Jump to content

Lalitya bhag 1 ra 2/manoladdu

From Nepali Proofreaders
मनोलड्डु

(१)
चन्द्रचूड ! जगदीश ! महेश !
दीननाथ ! शिव ! संयमिभेष !
दण्डवत्‌कन गरी निहुरेर
गर्दछू म विनति प्रभुनेर ॥

(२)
लोभलाई अगुवा लिइ साथी
यो अगाध भव-सागर-माथि ।
दौडँदा बहुत जन्म बिताएँ
बल्ल आज भगवान्‌ ! सुर पाएँ ॥

(३)
छुट्ट हूँ म अब ता जनदेखि
नासियोस अघिदेखि सब शेखी ।
चित्तवृत्ति प्रभुमा ठहरोस
लोभरूपि सँगि दूर सरोस ॥

(४)
वासना-विषयको सब तोडी
पुत्र मित्र वनिताहरु छोडी ।
कोहि वृक्षमनि जङ्गलभित्र
एकलै बसि गरूँ म चरित्र ॥

(५)
माथमा पनि जटाकन धारी
भस्मले सकल देह सिँंगारी ।
ईश-तुल्य भइ काटुँ म काल
कोहि मानिस नपाउन चाल ॥

(६)
राखि आसनविषे मृगछाला
कण्ठ-बीच पहिरी शिव-माला ।
बाँधि इन्द्रिय समाधि लगाऊँ
योगिराज-पदवी म कमाऊँ ॥

(७)
एक मात्र कसि कौपिन खालि
कन्दमूल फलले जिउ पाली ।
धैर्यसाथ दिनरात बिताऊँ
द्वैतभाव मनले नचिताऊँ ॥

(८)
योगरीति जति बाँकि नराखी
एक एक गरि बेसरि चाखी ।
सार सार समझी अरु कन्था
फालि एक पकडूँ शिव-पन्था ॥

(९)
वासनाऽऽदि जति हो हठयोग
तेसले गरि हरी सब रोग ।
राजयोगतिर बुद्धि लगाऊँ
द्वैतभाव मनबाट भगाऊँ ॥

(१०)
ध्यान, पूजन, जपाऽऽदि विशाल
हो मनोरचित संसृति-जाल ।
बुद्धिबाट सब त्यो पर सारूँ
ज्ञानले गरि मनैकन मारूँ ॥

(११)
पाञ्चभौतिक जती सब धोका
जानि बन्द गरि इन्द्रिय-ढोका ।
निष्प्रपञ्च चिजमा मन हालूँ
ऐक्य-वह्नि फुकि साफ पगालूँ ॥

(१२)
श्वास-वायुकन बेसरि खारी
देह निश्चल मुढो सरि पारी ।
ब्रह्मरन्ध्र-बिच जीव चलाऊँ
योगशक्ति दिनरात बढाऊँ ॥

(१३)
क्यै नली विधि, निषेध, विकल्प
चित्त लीन गरि कैय्यन कल्प ।
निर्विकल्प परिपूर्ण असीम
चित्‌स्वरूप भइ दीप्त रहूँ म ॥

(१४)
राश लागि धमिरा धुरिँदामा
उम्रि वृक्ष, लहराहरु लामा ।
देह पर्वत-समान बनोस
कोहि गै तर तहाँ नखनोस ॥

(१५)
सारि सारि छुरि छम्‌छम पारी
नाचदै गिडिगिडिकन मारी ।
अप्सराहरु भुलाउनलाई
आउँदा म नभुलूँ लहसाई ॥

(१६)
अष्ट सिद्धि पनि खालि कमारी
तुल्य जानि मनले पर सारी ।
आदिशक्तितक थर्थर पारूँ
कालको पनि घमण्ड उतारूँ ॥

(१७)
इन्द्र, विष्णु, विधि आइ मलाई
बाबु ! ल्यौ वर भनेर फुल्याई ।
भ्रष्ट पारन कसै नसकून
कष्टसाथ ति पनी फरकून ॥

(१८)
दिव्य जोति शिरबाट उतारी
ब्रह्मगोल सब उज्ज्वल पारी ।
चन्द्र, सूर्य पनि मन्द गराऊँ
कोहिदेखि म कतै नडराउँ ॥

(१९)
देव, सिद्धि, मुनि, किन्नर, तारा,
नाग, दैत्य फिर राक्षस सारा ।
ब्रह्म, विष्णुतक छक्क परून
थर्कमान भइ दूर सरून ॥

(२०)
आफुलाइ अलगै सबदेखि
फेरि आफुमय यो सब देखी ।
आफु मात्र परुँ साफ म दङ्ग
धन्य !! आफु-कृत आफनु रङ्ग ॥

(२१)
सानू यौटा मनोलडडु लेखनाथ अनाथको
लिनुहोला कृपासाथ गहना पारि हातको । [1]

  1. यो कविता चौसट्ठी सालमा लेखिएको र ६९ सालमा निर्णयसार प्रेस बम्बईमा छापिएको हो, उनताकको क्रियामा पनि खुट्टो नकाट्ने नियमको यसमा पूर्णतया पालना छ । -लेखक