Lalitya bhag 1 ra 2/shiva panchashika
(१)
जय शङ्कर ! चन्द्रशेखर !
जय शम्भो ! भगवन् ! महेश्वर !
प्रभुको महिमा विचित्र छ
जसमा यो सब सृष्टि-चित्र छ ।
(२)
भगवन् ! भवभीति-भञ्जन
जगदीशान ! दयानिकेतन !
प्रभु चिन्मय पूर्ण सागर
भव-सत्ता लहरी-बराबर ॥
(३)
अथवा नभमा थरी थरी
स्फुरणा वा परिपञ्च-माधुरी ।
जुन फुर्दछ नाथ ! त्यो सब
प्रभुको हो प्रिय ताण्डवोत्सव ॥
(४)
प्रभुकै उस नृत्यमा फसी
रवि, तारा, ग्रह, मेदिनी, शशी ।
गगनाऽऽत्मक रङ्गमञ्चमा
सब नाच्छन् विविध प्रपञ्चमा ॥
(५)
चतुराऽऽनन, विष्णु, वासव,
यम यक्षाऽऽदिक देवता सब ।
प्रभुको उस नृत्य-रङ्गमा
सब छन् मस्त बडो उमङ्गमा ॥
(६)
नभमा नटराज ! शोभन
जब मिल्किन्छ ठुलो गजाजिन ।
प्रभुको अनि चल्छ ताण्डव
सब भन्छन् तर त्यो कहाँ ? कब ?
(७)
कुन त्यो विभुको गजाजिन
किन याँकिन्छ र हुन्छ नर्तन ।
अति गूढ रहस्य नाथको
गति पुग्थ्यो कसरी अनाथको ?
(८)
प्रभुको जुन विश्वरूप हो
उसको गैह्र निरूपणा अहो !!
विधिले तक गर्न सम्झन
कठिनै पर्दछ भूतभावन !
(९)
श्रुतिशास्त्र सबै थरी थरी
तरिकाबाट विवेचना गरी ।
नमिली उस रूपको पता
कहँदै छन् प्रभुको अनन्तता ॥
(१०)
शरणाऽऽगत छू, अनन्तमा
डुबनेछैन समर्थता ममा ।
मनमाफिक गर्दछु स्तुति
अरु जस्तै भगवन् ! यथामति ॥
(११)
चितिशक्तिमयी महेश्वरी
प्रणयाऽऽऽलिङ्गन-रङ्गमा परी ।
प्रभुमा समभाव धर्दछिन्
परमाऽऽनन्द-विहार गर्दछिन् ॥
(१२)
तपको र विवाहको कथा
उस अर्धाऽसनको मिठो कथा ।
परमेश्वर ! धन्य मान्दछु
तर त्यो रूपक-रूप ठान्दछु ॥
(१३)
ससुरा गिरिराज सुन्दर
गिरिराजै छ निवास-मन्दिर !!
गिरिजा गृहिणी, गिरीशकी
यसमा नाथ ! रहस्य क्यै छ कि ?
(१४)
भुवनै प्रलयाऽऽग्निमा परी
डढदा भस्म बनेर बेसरी
प्रभु शून्य मशानमा बसी-
रहने दुर्धर भस्म त्यो घसी ॥
(१५)
उस घोर मशान-वासको
उस एकाम्मय अट्टहासको ।
महिमा उहि जान्न सक्तछ
प्रभुमा जो लवलीन भक्त छ ॥
(१६)
परमेश्वर भूतिभूषण !
उस वेला कुन भूतको गण ।
प्रभुका सँगमा रमाउँछ
मन यस्मा अति चक्कराउँछ ॥
(१७)
लय-साथ रहन्छ सिर्जना
लय छोडी कुन सृष्टि-कल्पना ?
लय-कारण गूढ तत्त्व छ
शिव ! जस्मा प्रभुको शिवत्व छ ॥
(१८)
अरुमा वृष चढ्छ भीषण
प्रभुको त्यो वृषमा नियन्त्रण ।
वृषवाहन ! दिव्य यो कला
नबुझी को भयबाट उम्कला ?॥
(१९)
वृष बादल हो कि ? धर्म हो ?
बयलै हो कि ? विशिष्ट कर्म हो ?
नबुझी सब तारतम्य यो
वय मेरो बहँदै बिदा भयो ।
(२०)
झलमल्ल सुमेरुको उता
उस कैलास गिरीन्द्रको पता ।
जुन धीर यथार्थ पाउला
उसलाई कुन कष्ट आउला ॥
(२१)
जगदीश ! सुमेरु त्यो कहाँ ?
फिर कैलास दुरन्त त्यो कहाँ ?
अलमल्ल सबै अहो ! किन ?
कब होला झलमल्ल जीवन ?
(२२)
मनको भुमरो हलुङ्कसी
प्रभुका पादसरोजमा पसी ।
पिउँदै मकरन्द मस्त भै
कहिले प्यास बुझाउला सबै ?
(२३)
पद-पङ्कजकै रजःकण
प्रभुका प्राप्त भयो र रावण ।
त्रिजगद्विजयी पनी भए
प्रभुकै पार्षद मुख्य मानिए ॥
(२४)
सनकाऽऽदि महर्षि नाथको
गुणगाथा दृढ भक्ति-साथको ।
लवलीन भएर गाउँदै
घुमदै छन् कृतकृत्यता लिँदै ॥
(२५)
नखदेखि अहो !! शिखातक
प्रभुको भेष र भूषणाऽऽदिक ।
जगदीश ! छ विश्ववन्दित
सब लोकोत्तर सारगर्भित ॥
(२६)
भय-भावक-भाव-भासुर
प्रभुका कम्मरको बगम्बर ।
परमेश्वर ! गर्छ पावन
उस मायापटको निदर्शन ॥
(२७)
दुइ बाहुलिको दयामय !
दुइ मुद्रा प्रभुको वराऽभय ।
शरणाऽऽगत भक्त-खातिर
अविनाशी सुखकान्ति-निर्झर ॥
(२८)
भयभञ्जन ! त्यो त्रिशूलको
बुझने वास्तव गूढ मूल को ?
जसमा फुलको थुँगासरि
लयमा अड्दछ 'काशिका'-पुरी ॥
(२९)
करमा जुन त्यो कपाल छ
उसमा तत्त्व कुनै विशाल छ ।
त्यहिँ पो छ कि भाग्यजालको
लिपि-माला सबका कपालको ?
(३०)
हरमा हर ! काममर्दन !
जुन त्यो हुन्छ विभूति-मर्दन ।
उसमा प्रभुको असङ्गता-
समताको महिमा जतातता ॥
(३१)
विकराल भुजङ्ग फन्फनी
विषले नील गलाविषे पनि ।
किन नाथ ! लपेटनूभयो
बुझने को अति गूढ तत्त्व यो ?
(३२)
अहहा ! विषपानको कथा
मनमा भर्दछ संशय-व्यथा ।
अरुका श्रमको सुधा फल
प्रभुलाई किन त्यो हलाहल ?
(३३)
अथवा अरुका निमित्तमा
विष-बाधा पनि भित्र चित्तमा ।
तृणतुल्य गनोस् भनीकन
दिनुभो नाथ ! ठुलो निदर्शन ॥
(३४)
भुवनै दहने कडा विष
वशमा भो कुन धारणा-वश ।
शितिकण्ठ ! निगूढ यो कला
कहिले बालक भक्त सम्झला ॥
(३५)
वदन-द्युति विश्वमोहिनी
स्मितले विस्मित गर्छ चाँदनी ।
उसभित्र जती डुबे पनि
मन फिर्दैन कसै पुग्यो भनी ॥
(३६)
नयन प्रभुका ललाटको
स्मरको कारण बिल्लिबाठको ।
नाचिह्नी अरु योग-साधना
जगदीशान ! सबै विडम्बना ॥
(३७)
शशिशेखर ! नाथ ! नाथको
जुन अर्धेन्दु-कला छ माथको ।
उसको सुषमा सुधामय
सबमा भर्दछ जीवनोदय ॥
(३८)
नयनऽग्नि-शिखा छ त्यो तल
उसमाथी शशिखण्ड शीतल ।
दुइ तत्त्व विरुद्ध हुन्, तर
अविरोधी प्रभुमा परस्पर ॥
(३९)
त्यसरी शिरमा विलक्षण-
स्थितिमा अग्नि र सोम धारण ।
गरने जुन शक्ति सत्त्व हो
प्रभुको त्यै त महेश्वरत्व हो ॥
(४०)
जसका द्युतिको अगिल्तिर
शरमाएर झुकाउँदै शिर ।
जगदीश्वर ! वैद्युती छटा
धमिलो बन्दछ धन्य त्यो जटा ॥
(४१)
स्फुरणास्फुटता अथाह त्यो
अथवा दिव्य जटा-कटाह त्यो ।
गमको छ गिरीश । दुर्गम
गमभन्दा बढिया नमो नमः ॥
(४२)
मुकुटाऽकृति त्यै जटामहाँ
फिर गङ्गा जननी कहाँ कहाँ ।
बहँदी जगदेकमङ्गला
हर ! गङ्गाधर ! धन्य त्यो कला ॥
(४३)
जगदीश ! जटा र जाह्नवी
दुइको दिव्य दुरन्त त्यो छवि ।
दिलमा झलमल्ल भो जब
अनि यो विश्व सबै शिवै-शिव ॥
(४४)
डिमि डिम् डिमि डिम् गरीकन
मुटुको धड्कन भित्र पावन ।
डमरु प्रभुको बज्यो जब
अनि शम्भो ! सब यो शिवै-शिव ॥
(४५)
त्रिगुणाऽऽत्मक चित्त हो सब
तिनपत्रे प्रिय विल्व वास्तव ।
प्रभुको पदमा खुशीसित
शिव ! गर्छू अब यो समर्पित ॥
(४६)
जय विश्वविकास-कारक !
जय मृत्युञ्जय ! मृत्युवारक !
मनमा नरहोस् दयामय !
अब मेरो जनि-मृत्युको भय ॥
(४७)
दिलबाट अनाथ दासको
भय मृत्युञ्जय ! मृत्यु-पाशको ।
नहरी प्रभुको कहाँ ? कव ?
कुन मृत्युञ्जय नाम-गौरव ॥
(४८)
त्रिपुराऽऽन्तक ! नाम नाथको
त्रिपुरै बन्धन यो अनाथको ।
भगवन् ! किन यो नतोडने
प्रभुकै भक्त म बद्ध छू भने ॥
(४९)
ममतामय भङ्ग यो घना
धतुरो मुख्य नाश 'अहम्' पना ।
उपहार दुवै खडा गरेँ
जगदीशान ! म पाउमा परेँ ॥
(५०)
जय नाथ ! शरण्य ! शङ्कर !
जय शम्भो ! शिव ! चन्द्रशेखर !
शरणाऽऽगत 'लेखनाथ' को
प्रभु-बाहेक कहाँ छ नाथ को ?
॥ इति शिवपञ्चाशिका समाप्त ॥