Jump to content

Lalitya bhag 1 ra 2/parishranta chatak

From Nepali Proofreaders
परिश्रान्त चातक

(१)
हे मेरो प्रिय ! धीर ! नीरद ! कुनै सौभाग्यले आज यो
तिम्रो शब्द सुनेँ अचानक अहो !! छाती रसीलो भयो ।
धेरैसम्म निरुद्ध चञ्चुपुटको ढोका खुल्यो सुस्तरी
थाल्यो घन्कन घन्न-घन्न मुटुमा आनन्दको बाँसुरी ॥

(२)
त्यै श्रद्धा, रसरङ्ग त्यै छ, सब त्यै उल्लास कौतूहल,
त्यै तृष्णा मनको छ, सूक्ति-रस त्यै, त्यै भावना शीतल ।
त्यै सारा छ, तथापि दुर्नियतिले राखेन त्यो जीवन
खस्क्यो शक्ति शनैः शनैः नयनमा निस्क्यो धमीलोपन ॥

(३)
लायो दृष्टि जता उतैतिर कठै !! को सृष्टि अस्पष्ट छ
पाऊ पक्ष दुवै विपक्षमय छन्‌ चल्दा बडो कष्ट छ ।
खाली तर्क-वितर्कका भुमरिमा घुम्दो छ यो जीवनी
मानू अर्जुन-भेद्य यन्त्र-बिचको दुर्दर्श माछो बनी ॥

(४)
प्यारो ! स्निग्ध ! पयोद ! याद सब त्यो, त्यो शक्ति, उत्साह त्यो
त्यो स्फूर्ति, प्रतिभा, प्रभातमय त्यो सम्पूर्ण वेला बित्यो ।
ढल्क्यो जीवन-भानुको मधुरिमा, अर्कै छटा फैलियो
हेर्दा बाहिर यो प्रपञ्च-सुखको शोभा सबै मैलियो ॥

(५)
त्यो तिम्रो स्मित, मान, मोह, ममता त्यो दिव्य वाङ्माधुरी
त्यो छाया, छवि शीतलो सरसता, सौहार्दको त्यो झरी ।
सम्झन्छू मनले बडो प्रणयले त्यो सम्झँदामा पनि
बाधा हुन्छ मलाइ, धर्र सहसा धर्कन्छ यो जीवनी ॥

(६)
प्यारो ! मेघ तिमी सहर्ष जसरी खेल्छौ महाऽऽकाशमा
त्यै चालासित आज दैवगतिले मेरो हृदाकाशमा ।
खेलेको छ घुमी सबैतिर ठुलो वैराग्यको बादल
त्यो क्यै जान्दिनँ, झर्छ शान्ति-जल वा वर्षन्छ वर्षोपल ॥

(७)
भोगाऽऽशामय जो असाध्य मसिनू तीखो विषालू सियो
भित्री जीवनको अतर्क्य तहमा पैले बिझेको थियो ।
त्यै घाऊ सब रागियो, उकुच भो, व्यामोहको सैन भो
तेसैको पिरले घट्यो बल सबै, चौपट्ट बेचैन भो ॥

(८)
चुच्चो निर्बल भो झुक्यो शिर, गले खुट्टा पखेटा पनि
स्वाँ स्वाँ नित्य गरीरहन्छ बिचरो छाती खलाँती बनी ।
थोत्रो जीवन-रङ्गमञ्च सब भो, थोत्रो छ पर्दा पनि
थोत्रै खेल खुलीरहेछ यसमा देखिन्न क्यै रोशनी ॥

(९)
यो पाटी, यसमा म अन्ध बटुवा, गन्तव्य बाटो छुटी
धेरै काल रहेँ विपत्‌ सब सहेँ, भोगेँ ठुलो भुट्भुटी ।
प्यारो ! मेघ ! म भन्दछू थकित भै विद्युत्प्रभाले अब
सोझो शीतल त्यै पवित्र पथको देखाइद्यौ गौरव ॥

(१०)
धराधर ! परिश्रान्त उही जीर्ण विहङ्गम
भन्छ आश्चर्यका साथ यो स्वप्ना हो कि वा भ्रम ?