Laxmi nibandhasangraha/bhumika
'कभर्ली पत्र'मा मिष्टर आडिसन साहेबले भूमिकाको परिचायक महत्त्वलाई झल्काएर आफ्नो परिचय पाठकलाई दिएको तवरले मैले यो भूमिका लेख्ने काम गर्नु मलाई ठीक लागेन । कारण, मेरो परिचय मेरै प्रबन्धहरूले साफसँग त्यस पाठकलाई दिनेछन्, जो सच्चा श्रद्धाको आँखा लगाएर तिनलाई पंक्तिका बीचबीचमा पढ्नेछ ।
यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक लिएर चहकिला बनेका होलान् कि भन्ने आशा राखेको छु । कहीं म प्रबन्धमित्र आफैं घुसेको छु– व्यक्तित्वको रङ रँगाएर आफूलाई चिन्न तथा चिनाउनको लागि । कहीं आफू अलग्ग बनेर प्रकृतिको र जगजीवनको नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु । यहाँ वर्णन पाइने छन्– चित्रात्मक वर्णनहरू– जहाँ गद्यचित्रकार बनेर रङ र छायाद्वारा वस्तु प्रतिबिम्बको कलामा अग्रसर पाइनेछ । पाइनेछन् यहाँ समालोचना पनि– जहाँ मानवबुद्धि अरूका कृतिउपर आफ्नो विवेकशक्तिलाई लहडी आनन्दका समयमा तिखार्छ । यहाँ गफ पनि छन् जसको आत्म-अनुभवलाई रसिलो रङिलो बनाएर, बढाएर वा घटाएर समेत श्रोतृवर्गका सामुन्ने रुचिकर बनाउन र अल्सी समयलाई रमाइलो बनाउनु हो । यी प्रबन्धमा म कविजस्तो केही मात्रामा देखिन्छु, किनकि कवितात्मक कल्पना- प्राचुर्य र कविताशक्ति धेरै ठाउँमा स्पष्टतया झल्किरहेका होलान् । मर्दगद्य लेख्न अरूहरू आउनेछन् तर यहाँ शायद पोथी-गुण होला– एक किसिमको रङ्गीचङ्गीपन मनपर्ने सजीव कोमलता जो बौद्धिक शक्तिहरूसँग भन्दा हार्दिक कोमलतासँग सम्बन्ध राख्तछ । मैले 'श्रीगणेशाय नमः' मा नै भनिसकेको छु रौंचिरा दर्शन होइन; न हो पाण्डित्य-दर्शनको ठ्यासफु ! यसमा गृहीत विषयलाई सर्वदृष्टिकोण समीक्षणको जरूरत छैन । यो एक किसिमको धूर्त बदमाश ठिटो हो– जो सडकमा हिंड्दा कहिले- कहिले ढुङ्गा हान्छ, कतै-कतै आनन्दले फुलेर हेर्दछ, तर घोरिदैन-पाठघोकुवा, 'हलन्ते'को मिजाजले । यो एक किसिमको मनको जालीले जगत्मा लहडी माछा मार्ने कला हो । यो टेबिल-गफ हो, चश्मादार अध्यापकको व्याख्यान होइन, न त वमन-वेदान्त । यसमा ठर्रोपना हुँदैन, यो लच्किन्छ र घनिष्ठतातिर ओर्लिन्छ । चुरोट खाँदै साथीभाइसँग चुट्किलो जेहेन देखाउने ताश गञ्जिफा गफजस्तो यो प्रबन्ध हलुका क्षणको शृङ्गार हो । रमरम बुद्धि मात्रको दावा राख्तछ । यो मूर्ख हुनुमा घिनाउँदैन यदि मूर्खतामा पनि एक किसिमको साहित्यक रस भरिएर विनोदकारी बनोस् ।
यस किसिमको रचना नेपालीमा प्रचलित नभएकोले मैले यसतर्फ हातको कुतकुती नोकदार कलमले चुट्किलो तवरसँग मार्ने एउटा मीठो प्रयत्न गर्न खोजेको हुँ । म कति मात्रामा सफल बनेको छु, त्यो ता पाठकवर्गको युग-युगको समालोचनाले अन्दाज दिंदै जाला, तर म हरएक दिन आफूसँग मीठो गफ गर्दै तृप्त भएको थिएँ– त्यस ठाउँमा जहाँ चिसो मेचमा ठण्डा कलम कोरेर मानिसहरू साहित्य लेख्ने गर्दछन्– याने भाषानुवाद-परिषद् अड्डामा । तर यी विषय अड्डाका थिएनन्, म स्वतन्त्रताको बगदादी कारपेटमा बसेर प्रबन्धरानीलाई हावामा उडाइरहेको थिएँ । अनुभवबाट अतीत तथा वर्तमान मैले छानवीन गर्दै रसिला चीजहरूको नाश्ता बनाएँ- या चमेना- अल्छी कोठरीमा हलुका पाठकवर्गका डफ्फा बोलाएँ– केही छैन सादा आलु-तामा ।
लक्ष्मीप्रसाद