Jump to content

Lalitya bhag 1 ra 2/sandhya

From Nepali Proofreaders
सन्ध्या

(१)
विस्तीर्ण कर्मपथका सब जीवलाई
विश्रान्तिको प्रबल उत्सुकता दिलाई ।
अस्ताद्रिका शिखरमाथि पुगे दिनेश
पल्ट्यो सबै प्रकृतिको महिमा विशेष ॥

(२)
विस्तारसाथ दिन दीन भएर आयो
पूर्ण प्रभापटल-सार सबै हरायो ।
झल्कीरहेछ सब पश्चिमतर्फ खालि
आश्चर्यको भवन-तुल्य अपूर्व लाली ॥

(३)
जस्तो थियो उदायम रविको प्रकाश
उस्तै छ रक्त अहिले पनि एकनास ।
देखेर यो हृदयले अभिमानलाई
तत्काल गर्छ अनुशासन जानलाई ॥

(४)
खैँची प्रताप-परिपूर्ण कर-प्रसार
छोडी सबै गगनमण्डलको विहार ।
श्रीसूर्यले मलिन भाव लिएर जानु
स्पष्टै कहन्छ कुन वस्तु छ साथ लानु ॥

(५)
मेरो पर्यो दिनभरी सबमा प्रताप
भन्ने यही हृदयभित्र चढेर ताप ।
पोल्दा कठै !! सकल चित्त जलेर चित्र
लागे कि ? रक्त रवि डूबन सिन्धुभित्र ॥

(६)
हे उच्च ! धीर ! तुहिनाऽचल ! लौन तान
डूबेँ यसै जलधिमा म झिजो नमान ।
भन्दै विपन्न रविले करले अँगालो-
हाले कि ? हेर अझ शैल छ त्यो उज्यालो ॥

(७)
हावा-समान रथमा छन सात घोडा
आफू सहस्रकर मित्र बडा अजोडा
धिक्कार दैवगति !! तैपनि हाय ! हाय !!
सोझै गिरे जलधिमा रवि निःसहाय ॥

(८)
यद्‌ वा सराग रवि रक्त यही पियारी
सन्ध्या-वधूकन लिई चरमाद्रिऽपारि ।
लागे विहारकन गर्न अनेक भाँति -
पारी यतातिर तमोमय दीर्घ राती ॥

(९)
रात्री सधैँ परपरै, बुढिया दिनश्री
के गर्दथे रवि तहाँ वसुको इतिश्री ।
सन्ध्यासँगै भुलिरहेछन ती अवश्य ।
फैलाइ रङ्गरसको गहिरो रहस्य ||

(१०)
त्यै रङ्ग-रञ्जित पयोधर-खण्ड खास
झल्कीरहेछ मनमोहन एकनास ।
मानू स्वयम्‌ प्रकृति-निर्मित दिव्य नौला
सोपान झैँ सुरपुरी-पथको सुनौला ॥

(११)
सिन्दूर झैँ चहकिलो परि त्यो प्रकाश
अस्ताद्रिका उपरको गगनाऽवकाश ।
सन्ध्यामयी रमणिको रमणीय भारी
सारी-समान झलकन्छ सफा तयारी ॥

(१२)
सन्ध्या-वधू क्षणिक त्यो उसमाथि ज्यादा
फैलाइ राग रवि अस्त भएर जाँदा ।
सोझी सती कमलिनी हुन गै भरङ्ग
मालिन्यको छ उसमा चढदो तरङ्ग ॥

(१३)
कालो कडा भ्रमर-रूप घुसेर आँधी
हल्लाउँदा हृदय खिन्न भएर ज्यादी ।
सङ्कोच-साथ करुण स्वर त्यो निकाली
हूँ हूँ गरी कमलिनी रुन थालिहाली ॥

(१४)
यस्ती यता कमलिनी यतिसम्म दिक्क
हाँसी उता सरस कैरविणी मुसुक्क ।
एकै तडाग-बिच ऊलटफेर यस्तो
देख्यौ कि ? दैवगतिको महिमा छ कस्तो ॥

(१५)
देखेर यो प्रकृतिको गहिरो झुकाव
पैदा हुँदा विविध कौतुकपूर्ण भाव ।
पक्षीहरू तरुविषे बसि ठाउँ ठाउँ
लाखौँ थरी गरिरहेछन च्याउँच्याउँ ॥

(१६)
यद्‌ वा सरासर गए ति पतङ्ग बन्धु
हाम्रो अहो ! कसरि तर्छन घोर सिन्धु !
भन्ने यही बहस-खातिर बेर बेर
थाल्यो कि ? बोलन विहङ्गम-वर्ग हेर ॥

(१७)
गोपाल-बाल सरलाऽऽशय केलिरागी
गोल्याइ गाइ बटुलेर पछाडि लागि ।
आए सहर्ष घरमा सब हाँसखेल
गर्दै बडो प्रणयपूर्वक राखि मेल ॥

(१८)
बाँ बाँ गरी पुछर केहि खडा गराई
उफ्री प्रमोद-वश खूब धुलो उडाई ।
चिल्ला महामधुर कोह्रलि गाइ हेर
उफ्रीरहेछन खुशीसित गोठ-नेर ॥

(१९)
लैना ठुला पृथुलदोहन-भार गाई
ढल्की ढलक्क परबाट चरेर आई ।
खोजी कराइकन बालक वत्सलाई
लागे सबै दुध पिलाउन हत्पताई ॥

(२०)
बाच्छो यता अधिक तान्दछ दुग्धपूर
गोपाल गर्दछ उतातिर धारधूर ।
गाई तथापि अति निश्चल शान्तिपात्र
चाटीरहन्छिन खुशीसित वत्स मात्र ॥

(२१)
यस्तो थियो, यति गर्यौँ अब यो गरे त
सप्रन्छ यो समयको यतिसम्म खेत ।
भन्दै किसानगण त्यो गरदै हिसाब
फर्क्यो सहर्ष घरमा सरल-स्वभाव ॥

(२२)
श्रीखण्डशीतल ! मनोहर ! बाबु ! प्यारा !
आऊ भनी प्रणयले गरदै इशारा ।
कोही किसान-गृहिणी घरमा पुगेर
लागे अपत्यमुख चुम्बन गर्न हेर ॥

(२३)
आमा ! भनी छिनछिनै घरबाट ज्यादा
बोलाउँदा तनयले जिउ पारि आधा ।
भन्छे कुनै अलि परै पथबाट प्यारा !
आईपुगेँ नगर धेर तिमी पुकारा ॥

(२४)
त्यो बाल-वाक्य अति खायसको निवास
त्यो प्रेमपूर्ण जननी-वचन-प्रकाश ।
मानू सुधाजलधिका दुइटा तरङ्ग
एकै बने पलकमा लिइ दिव्य रङ्ग ॥

(२५)
बिच्छ्याइ चर्म, कुश, कम्बल भस्म धारी
मारी पलेटि हृदयाऽम्बुज शुद्ध पारी ।
सन्ध्याऽभिवन्दन-परायण विप्र-वर्ग
सम्झाइदिन्छ मुनिमण्डित आदि सर्ग ॥

(२६)
टाढा दिनेश, उनको परिँदैन फेला
शीतांऽशुको उदयलाई हुँदै छ वेला ।
मौका मिल्यो असल यो अब जुन्किरीको
सेखी सखाब गरने कुन ? माधुरीको ॥

(२७)
ताराहरू पिलिपिली दुइ-चार मात्र
सत्पात्र-तुल्य कलिका, कृश दैन्यपात्र ।
निस्के, परन्तु तिनको रति छैन भाउ
हेरी लिँदा फगत जुन्किरिकै छ दाउ ॥

(२८)
साम्राज्य भो गगनमा अब खास मेरो
भन्ने लिएर मनमा छिचरो चमेरो ।
नाचीरहेछ बलमाफिक वेग मारी
छाता सरी अजिन-पक्ष दुवै फिँजारी ॥

(२९)
नासो-समान रविको परिताप-माला
सल्केर कोकवनितामनलाइ हाला ।
पारीदियो अब कतातिर जाँ ? भनेर
रुन्छे बिचेत बिचरी निजनाथ-नेर ॥

(३०)
पक्षी ठुलो हुचिल-नामक त्यो प्रसन्न
घन्काइ घोर पहराहरु घन्न-घन्न ।
पैशाचिक प्रबल ढोल-समान बोली
बोलीरहेछ भयभावन कण्ठ खोली ॥

(३१)
बासा बसे सकल, शून्य भनी मुलूक
को रोकने अब मलाइ भनी उलूक ।
फुर्ती झिकेर डरका घर-तुल्य आँखा
थाल्यो घुमाउन बनी बहुतै चनाखा ॥

(३२)
ठाडो गरी शिर शिखाबलको बथान
गर्दै सकौतुक सबैतिर दृष्टि-दान ।
खोजी गरूँ मिहिरमण्डलको भनेर
लाग्यो कि ? हेरन ठुलो रुखमा चढेर ॥

(३३)
पारी सबै गगनमण्डल नाट्यशाला
नक्षत्र-हार पहिरीकन रात्रि-बाला ।
आँटी अवश्य अब खेलन केहि काल
पर्दा गिर्यो तिरमिरे छविको विशाल ॥

(३४)
एकै थिए अघि अनन्त सबै पदार्थ
झल्काउने रवि महाकवि झैँ यथार्थ ।
बत्तीहरू घरघरै अब सोहि काम
गर्छौँ भनी जलिरहेछन धूमधाम ॥[1]

  1. यो कविता १९८० सालमा नेपाली चौथो पुस्तकमा छाप्नलाई लेखिएको हो । -लेखक