Jump to content

Lalitya bhag 1 ra 2/santwana

From Nepali Proofreaders
सान्त्वना

(१)
हे देवी ! मातृभाषा ! यसरि किन तिमी गर्दछ्यौ घोर शोक
बिन्ती मेरो छ तिम्रा चरणकमलमा, शोकको वेग रोक ।
जत्ति देखाउँछ्यौ त्यो मसित तिमि यहाँ आफनू दर्द बाधा
उत्ती काटिन्छ मेरो हृदय जिउ सबै हुन्छ तत्काल आधा ॥

(२)
हामी हौँ गोरखाली सकल, तिमि पनी गोरखा-मातृभाषा
तिम्रो हाम्रो बिछट्टै दृढ मिलन भएको छ सम्बन्ध खासा ।
मर्यादा फालि तिम्रो भुवनभर कतै छैन कल्याण हाम्रो
जानेको छू सबै यो, तर विधिगतिले पर्न आयो नराम्रो ॥

(३)
मौकामा मातृभाषा-उपर जति-जति गर्दछौँ हामि हेला
उत्ती पर्छौँ पछाडी जटिल विपदको सामने गैह्र फेला ।
चाँडै तातौँ सुधारौँ सकल जन मिली आफनू पाठ्‌यशैली
भन्ने यो मेल हामीहरुसित नहुँदा देखियो देवि ! मैली ॥

(४)
अङ्ग्रेजीमा कसैको प्रणय-रस, कुनै बङ्गला-संस्कृतज्ञ
हिन्दीमा मस्त कोही चतुर, कति महाजङ्गली मूर्ख अज्ञ ।
यस्तोमा एक दोटा पिलिपिलि गरिने जुन्किरीबाट खालि
सौभाग्याऽऽकाश तिम्रो कसरि सहजमा हुन्छ त्यो कान्तिमाली ॥

(५)
तिम्रो सेवा गरौँला, भरसक जननी ! दुःख तिम्रो हरौँला
पाऊ तिम्रै परौँला, हरतरह गरी कोष तिम्रो भरौँला ।
भन्ने ताना लिँदैमा सकल जिउ सुक्यो, जिन्दगी भो बिकामी
पत्ता लागेन केही, अब शिव ! शिव ! हा !! के गरौँ यत्न हामी ॥

(६)
विश्वव्यापी नराम्रो हृदय चरचरी चीरने आर्तनाद
सुन्दामा आज तिम्रो पशु पनि मनमा लिन्छ केही विषाद ।
हे देवी ! मातृभाषा ! शिव ! शिव ! उसको लेखनू के बयान
पैले नै धैर्य छोडी जड कलम पनी रुन्छ यो सत्य जान ॥

(७)
हे देवी ! बन्धु हाम्रा सकल दृढ गलेबन्दले कान ढाकी
आनन्दैमा लडेका छन अधिक मिठो मोहको स्वप्न डाकी ।
चिच्च्याई व्यर्थ रुन्छ्यौ किन तिमि ? उनका कानमा यो बतास
पक्का पर्दै छ तिम्रो, हृदय गर कडा, धैर्यलाई ननाश ॥

(८)
लाखौँ मानी धनी छन्‌, फिर कविहरुको पूर्ण देखिन्छ गिन्ती
हे देवी ! लाउँदी छौ तिमि पनि सबका पाउमा नित्य बिन्ती ।
केले हो तैपनि यो दिन दिन बढदो दर्द तिम्रो छ यस्तो
यो देखी दङ्ग पर्छू प्रतिदिन म, अहो !! कर्मको खेल कस्तो ?

(९)
हे देवी ! सत्य भन्छू, जटिल कुदिनमा जन्म तिम्रो भएछ
साँचै नै भाग्य-रेखा अलिकति बिचमा खुम्चिएकै रहेछ ।
यो केही पुर्पुराको अडचन नभएदेखि तिम्रो पुकार
तेसै खाली हावा भै कसरि गगनमा मिल्दथ्यो वार वार ॥

(१०)
कोही अन्धा, कसैका वर वर सुनने कान निष्पट्ट बैह्रा
कोही लाटा, कसैका उदरमय महागर्तमा नित्य पैह्रा ।
हाम्रै चाला छ यस्तो तिमिकन जननी ! के गरौँला सहाय
के देखी व्यर्थ रुन्छ्यौ यसरि छिनछिनै कल्पँदै हाय ! हाय ! ॥

(११)
वासै तिम्रो छ देवी ! गहन वनविषे, छौ तिमी निःसहाया
प्रेमी तिम्रा भिखारी सब, अरु तिमिमा कोहि गर्दैन माया ।
यस्तामा होइजाऊँ झटपट म पनी नागरी झैँ उज्याली
भन्ने तिम्रो दुराशा सुखमय सपना-तुल्य देखिन्छ खालि ॥

(१२)
हिन्दी, उर्दू, मराठी, तदनु, गुरुमुखी, गुर्जरी, बङ्गलाको
देखी सौन्दर्य शोभा झकमक गरने रत्नशाली गलाको ।
तिम्रो त्यो फूटदो हो हृदय पटपटी, जान्दछू यो म सारा
जानी के हुन्छ देवी ! फगत जमिनमा पोख्दछू अश्रुधारा ॥

(१३)
हे देवी ! जे भए तापनि हृदय कडा वज्र जस्तै गराई
दिग्दारी दूर सारी बस तिमि चुप भै धैर्यलाई समाई ।
गर्दै छौँ हेर हामी अझ पनि दिनहूँ यत्न तिम्रा निमित्त
औताई व्यर्थ रोई किन तिमि यसरी पार्दछ्यौ खिन्न चित्त ॥

(१४)
बिस्तारै खोल आँखा, उदय-गिरि-विषे पूर्ण शोभा लिएर
निस्केका चन्द्रमाका सरस किरणको माधुरीतर्फ हेर ।
ज्यादा पर्दैन बाधा अब तिमिकन त्यो, मिल्छ चाँडै प्रकाश
[1]यो पक्का जान छोटो मन गरि यसरी धैर्यलाई ननाश ॥

  1. (यो कविता कुन अवस्थामा लेखिएको थियो सो कुरा मर्मज्ञ पाठकवर्गको विचाराधीन छ, यो गोर्खाली पत्रिकामा छापिएको पनि हो । -लेखक )