Lalitya bhag 1 ra 2/pijarabata chuteko suga
(१)
हाय ! म हूँ त्यै द्विज शुकनामा
बन्द थिएँ जो उस पिँजरामा ।
विधिवश अहिले उम्केँ बल्ल
किन्तु परेको छू असरल्ल ॥
(२)
बढदो चढदो वय पञ्चरमा
म सकल बिताएँ कष्ट-कहरमा ।
यस हालतमा बाहिर आई
कसरी मैले जिउने ? हाई !!
(३)
त्यो पिँजरामा पहिले पस्ता
उकुस-मुकुस भै रोई बस्ता ।
जो जति भोगेँ सङ्कट-बाधा
अझ त्योभन्दा अहिले ज्यादा ॥
(४)
उडने कसरी ? हिँडने कसरी ?
वनको चारा चर्ने कसरी ?
यो सब सम्झन सक्तिनँ केही
थरथर काँप्दछ केवल देही ॥
(५)
लडदै पडदै स्याँस्याँ गर्दै
बालक जस्तै बामे सर्दै ।
खुला जगत्मा, आएँ किन्तु
हृदय छ मेरो इन्तु न चिन्तु ॥
(६)
मीठा फलफुल च्याप्दै मुखमा
भु्र्र म उड्थेँ जुन रुखरुखमा ।
ती सब रुखहरु देख्दा आज
लाग्छ कहाली साथै लाज ॥
(७)
थोरै बाङ्गा टेवाजस्ता
निश्चल खुट्टा दुर्गम रस्ता ।
नयन दुवै छन् धमिला ज्यादा
शिव ! शिव ! म उपर कत्रो बाधा !!
(८)
अति कुँजिएका बस्ता बस्ता
कत्ति न फुक्ने कैँचीजस्ता ।
उभय पखेटा केवल भार
दुर्विधिको यो कत्रो मार ??
(९)
यही गगन हो यही पवन हो,
यै सब मैले खेल्ने वन हो ।
तर अब योसित मेरो नाता
के छ र ? ल्याइस् हाय ! विधाता !!
(१०)
बिर्सी खगको वाङ्मय धारा
नरको बोली बोल्दा सारा ।
जनम जवानी फालेँ मैले
तर यो बुझने कसले ऐले ??
(११)
जबतक बोली टिप्न म सक्थेँ
भने बमोजिम सबकुछ बक्थेँ ।
तबतक सारा गद्गद हुन्थे
धन्य छ हाम्रो तोता भन्थे ॥
(१२)
लहै लहैमा उच्च स्वरले
भक्ति न श्रद्धा खाली करले ।
बोलेँ कहिले आत्माराम !
कहिले पशुपति ! राधे-श्याम ॥
(१३)
पयर पखेटा सब कुँजिनाले
नसानसामा दर्द हुनाले ।
कैदी म थिएँ एकै डल्लो
जीवन लाग्थ्यो अतिशय खल्लो ॥
(१४)
उस वयमा त्यो बन्धन हाली
अब यस वयमा बाहिर फाली ।
दैव ! तँ हेर्छस् अझ कुन रमिता ?
किन यति गाह्रो तेरो कविता ??
(१५)
त्यसरि तपस्या गर्दागर्दा
दिन, ऋतु, महिना निक्कै फिर्दा ।
दर्द मथर भो स्थिरता आयो
त्यै पिँजरामा ममता छायो ॥
(१६)
त्यै घर, तेही घरका व्यक्ति,
त्यै पिँजरामा क्रमसित भक्ति ।
बढदैबढदै आयो मेरो
अरु सब बिर्सेँ सेरोफेरो ॥
(१७)
शनैः शनै: सब फिर्यो जमाना
जर्जरताले मार्यो ताना ।
शिथिल भयो जब बोल्ने शक्ति
अनि पछि पाएँ बन्धन-मुक्ति ॥
(१८)
धन्य दयालू मानुष-जाति
धन्य विवेकी तेरो छाती ।
जसले गर्दा प्राण-भिखारी
बिचरो म भएँ वारी न पारि ॥
(१९)
कुन त्यो त्यस्तो जन्मोत्सव हो ?
कुन त्यो अद्भुत करुणा-द्रव हो ?
जसले मरणाऽऽसन्न मलाई
यस हालतमा फाल्यो हाई !!
(२०)
उसको जन्मोत्सवको वेला
म परेँ मरणोत्सवको फेला ।
कस्तो अन्धो मानुष-जाति ?
कस्तो निर्दय पत्थर छाती ??
(२१)
पहिले पिँजरादेखि तानी
फगत पिलाई अलिकति पानी ।
हुर्र मलाई पर मिल्कायो
लडेँ जमिनमा मूर्छा आयो ॥
(२२)
थुनिँदा मेरै कर्म थियो रे
छुट्दा उसले धर्म लियो रे ।
ग्रहको बाधा सकल टर्यो रे
जन्मोत्सवमा शान्ति गर्यो रे ॥
(२३)
स्वार्थ-सिद्धि नै पौरुष ठान्दा
पर पीडाको पाप नजान्दा ।
मानिसले सब सृष्टि बिगार्यो
पृथ्वीतलमा नरक उतार्यो ॥
(२४)
जुनिभर भोगी यै सब गोता
यै वयमा त्यो छुट्दो हो ता ।
सब सम्झन्थ्यो पुण्य र पाप
पक्का मान्थ्यो पश्चात्ताप ॥
(२५)
हाय ! विधता ! कहाँ म जाऊँ ?
कसरी जाऊँ ? कोसँग जाऊँ ?
थामूँ कसरी जीवन शेष ?
शिव ! शिव ! जुनिभर कत्रो क्लेश ?
(२६)
टुट्तै-आयो दिलको आशा
हेर्छु जतातिर उतै निराशा ।
अब निभने भो जीवन-दीप
कस्तो कालो कुटिल नसीप ??
(२७)
पिँजरामय त्यो देवल भित्र
म थिएँ द्यौता एक विचित्र ।
जो कुट पूजा मिल्थ्यो खान्थेँ
बालकहरुकन पूजक ठान्थेँ ॥
(२८)
कहिले कोशा, अम्बा, केरा
कहिले खोर्सानीको घेरा ।
त्यो सब चारा सपनामय भो
दैव ममाथि अति निर्दय भो ॥
(२९)
फुलझैँ सून्दर कलिला साना
बालक उनका लीला नाना ।
घुमि-रहेछन् भित्र नयन्मा
हाय !! कहाँ ती अब यो वनमा ॥
(३०)
पिँजरा बोकी तोता हाम्रो
भन्दै राखी ममता राम्रो ।
शिशुहरु खेल्दा उस आँगनमा
झुल्दै गद्गद हुन्थेँ मनमा ॥
(३१)
पल्लव जसतो औँला शिशुले
उस पिँजरामा हाल्दा खुसिले ।
बुढिया नचला, टोक्ला भन्थिन्
नजर दयालू मउपर दिन्थिन् ॥
(३२)
शुक्यो शुगा त्यो, ए सान्नानी !
किन नदिएको चारा पानी ?
भन्ने करुणा-रसको धारा
आज नजरमा छल्क्यो सारा ॥
(३३)
खगको चोला, नरको बोली
कठिन तपस्या ऋषिमुनिको ली ।
जहाँ बिताएँ जनम तमाम
कसरी बिर्सुँ अब त्यो ठाम ??
(३४)
पलपल त्यै घर, त्यै परिवार
त्यै पिँजराको गोल दिवार ।
त्यो सब खाना घुम्दछ मनमा
दैव ! पछारिस् किन यो वनमा ??
(३५)
विन्ति छ मेरो कुटिल ! विधाता !
अब नछुटाएस् यस्तो नाता ।
सारा वनमा लगा डढेलो
खरानीको गर छेलोखेलो ॥