Jump to content

Lalitya bhag 1 ra 2/prabhat 2

From Nepali Proofreaders
प्रभात

(१)
तरी तम: सागर त्यो तमाम
आँखा उघारीकन राम-राम ।
जप्दै सुबिस्तासित विश्व सारा
लाग्दै गयो जागृतिको किनारा ॥

(२)
काली मिहीँ चादर दूर सारी
गुलाफ-रङ्गी महुडा उघारी ।
मुसुक्क हाँसी रसिली उषा यो
मुस्कान उस्को नभले समात्यो ॥

(३)
त्यै मोहिनी कान्तिमती उषाको
छाया परी कृष्णमुखी निशाको ।
व्यक्तित्व वा व्यापकता बिलायो
आलोकमा लोचन सल्बलायो ॥

(४)
पोतेर पूर्वी नभको किनारा
सिन्दूरझैँ सुन्दर कान्ति-धारा ।
बिस्तार चारैतिर बढ्न थाल्यो
हिमाललाई पहिल्यै अँगाल्यो ॥

(५)
त्यो चाल पायो कुखुरा करायो
आकाशको नीरवता हरायो ।
संसारले जागृति-रङ्ग पायो
सर्वत्र अर्कै सुषमा उदायो ॥

(६)
त्यै कान्ति रातो पछिबाट सुस्त
बन्दै सुनौलो धरणी समस्त ।
कुनाकुनासम्म रँगाउँदै गो
आनन्दको स्रोत बगाउँदै गो ॥

(७)
प्रसन्नतासाथ चराचुरुङ्गी
सिकेर नानाथरि भावभङ्गी ।
उही उषाको मधुर प्रभाती
जगाउँदै छन्‌ सब भाँतिभाँति ॥

(८)
जताततै उज्ज्वल कान्ति-धारा
जताततै जागृतिको पुकारा ।
सिरीसिरी चल्दछ मन्द वात
असाध्य राम्रो रसिलो प्रभात ॥