Jump to content

Lalitya bhag 1 ra 2/rastrako jagriti

From Nepali Proofreaders
राष्ट्रको जागृति

(१)
लङ्कामा अघि कुम्भकर्ण बलियो पूरा छ मैह्ना सुती
उठ्थ्यो रे मुटुमा कडा विषयको लाग्दा कुनै कुत्कुती ।
हाम्रो राष्ट्र त आज दुर्नियतिले निद्रा शये वर्षको
भोगी भर्खर ब्यूँझँदै छ मुखमा मुद्रा दिई हर्षको ॥

(२)
त्यो लङ्का प्रिय मान्दथ्यो सुनहरा, यो यै धरा शाङ्करी
चाहन्थ्यो जडवाद त्यो फगत, यो अध्यात्मको माधुरी ।
उसको राक्षसराज रावण थियो आराध्य लङ्केश्वर
यस्को राम र रामराज्य दुइमा श्रद्धा छ लोकोत्तर ॥

(३)
त्यो यौटा हँसिलो उपक्रम थियो टाढा छ त्यस्को कथा
यो हाम्रो प्रिय राष्ट्र भर्खर उठ्यो भोगी हजारौँ व्यथा ।
यस्को शौर्य र धैर्य शक्ति गुणको राखी सदा सम्झना
गर्नै पर्दछ हामि कोटि जनले अभ्यर्थना, अर्चना ॥

(४)
त्यो जादू तरवारको लपलपे, त्यो तापसी मन्तर
लाग्दा लट्ठ भई हिमाल तकिया हामी अड्याई शिर ।
त्यो भैँमा चिरकाल मूर्छित सरी पल्टीरहेको थियो
डस्ता उत्कट कीटले रगतको धारा बहेको थियो ॥

(५)
त्यस्तो हालतमा पनी हृदयको भित्री मिही चेतना
अर्धोन्मीलित भावमा अलिअलि क्यै गर्दथ्यो चिन्तन ।
भित्रै केवल कल्पना कलमले तस्बीर लेख्दै थियो
मानू स्वप्न कुनै नवीन युगको प्रत्यक्ष देख्दै थियो ॥

(६)
देखेथ्यो जुन त्यो अपूर्व सपना उस्ले बिहानीपख
निद्राबाट उठेपछि सकल त्यो छर्लङ्ग भो सम्मुख ।
उस्को त्यो सुकिलो हिमाल तकिया सारा सुनौलो गरी
चौतर्फी उदयाऽऽद्रिका शिखरमा झल्क्यो उषा माधुरी ॥

(७)
मैला लोचनको र भित्र मनको नैराश्य अल्छीपना
पन्छाएर सबै उषा किरणले धोई, पखालिकन ।
तीखो दृष्टि घुमाउँदै जगतका हेर्दो छ चारैतिर
यो हाम्रो प्रिय राष्ट्र हामिहरुकै कल्याणका खातिर ॥

(८)
माहेन्द्री छवि हो कि ? कोटिजनको सौभाग्यको रोशनी
यद्‌ वा गोरखनाथका हृदयको कारुण्य मन्दाकिनी ।
हो वा यै हिमशैल-निर्गत सुधा धारा जगज्जीवनी
जो भर्दो छ पलापला घरघरमै निर्माणको सन्सनी ॥