Lalitya bhag 1 ra 2/surya mahima
(१)
जय जगदीश्वर ! मङ्गलकारी !
जय जय दिनकर ! कल्मषहारी !
उज्ज्वल प्रभुको मण्डल-भित्र ।
पूर्ण छ जीवन-शक्ति पवित्र ॥
(२)
प्रभुको झलमल किरणाऽऽलोक
पाइ चराऽचर यो सब लोक ।
जीवन-जागृति-रमिता गर्छ
त्यो यदि नमिलोस् पलमा मर्छ ॥
(३)
सप्त ग्रह छन् घोडा, काल-
फनफन घुम्दो चक्र विशाल ।
नित्य सुवर्णद्युतिमय रथमा
यात्रा प्रभु अम्बरपथमा ॥
(४)
रङ्ग बदल्दै दुनियाँभरको
दिन, ऋतु, महिना, संवत्सरको ।
चक्र निरन्तर प्रभुका भरमा
घुम्दछ फनफन दुर्गम सुरमा ॥
(५)
ऋषि, मुनि, हाम्रा ऋक्, यजु, साम
वेदत्रयको उज्ज्वल धाम ।
प्रभुकन जानी साँझबिहान
निश्चल गर्छन् घटमा ध्यान ॥
(६)
नीलो नभोमय सरमा भारी
राजहंसको लीला धारी ।
खेलिरहेको जुग-जुग-सम्म
प्रभुको महिमा अगम अचम्म ॥
(७)
सृष्टि-स्थिति-लय-लीलाकारी
ब्रह्मा, विष्णु त्रिपुरसंहारी
तीन देवको चित्र चरित्र
गुप्त छ प्रभुकै महिमा-भित्र ॥
(८)
धपधप बल्दो गोलाऽऽकार
प्रभुको मण्डल पारावार ।
जसका लाखन रश्मि-तरङ्ग
सबतिर छर्छन् अद्भुत रङ्ग ॥
(९)
प्रभुको मण्डल ज्योतिष्कोश
पर्दछ टाढा लाखन कोस ।
तैपनि हामी ज्योतिर्धारा-
सम्पति भोग्छौँ घर घर सारा ॥
(१०)
धमिलो भ्रम वा तम पर सारी
जीव-जगत्को नजर उघारी ।
गरने सब यो विश्व-विकास
प्रभु नभए को लेला सास ?
(११)
प्रभु-विन न त यो चल्दछ सृष्टि
खुल्दछ न त यो चेतनदृष्टि ।
अब कुन अर्को ईश्वर जानी
उसको म बनूँ भक्त ज्ञानी ॥