Jump to content

Lalitya bhag 1 ra 2/ramrajya

From Nepali Proofreaders
राम-राज्य (प्राचीन शैलीमा)

(१)
सीता साथ लिई राम सभाको बिचमा बसे ।
कविका कविता-वर्षा, शिरमा बर्बरी खसे ॥

(२)
गयो ताप महाराज ! सारा भारतवर्ष यो ।
पूर्ण चन्द्र उदाएको स्वच्छ आकाश झैँ भयो ॥

(३)
पृथ्वी, लक्ष्मी दुवै पत्नी विष्णुका प्रभुले लिँदा ।
बिचराको बुढो शय्या कान्ताशून्य भयो सदा ॥

(४)
चतुरङ्गवती सेना बसेकी छ वरिपरी ।
प्रभुलाई प्रभावपूर्ण भानुको बिम्ब झैँ गरी ॥

(५)
धैर्य गाम्भीर्यको वास प्रभुमा छ टनाटन ।
अगस्त्यले शुकाएको सिन्धुको छैन वर्णन ॥

(६)
बलेको छ प्रतापाऽग्नि भनला कविजी कुन ?
सकेन शुक्रकान्ताको अश्रुधारा शुकाउन ॥

(७)
प्रताप-बह्नि चीसै हो प्रभुको, न भए किन ।
कालो ओढी गुफाभित्र काँप्दथे सब दुश्मन ??

(८)
अलङ्घ्य प्रभुको अङ्ग रङ्गभूमि गरीकन ।
नाचदो शौर्यको ढङ्ग देख्दैमा दङ्ग भो मन ॥

(९)
चिन्ताले प्रभुको चित्त सकदैन डगाउन ।
होला समुद्र शफरी उफ्रँदा धमिलो किन ??

(१०)
मिलेको छ महाराज ! काजमा नीति-पद्धति ।
नपुगेको कहाँ होला ? काव्यमा रसको गति ॥

(११)
लक्ष्मीको रिसले हो कि मुखमा गै सरस्वती ।
बोलेकी छन्‌ धरानाथ ! दीयताम्‌ दीयातामिति ॥

(१२)
विचित्रै छ महाराज ! प्रभुको मन्त्र-पद्धति ।
जसले गरदाखेरी डढे सारा वि-पक्ष-ति ॥

(१३)
छातीमा शनत्रुकान्ताको दिनरात निरन्तर ।
हाराऽऽकार बगेका छन्‌ अश्रुधारा मनोहर ॥

(१४)
अधकल्चा गराएर छोडेको किन दुश्मन ?
हेरदा तिनका नारी दगुर्दै छन्‌ प्रतिक्षण ॥

(१५)
खड्गलाई थियो खाली वैरीका रक्तको भर ।
अब वैरी कुनै छैन पर्यो दुर्भिक्षको डर ॥

(१६)
धिक्कार हो महाराज ! प्रभुको चातुरी पनि ।
स्वर्गमा शत्रु छन्‌ माथि प्रभु आफू उनै मनि ॥

(१७)
पियारी कीर्ति-कान्ताको ज्यादा छ छिचरोपन ।
घुमीघुमी गरेकी छ कविको मुख चुम्बन ॥

(१८)
चन्द्रको कालिमा-दोष नसकेर पखालन ।
पुगी पातालमा कीर्ति थाली मुख लुकाउन ॥

(१९)
कीर्तिले जगतै ढाकी भनला को गफी बनी ।
रक्तले शत्रुका राज्य लालै छन्‌ ती अझै पनि ॥

(२०)
कीर्ति-रुपी सफा सारी लतारी दिग्बधूजन ।
राम्रै प्रकाश गर्दै छन्‌ आफनू विधवापन ॥

(२१)
प्रभुको कीर्तिले छोप्ता उज्याला बन्दछन्‌ शशी ।
अँध्यारा बन्दछन्‌ लाग्दा शत्रु-दुर्यशको मसी ॥

(२२)
पृथिवीको थियो पुत्र अगाडि एक मङ्गल ।
प्रभुको सङ्गले आज पाइन्‌ लाखन मङ्गल ॥

(२३)
प्रभाव-मन्त्र-उत्साह-शक्ति भक्ति ठुलो धरी ।
राज्यश्रीको सदा गर्छन्‌ सेवा टहल बेसरी ॥

(२४)
देखेको छैन राजेन्द्र ! प्रजाले दुःखको मुख ।
जगत्‌ छोपी बसेको छ मुखरुपी ठुलो रुख ॥

(२५)
नाना प्रकारका गान बजानाहरुले गरी ।
नगरी छ धरानाथ ! नाचदी अप्सरा सरी ॥

(२६)
स्वतन्त्र छू भनी गर्न उठोस कोहि कालमा ।
फसेको देख्दछौँ हामी प्रजाको भक्तिजालमा ॥

(२७)
शिक्षा-वंश विचाराऽऽदि देखिन्छन्‌ सब उन्नत ।
कहाँबाट मिल्यो राजन्‌ ! नम्रता गुण विस्तृत ??

(२८)
कु-शाऽऽसन[1] फिँजारेर बस्ति[2]-पीडा गरीकन ।
ऋषि लागे महाराज ! बलले चक्र[3] चालन ॥

(२९)
पसेको छ महाराज ! राज्यमा न्याय बञ्चरो ।
बिउलाई पनि छैन कतै अन्यायको जरो ॥

(३०)
रोक टोक कतै, छैन खुला छन्‌ ती दशै दिशा ।
मध्य आकाशमा सूर्य छँदासम्म कहाँ निशा ??

(३१)
अन्याय भो महाराज शकिँदैन बताउन ।
सबैका काखमा एकै शान्ति-सीमन्तिनी किन ??

(३२)
महाराज ! कतै छैन डाँका, चोरी, कुटाकुट ।
प्रभुका नामको मात्र परेको छ लुटालुट ॥

(३३)
प्रभुबाटै मिलेको छ चिताएको टपाटप ।
छैन दोस्रो महाराज ! लोकमा कल्प-पादप ॥

(३४)
अलिकति कतै छैन राज्यमा रोगको गति ।
मरेको छ धरानाथ ! जराले दुनियाँ जति ॥

(३५)
राजेन्द्र ! दुनियाँ नाम भए तापनि वास्तव ।
दुनिएको कतै छैन फुकेकै छन्‌ प्रजा सब ॥

(३६)
अनेकता कडा त्यस्तो, खडा त्यस्तो छ एकता ।
धन्य कस्तो चमत्कारी प्रभुको नीति-निष्ठता !!

  1. कुशको आसन र खराब आसन
  2. बस्ति भाग र गामबस्तीहरू
  3. षट्चक्र र व्युहचक्र आदि