Jump to content

Lalitya bhag 1 ra 2/kaviko unnidrata

From Nepali Proofreaders
कविको उन्निद्रता

(१)
नीलाऽऽकाशै विशद चँदुवा, तारका छन्‌ सितारा
शय्या पृथ्वी, अतुल तकिया शैलमाला छ सार ।
लेटिन्‌ उस्मा प्रकृति तमको च्यादरु सर्र तानी
अर्कै निस्क्यो मलिनवदना यामिनीको कहानी ॥

(२)
शब्दग्राही श्रवण कुँजियो, खुम्चियो स्पर्शशक्ति
स्वाँफ्वाँ मात्रै जिनतिन रह्यो घ्राणमा प्राणभक्ति ।
लोटीलोटी चपल रसना, दृष्टि अर्कै किनारा
लाग्यो, दैवी चटक-सुखमा मुग्ध भो विश्व सारा ॥

(३)
देख्ने सुन्ने विषय लय भो, शून्यता सर्सरायो
तेरो मेरो तँ तँ र म म-को ग्याँस पीरो हरायो ।
निद्राद्वारा घननन बज्यो मोह-वंशी विचित्र
जस्ले अर्कै विकसित गर्यो स्वप्न-संसार-चित्र ॥

(४)
त्यै स्वप्नामा सकल दुनियाँ मस्त भै खेल्न लाग्यो
यो संसारी विषयतिरको सम्झना दूर भाग्यो ।
देख्दा त्यस्तो शयन-सुख वा त्यो श्रमच्छेद-लीला
हुन्छन्‌ मेरो किनकिन कठै ! नेत्र दोटै धमीला ॥

(५)
तृष्णा मेरो पनि छ त्यसमा, नित्य भन्छू निदाऊँ
निद्रालाई तर अब कहाँ देख्न वा भेट्न पाऊँ ?
प्यारी ! निद्रा ! किन पर गयौ ? विन्ति मेरो छ आऊ
भन्दाभन्दै विकल मुटुको उग्र चस्कन्छ घाऊ ॥

(६)
चिम्लूँ भन्छू नयन, सहसा जोरिँदैनन्‌ परेला
जोरी-हालेँ, जिनतिन भने पर्छ अर्कै झमेला ।
नानी भन्छन्‌ किन मुफतमा गर्दछौ द्वार बन्द
आँसू भन्छन्‌ तलतल झरी बग्न द्यौ मन्द मन्द ॥

(७)
उठछू, बस्छु, उस मधुरिमातर्फ उम्लन्छ आशा
जस्ले मेरो अलि दिन बसेथ्यो मुटू-भित्र वास ।
त्यस्तो प्यारो मधुर मुहुनीदार त्यो कान्तिधारा
खोज्दाखोज्दै सब दश दिशा देख्न थालेँ अँध्यारा ॥

(८)
कालो देख्छू सकल धरणी, शैलमाला छ कालो
कालो हावा जलधिजलको रङ्ग झन्‌ उग्र कालो ।
खोला, नाला, वन, उपवन-श्रेणि सम्पूर्ण कालो
कालैकालो सकल दुनियाँ, त्यो प्रभा खै उज्यालो ??

(९)
हर्दम्‌ भन्छन्‌ मनसित रुँदै प्राण "खै त्यो कहाँ छ ?"
रुञ्चे प्राणैसित मन रुँदै भन्छ "खै त्यो कहाँ छ ?"
वाणी भन्छे तिनिहरु दुवै-सङ्‌ग "खै त्यो कहाँ छ ?"
भन्छू आफैँ म पनि सब ती-सङ्ग "खै त्यो कहाँ छ ?"

(१०)
यस्तो भित्री हृदय-दहमा प्रश्नको आँघि चल्दा
ढल्दा धैर्य-द्रुम, मगजको धारणाशक्ति गल्दा ।
आशाचाहीँ नयन युगका ज्योतिको तार-भित्र
घुस्री सारा घन तिमिरमा दौड गर्छे विचित्र ॥

(११)
जाँची सारा पवन, पृथिवी, सिन्धुका बिन्दु जाँची
जाँची विद्युज्जलद, नभमा खोजका साथ नाची ।
फर्केका यी थकित बिचरा डब्डबाऽऽकार नानी
धुन्छन्‌ खाली गरम जलले जीर्ण शय्या, सिह्रानी ॥

(१२)
चिन्ता चर्को, छटपटि कडा, धड्धडाऽऽकार छाती
सुस्केराको वदन बहुधा फुक्छ तातो खलाँती ।
रुक्खा खस्रा अधर-पुटमा टप्प कालो कलेँटी
दल्दामल्दा पनि जुन कठै !! दाग मेटिन्न मेटी ॥

(१३)
बिर्सूँ भन्छू म सब, तर त्यै सम्झना झस्सझस्स
आई गड्दा मृदुल मुटु ता भित्र चस्कन्छ चस्स ।
त्यस्ले पार्दा सकल खुकुला पेच पुर्जा कमानी
चल्ला खल्लो कति दिन कठै !! जीर्ण यो जिन्दगानी ॥

(१४)
बिर्सी जम्बै विषयतिरको दौड युद्धा झमेला
आरामीको अनुभव लिने यो उही शान्त बेला ।
ऐले अर्कै प्रलय-विधिको आखिर लग्नजस्तै
बन्दै आयो विकल मुटुको रक्त वा शक्ति चुस्तै ॥

(१५)
भन्दा होलान्‌ अरु अब सुती राह अत्यन्त छोटो
मेरो निम्ति तर कठिन त्यो दीर्घ दुर्लङ्घ्य खोटो ।
घण्टाघण्टा उपर दिलमा कल्पको कल्पना छ
झस्को-चस्कोसहित जसमा दर्द वा वेदना छ ॥

(१६)
बाली वैश्वानर विरहको छट्पटीको कह्राई
राखी उस्का उपर, घिउझैँ चित्त यो कट्कटाई ।
कस्का निम्ती किन छिनछिनै कल्पनाका बतासा
हाल्छे झिक्छे मलिनवदना एकली यो दुराशा ??

(१७)
सम्झीसम्झीकन जुन महामञ्जु आलोक सत्ता
कल्पेको छू पलपल कठै ! त्यो छ सारा बिपत्ता ।
उल्टो काला रजनिचरका पर्दछन्‌ मूर्ति देखा
कस्तो कालो नियति-गतिको खेल वा कर्मरेखा ??

(१८)
कैले छाया घन-तिमिरमा भूतका भाँतिभाँति
कैले भोको विकट नर-कङ्कालको चल्छ ताँती ।
कैले ऐँठी तन मन सबै अक्कडिन्छन्‌ पिचाश
कैले चर्को श्रवण-पुटमा प्रेतको अट्टहास ॥

(१९)
देख्दा त्यस्ता रजनिचरका लास्य-लीला अनेक
काँप्छन्‌ सारा अवयव कठै ! भाग्छ टाढा विवेक ।
शङ्का-सुर्तासहित भयको उग्र तूफान चल्छ
जस्तै मेरो पलपल सबै जीवनी-शक्ति गल्छ ॥

(२०)
कस्ले मेरो मगज यसरी गिल्गिल्याई निचोर्यो  ?
कस्ले निद्राजनित सुखको शान्ति-सर्वस्व चोर्यो ?
भन्ने चिन्ता लिइकन जती गम्दछू बारबार
उत्ती देख्छु सकल धमिलो जिन्दगी नै उजार ॥

(२१)
कैलेकाहीँ तिमिरपटमा जुन्किरी तान्छ धर्को
धर्को देख्दा क्षणिक, मनमा वासना जाग्छ चर्को ।
लिन्छू, कापी, कलम कलना-तन्तुको तान बुन्छु
बुन्दाबुन्दै किनकिन उठी गुन्गुनाएर रुन्छु ॥

(२२)
आँसू बग्छन्‌ चटचट गरी तानमा तन्तु टुट्छन्‌
आतस्बाजी विविध मुटुमा पट्पटाएर फुट्छन्‌ ।
झिल्का झल्के झललल कठै !! अन्त्यमा फुस्स सारा
कस्को कस्को ? श्रवणपुटमा घुम्छ अर्कै पुकार ॥

(२३)
लाखौँलाखौँ ध्वनिकण घना शून्यमा सर्र उड्छन्‌
उड्दा उड्दै तम-जलधिमा गैर्ह चुर्लुम्म बुड्छन्‌ ।
पक्रूँ भन्छू म सब तिनको तथ्य वा सत्य सार
अत्तोपत्तो नमिलि बिचमा लोट्छ लाटो विचार ॥

(२४)
फेला पार्ने कठिन त्यसमा सत्यको ज्योति काहीँ
हाँगा हाली लहलह खडा झुटको धूम चाहिँ ।
सारा तारा ग्रह पिलिपिली त्यै धुवाँमा निमग्न
खाली काली जडप्रकृतिको जाड्यलीला छ नग्न ॥

(२५)
ऐले मेरो श्रुति-विवरमा घुम्छ जो शब्दजाल
जोजो देख्छन्‌ नयन अनिदा दृश्य कालो कराल ।
त्यस्मा खाली जटिल धमिलो जाड्य जादूगरी छ
यद्‌ वा कालो नियति-गतिको वञ्चना आसुरी छ ॥

(२६)
कैले देख्छू, जलधि-जलमा विश्व सारा डुबेको
कैले जल्दै अति जहरिलो धूममा त्यो उडेको ।
कैले ईर्ष्या-कलुषित कडा दानवी लम्किझम्की
कैले फोस्रा फगत मुखमा गर्जना, धाक, धम्की ॥

(२७)
कैले देख्छु विलय-विधिको आपसी तम्तयारी
कैले यारी कुटिल कपटी शान्तिको भ्रान्तिधारी ।
यस्तो क्या हो ? किन मगजमा उग्र उद्भ्रान्त भाव
गायो ? जस्ले सकल बदल्यो आज मेरो स्वभाव ॥

(२८)
निद्रालाई अलि छिन अघी ठान्दथेँ शान्तिकुञ्ज
ऐले पल्ट्यो समझ, अब त्यै देख्दछु दुःख-पुञ्ज ।
डुब्नाले नै सकल दुनियाँ नीँदको मूढतामा
नाच्छन्‌ हाँस्छन्‌ निशिचरहरु लाम लागेर लामा ॥

(२९)
जागा होस्‌ ता सकल जनता, चुप के लाग्न सक्थ्यो ?
आगो फुक्थ्यो पथ कुपथमा बत्ति बालेर ढुक्थ्यो ।
हुन्थ्यो चारैतिर अलिकति रङ्ग अर्कै उज्यालो
के निस्कन्थ्यो यसरि ननिको दानवी नृत्य कालो ??

(३०)
यो संसारी नियम सुखको जाग्रतैमा रहन्छ
निद्रामा त्यो स्मरण नहुँदा भ्रान्तिमा नै बहन्छ ।
बाली भुल्का बिहग[1] बिचरो यै कुराको चिराक
यामैपिच्छे उठिकन सदा भन्छ त्यो जागजाग ॥

(३१)
निद्रा हाम्रो अधम रिपु हो, भूत बेताल डाक्छ
निद्राले नै सब हृदयको चेतना-शक्ति ढाक्छ ।
निद्रामा नै घर ढुकुटिमा चोर चालाक घुस्छन्‌
निद्रामा नै उडुस उपियाँ रक्त निःशङ्क चुस्छन्‌ ॥

(३२)
भन्छन पैले नियति गतिले नीँदमा विष्णु पर्दा
ब्रह्मालाई दनुज दुइले घातको यत्न गर्दा ।
ब्रह्माजीले स्मृति-वचनले नीँद त्यो दूर सारे
ब्यूँझे विष्णु, भ्रम पर हट्यो, ती दुवै दैत्य मारे ॥

(३३)
त्यो बेलाको अगम हरिको योग-निद्रा त त्यस्तो
होला हामी अबुझ नरको मोहको नीँद कस्तो ?
निद्राले नै सब तलतलै लोक यो भासिँदो छ
सत्ता-पत्ता सकल सुखको शान्तिको नासिँदो छ ॥

(३४)
निद्राभन्दा शत-शतगुना बेस उन्निद्रता छ
देखेँ यस्मा सहज हँसिलो भावको भद्रता छ ।
निद्रा भागोस्‌ परपर, बनोस्‌ विश्व उन्निद्र सारा
उन्निद्रा भै थरिथरि छरोस्‌ लेखनी लेख-धारा ॥

  1. लाटोकोसेरो