Lalitya bhag 1 ra 2/sharashayyama ladeka bhishmapitamahale gareko shrikrishna stuti
(१)
अब मति सब यो वितृष्ण गर्छु
विभु भगवान् यदुनाथमा म धर्छु ।
प्रकृतिसित हुँदा कुनै विहार-
जुन विभुको सब सृष्टि भो तयार ॥
(२)
रवि-कर सरि गौर वस्त्रधारी
त्रिभुवन-मोहन, शामलो तयारी ।
मुख पनि अलकाऽऽवली खुलेको
नरहरिमा मन होस सधैँ भुलेको ॥
(३)
मुख सब रण-रङ्गमा उडेको
रज पसिनामय केशले खुलेको ।
कवच-बिच मदीय बाण खास
गडि अति घायल कृष्णको म दास ॥
(४)
रथ लगि दुइ सैन्य बीच पारी
सुनि सब अर्जुनका कुरा विचारी ।
रिपुतिर दिइ नेत्र, आयु उन्को
सब हरने हरिमा छ भाव मन्को ॥
(५)
बुझि रिपुदल बन्धुले भरेको
वध नगरूँ भनि पापमा डरेको ।
विजयकन बताइ तत्त्व सारा
भ्रम हरने हरिको पर्दै सहारा ॥
(६)
निज कबुल भुली कबूल मेरै
सफल गरी रथ छोडि उत्तिखेरै ।
गजतिर हरि झैँ मतर्फ बढ्दो
कर-बिच चक्र छ, वस्त्र हर्र उड्दो ॥
(७)
शित शर छुटि घातकी मबाट
कवच फुटि चुहि रक्त अङ्गबाट
उसरि मकन मार्नमा सतृष्ण
शरण खडा हुनुहुन्छ नाथ कृष्ण ॥
(८)
सितहय रथ-सारथि प्रधान
भइ लिइ चाबुक वाग शोभमान ।
हरिबिच रति होस् म मर्छु, भक्त-
जुन हरि हेरि मरी भए विमुक्त ॥
(९)
मधुर गति, विलास, हास, केलि,
प्रणय-विलोकन पाइ मस्त खेली ।
गरि अनुकरणै मदाऽन्ध सारा
ब्रजरमणी जसमा मिले पियारा ॥
(१०)
गरि मुनि-नृप-वर्गले विशेष-
खचित युधिष्ठिर-यज्ञमा प्रवेश ।
खुशिसित अधिबाट पूज्यमान
प्रकट यहीँ भगवान् विराजमान ॥
(११)
रचिकन सब जीव ई यथेष्ट
घट-घटमा रवि झैँ स्वयं प्रविष्ट ।
यदुपति विभुमा म हुन्छु लीन
भइ भय भेद र मोहले विहीन ॥