(४)
"आज जिन्जी, चूली चूली
कल्ले रङ्गाउँछ ?
आज कल्ले गुलाफ रङ्गको
जलप लगाउँछ !

(५)
"आज जिन्जी, छाँगा छहरा
कल्ले नचाउँछ ?
आज जिन्जी, सुनको मन्दिर
कल्ले बनाउँछ ?

(६)
"जिन्जी, आज हजार वनको
चरी तारमा झीनो
किरण धनु कस्तो भनूँ
लो को बजाउँछ ?

(७)
"आज जिन्जी, पहाडभरि
फूल को लगाउँछ ?
आज जिन्जी, कल्ले मलाई
पारि बोलाउँछ ?

(८)
पालुवाको ओठले जिन्जी !
बोल्न को आउँछ ?
मेरो पयर हल्का पारी
फूल को बिछाउँछ ?

(९)
"ह्वैन हजूर सुनकी गजुर
हीरा जडेकी ।
खालि जरो रन्की निधार
तन्द्रा परेली ॥"
जिन्जी रुन्थी आँखा भर्दै
घुँक्का निकाली ।
आन्जा हेर्थी लूनी रानी
आँसु खसाली ॥

(ण)

(१)
दोखी दिलको कहानी
ह्मेन्दु वनकी सुनखानी
वैलिजाँदी जवानी
आन्जा' 'जिन्जी' दोटो ।
रच्छन्‌ जालको जाली
बुद्धि आफ्ना घोटी ॥

(२)
आन्जा जान्छे ह्लामा 'ह्लूसिङ्गो' को घर ।
काँचो धागो बेह्रेको सारा वरपर ॥

(३)
'ह्लूसिङ्गो' को बोली मेघले मेट्दैन !
'ह्लूसिङ्गो' को गोली बिजुली भेट्दैन ॥
'ह्लूसिङ्गो' ले हाने के मुटु छोड्दैन ?

(४)
असिनालाई हान्ने, दुश्मन बारीमा ।
वज्र फर्काई फ्याँक्ने सल्लाघारीमा ॥

जसका हातमा भूतका हुन्छन्‌ जगल्टा ।
जसका बोक्सी खान्छन्‌, ताता अगुल्टा ॥
ठूलो झाङ्क्री वनको आई मन्त्रेको ।
मुर्दा कति जिउँथे उल्ले जन्त्रेको ॥

(५)
ह्लासाभरको ह्लामा
जान्ने ह्लूसिङ्गो ।
तासा ह्लामालाई
पत्यार पार्नलाई
छिटो फिलिङ्गो ॥

(६)
आन्जा जान्छे वहाँ कथा सुनाउन ।
प्रेमको विजोग कथा कुरा घुमाउन ॥

(७)
"डाक्टर, वैद्य, धामी
झारफूक सारा हार
हिमाल बूटी ल्यायौँ
ल्यायौँ सागर खार ।
ल्यायौँ [9]ढुङ्गाबाट
कालो पसीना ।
ल्यायौँ सेतो भालु
बोसा मसीना ॥

धूप लगायौँ हाम्ले
मञ्जुश्रीको थान ।
जान्न ह्मे ह्मे ह्लूसिङ्गो
भेद हालेको बान ।

(८)
"उठ्नोस्‌ मे मे ह्लोसिङ्गो
जाऊँ तासी घर ।
हेलम्बूको गुम्बा
पुर्‍याइदिए मात्रै
जान्छ भन्नोस्‌ पीर ॥"

(९)
उठ्यो ह्लामा ह्लोसिङ्गो ।
वज्र फ्याक्ने ह्लोसिङ्गो
भूत उखेल्ने ह्लोसिङ्गो
हिँड्यो तासी घर ।
मकल हाल्यो धूपी
बुरबुर धूलो धूपी
ध्यानको देखाई खूपी
झिक्यो 'ह्मे' 'ह्मे' स्वर ॥

(१०)
"सुन है 'तासी' ह्लामा ।
सुन है 'ह्लानो' ह्लामा ।
लूनी रानीलाई ।

हेलम्बूको गुम्बा
कहालिन्‌को खम्बा
ह्लामा गरी जम्बा
पठाऊ लानलाई ।
नत्र लूनीलाई कोयली आर्को छैन !
नत्र लूनी फूलफूल गल्छिन्‌ बन्दै मैन
नत्र यिनको मनमा हुने छैन छैन ।"

(११)
आए लामा डोले
ल्याम्बो झ्याम्बो डोले
झापन झल्लर खोले
ह्लासा शहरमा ।
आए डोली झापन
'जिन्जी' 'आन्जा' लाई
हेलम्बूको बाटो
पहिलो पहरमा ।

(१२)
लागे लामा डोले
ल्याम्बो झ्याम्बो डोले, ह्लामा उकाली
लहर लहर लामा
किश्ती सरजाम काँधमा उचाली ।

(१३)
लामो लामो बाटो
ढुङ्गा बगरको ।

लामो लामो बाटो
वन र डाँडा छाँगा
पर्वत हाँगा हाँगा
उकाली र ओराली, कराली र भिराली
हेलम्बूको सेर्पा ह्मेन्दु शहरको ।

(१४)
आए डोले ह्लामा
लहर लामा लामा
किश्ती सरजाम केलिन्दीको तीर ।

(१५)
सेर्पा साम्बा सोम्बो
भेट्छ ह्लानो होङ्गो
जुवाइँ मानले ठूलो, झुकाई आफ्नो शिर ।
छोरी रानी लूनी
जून झैँ आकाशमुनि, वैलिएको फूल ।
चिन्ता पीरको कीरा, लागी गुलाफ जरा
मकाएकी मूल ।
पीली पीली रानी, पात झैँ पहेँली ।
बल्ल बल्ल माइती, भित्र पसिन्‌ टलपल
आँखाभरि बन्दै आड ली लहेली ॥

(त)

(१)
क्यान लूनी रानी ? क्यान गलेकी ?
हेलम्बाले सोध्छिन्‌ "त्यस्ती फुलेकी !"

(२)
कठै ! लूनी रानी
धपधप बलेकी ।
पीली पीली पात झैँ
कस्ती वैलेकी ?

(३)
गुलाफ खोइ छोरी !
तिम्रो गालमा ?
रङ्ग वैले जस्ती
साँझको तालमा ।

(४)
कल्ले चोर्‍यो रानी
पानी नानीको ।
बादल झर्छु भन्छ
अँधेर खानीको ।

(५)
कठै मुटुभित्र
काँढा कुन आयो
कस्तो गाँठो पारी
केले समायो ।

(६)
भाँचिएको हाँगा
वैलन मुना झैँ ।
केश तिम्रो झर्छ
पहिलै टुना झैँ ॥

(७)
जलको तालमा हेरी
साँझ झैँ ढल्कन्छ्यौ
तारा बिन्दुकोसमा
लिई झल्कन्छ्यौ ॥

(८)
आँखा भुइँमा खस्छन्‌
पलक ओरालो ।
जीवन बाटो बन्छ
कहाँ भिराली ॥

(९)
कठै लूनी रानी, पैले नबोली
इच्छा तिम्रो हामी

इच्छा तिम्रो हामी
देख्थ्यौँ छिचोली ।
तिम्रो जीवन सुनमा
लेख्थ्यौँ कूचो ली ।

(१०)
आधा गल्दी जून झैँ
आँधी तुषारमा ।
भन, बिग्य्रो रानी
के के सुसारमा ?

(११)
तिम्रो घरको तकिया
कुन रउँ पसेछ ?
तिम्रो बैंसको फूलमा
शूल घुसेछ ॥
तिम्रो आँखाअघि
कुन काक बसेछ ?

(१२)
कुन गन्धले छोयो
तिम्रो खानामा ?
कुन बादलको टुक्रा
तिम्रो गानामा
कुन खिरखिरले छोयो
तिम्रो गानामा ?

(१३)
आँसु कोसले सोध्छौँ
रानी वैलेकी ।
कठै ! कस्ती दुब्ली
छैनौ पैलेकी ॥

(१४)
ह्मेन्दु वनको मिर्गी
भाले खोरको
चुपचापकी बिन्दु
झलझल झरेकी
इतिहासको पाना
दाना गरेकी
जलका आँखा हेर्छिन्‌
जलले भरेकी

(१५)
टलपल भै हेलम्बा
केश मुसार्छिन्‌ ।
जिन्जी भुइँमा झर्दो
केश घुसार्छिन्‌ ।
आन्जा हातले आड दो
मुहार बिचार्छिन्‌ ॥

(१६)
घुँक्क घुँक्क मनको
बोली फुट्दैन ।
आँखा आँखा झर्छन्‌
गाँठो टुट्दैन ।

(१७)
जिन्जी हुन्छिन्‌ पानी
नानी नानीमा ।
आन्जा हुन्छन्‌ जलजल
जलका खानीमा ।
रुन्छिन्‌ रानी हेलम्बा
टलपल पानीमा
चुपचाप झर्छन्‌ दाना
नजर वाणीमा ।

(१८)
दुःखको दिलमा जलजल
बोली बोल्दैन ।
दिलको भाषा झर्छन्‌ ।
खोली खुल्दैन ।
हा हा रानी हेलम्बा ।
हा हा रानी दानी
खोली खुल्दैन ।

(थ)

(१)
कहालिन्‌को भीरमा,
केलिन्दीको तीरमा,
ह्लामा गुम्बा छ ।
ध्यानको खप्पर जस्तो
गोल गोल गुमज ढुङ्गे
नजीके खम्बा छ ॥

(२)
पस्यो सेर्पा साम्बा
केलिन्दीको गुम्बा
छोरी 'लूनी' ली ।
ह्लामा 'ह्लानो' 'होङ्गो'
साथमा लिई सोङ्गो
पस्यो केलिन्‌ गुम्बा
हेरी ढुङ्गे खम्बा
रात छ जुनेली ।

(३)
ध्यानमा थियो 'ह्मे ह्मे'
आँखा चिम्लेको ।
चाङना हेर्थ्यो आँखा
बत्ती जस्तो आँखा
आधा चिम्लेको ॥

(४)
पस्दापस्दै लूनी रानी
लूनी रानी फूलकी खानी
लूनी रानी पानी पानी
डाँको छोडेर
सेर्पा 'चाङना' लाई
अँगालोले हाई !!
छोप्छिन्‌ गएर ।

(५)
'ह्मे ह्मे' लामा आँखा खोल्छ
आँखा तीखो जसको बोल्छ
"केको खलबल यो ?"

(६)
बुझ्छ ह्मे ह्मे तीखो लामा
बुझ्छ ह्मे ह्मे लामा तीखो
तीखो संसार देख्ने ह्लामा
प्रेमको यस्तो मेल हुनामा
उसको देख्ने तीखो आँखा
जलले टलपल भो !

(७)
छक्‌ भै जिल्ली हेर्दो ह्लानो
ह्लानो लामा– [लूनी लाने]
गजब पर्दछ !
'चाङना' सेर्पा आँखा भरभर
जलजल भर्दछ !

(८)
लूनी रानी लहरा झैँ
काँधमा बेह्री बस्छिन्‌ उसको
आँखा झर्दछ !
सेर्पा साङ्गा बाबु सोङ्गो
होशमा फिर्दछ !

(९)
ह्मे ह्मे लामा तीखो लामा
सारा बझ्दछ !
लामा ह्मे ह्मे गम्भीर स्वरले
दुई ओठ खोल्दछ ॥

(१०)
"यी हुन्‌ लूनी लूनी रानी
हेलम्बूकी फूलकी खानी
आँखा भरभर परी पानी
ह्लासा गएकी ।
यो हो 'चाङना' उसको प्रेमी
दिलमा लिएकी ॥

बिहा भन्ने मुटु मुटु
बेली फूल पारी ।
एउटाभित्र आर्को गाँसी
दिनु सिँगारी ।
बुद्ध भगवान्‌ भन्नुहुन्छ
लूनी 'चाङना' की ।
ह्लानो पस्ला केलिन्‌ गुम्बा,
चाङना राख्ला यशको खम्बा,
आर्कैलाई वर्ने दिलकी
ह्लानेको बुद्धि भूलकी भई
लूनी माग्नाको ॥

(११)
ह्लानो लामा गुम्बा पस्यो
चाङना लूनी लिई बस्यो
केलिन्दीको तीरमा ।
नाच, आज सेर्पा सेर्पी
श्यावा श्यावा फुर्की फुर्की
संसारभरमा पिर्ती ठूलो
जीउ हो आखिर चिहान धूलो
उल्टो बाटो छैन भलो
चैनमा पर्छ पीरको पोलो
नाच नाच, झल्‌झल्‌ झल्की
केलिन्दीको जल झैँ टल्की
निर्मल भन्नु सत्‌को बाटो
झूटो रीति बुझ्नु लाटो,

ईश्वर दिन्छन्‌ सत्‌को बाटो
झलो लान्छ भीर ।
नाच आज सेर्पा सेर्पी
कालिन्दीको तीर ।

(द)

गुलाफ अत्तरभन्दा मीठो
सत्‌को मानो सत्‌को पीठो,
बिजुलीभन्दा सत्‌ नै छिटो
श्यावा, श्यावा, श्याब्बो !
गुलाफ जलमा चिन्ता जरो
मखमलभन्दा पाखी धरो
सितारभन्दा वनको चरो
श्यावा ! श्यावा ! श्याब्बो !
सुनको दरबारभन्दा झुप्रो
व्याङचे सानो आलटाल कुप्रो,
तारामण्डल सत्‌को थुप्रो
श्यावा ! श्यावा ! श्याब्बो !
बाहिरी रीति झूटा सारा
दिलको बाटो सत्‌को प्यारा
आखिर सत्‌को सबको चारा
श्यावा ! श्यावा ! श्याब्यो !
धर्मका बन्धन सत्‌का हाम्रा
कालले हुन्छन्‌ झूटा चाम्रा
दिलका बन्धन साह्रै चाम्रा
श्यावा ! श्यावा ! श्याब्बो ।

नरम हातका सुसारभन्दा
खस्रा सत्‌का सुसार राम्रा
कर्‍याङकुरुङ भुवाभन्दा
सेतो सफेद तुषार हाम्रा
श्यावा ! श्यावा ! श्याब्बो !
सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
प्रेमको कथा झल्की ज्वाला
सम्झिँदैमा आइजाला ।
श्यावा ! श्यावा ! श्याब्बो !

॥ इति ॥

महाकवि देवकोटाका केही कृतिहरू

उपन्यास

चम्पा

कथा/कहानी

लक्ष्मी कथासङ्ग्रह

कविता/खण्डकाव्य

कुञ्जिनी कृषिबाला
गाइने गीत दुष्यन्त-शकुन्तला भेट
पुतली
महाकवि देवकोटाका कविता (डा. कुमारबहादुर जोशीद्वारा सम्पादित)
मुनामदन राजकुमार प्रभाकर
रावण-जटायु युद्ध लक्ष्मी गीतिसङ्ग्रह
लक्ष्मी कवितासङ्ग्रह (डा. चूडामणि बन्धुद्वारा सम्पादित)
लूनी सीताहरण
सुनको बिहान ह्मेन्दु

महाकाव्य

पृथ्वीराज चौहान वनकुसुम
शाकुन्तल सुलोचना

नाटक /एकाङ्की

सावित्री-सत्यवान

निबन्ध

दाडिमको रूखनेर (राजेन्द्र सुवेदीद्वारा सम्पादित)
प्रसिद्ध प्रबन्धसङ्ग्र लक्ष्मी निबन्धसङ्ग्रह

समालोचना

स्रष्टा देवकोटा :द्रष्टा परिवेशमा (राजेन्द्र सुवेदीद्वारा सम्पादित)

मुद्रक : साझा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर, फोन ५५२१०२३

  1. एक काल्पनिक जात्रा tournament जस्तो मानो मार दमन भन्ने बौद्धिक
    शब्दको विकृति जस्तो झल्काइएको छ ।
  2. तामाङ नृत्य
  3. तामाङ भाषामा 'फूल' भन्ने अर्थ हुन्छ । यहाँ फूलबारीको नाम ।
  4. ह्नामे= कोयली, चरा ।
  5. आलुबखडा ।
  6. केलिन्दीको तीर
  7. पहेँलो
  8. चन्द्रमा
  9. शिलाजित