Lalitya bhag 1 ra 2/kavi kavitalap
(१)
कवि–
भगवति! कविते ! देवी ! जुग-जुग तिम्रो म हूँ सदासेवी ।
बाहिर निस्कन आज, किन मानेको बडो लाज ?
(२)
कविता–
रसिला गुणिजन हेरी हालि अँगालो गलाविषे फेरि ।
रञ्जन पारि समाज डुली-रहेकी मलाई के लाज ?
(३)
कवि–
तिमी भनि अरु सब बात छोडि बिताएँ बसी बसी रात ।
तैपनि करुणा गरिनौ कसूर के देखि सामुमा परिनौ ?
(४)
कविता–
गर तिमी आफनू काम, नलेउ बाबू ! कसूरको नाम !
मेरै कर्म अभागी बुझेर दबिएँ कुना लागी ॥
(५)
कवि–
जसका वश परि सुकृति, कहलाए व्यास, वाल्मीकि प्रभृति ।
मम-मनमा धैर्य धरी उही तिमी छौ अभागिनी कसरी ?
(६)
कविता–
शक्तिन बाबू ! सहन अब अरु केही कुरा नभन ।
चरचरि चिरिन्छ छाती वाल्मीकि, व्यास सम्झँदामा ती ॥
(७)
कवि–
तिमी छौ रसरङ्गवती भनेर डाकेँ गरी ठुलो विनति ।
उल्टा आँसु खसाली किन रुन लाग्यौ धुरूधुरूखालि ॥
(८)
कविता–
व्यासाऽऽदिक सत्कविले छोडि मलाई बिदा भए जहिले ।
उस दिनदेखि छु नङ्गी, छैन कुनै रङ्गिचङ्गिको भङ्गी ॥
(९)
कवि–
जाऊन् वृद्ध व्यास-प्रभृतिको तिम्रो भयो र के नाश ?
अझ पनि सत्कवि हामी खडा छँदै छौँ बडा नामी ॥
(१०)
कविता–
शिव ! शिव ! बज्रसरी शरीरभेदी कुरा सुनौँ कसरी ?
अब चुप चुप बाबू ! गर्यो मलाई अभाग्यले काबू ॥
(११)
कवि–
तिमि भनि म गर्छु मान तिमी अझ थुन्छ्यौ स्वयं वृथा कान ।
हुन आयो कुन हेतु ? रहेछ तिम्रो कहाँ केतु ?
(१२)
कविता–
तिमी जस्ता बनि कविजी गर्दछु कविता भनेर पत्र फिँजी ।
लाग्नू यो केहि दशा, नबिग्रि हुन्थ्यो कहाँ सहसा ?
(१३)
कवि–
मनकन बेसरि पोली, नबोल अति पेचिलो रुखा बोली ।
चिह्निनौ कत्ति मलाई, जान तिमी व्यासको भाइ ॥
(१४)
कविता–
आफनु शक्ति नजानी नबने अबदेखि 'पण्डितम्मानी' ।
कुर बरु धनिका ढोका, मिल्छन् पछि दानको पोका ॥
(१५)
कवि–
प्रतिभा पूर्ण छ मेरी लेखि लगाएँ किताबको ढेरी ।
यस्तो सत्कवि सुजन, जान्छु र ढोकाविषे म किन ?
(१६)
कविता–
अक्षर अक्षर भाँची कनिकुथि गरि खालि छन्दमा नाची ।
प्रतिभा नभए कसरी लेखनु कन्था अगाडि सरी ॥
(१७)
कवि–
लेखनशैली मेरो प्रसादगुण-शालिनी हेरी ।
बालक पनि छन् दङ्ग थियो कि यो व्यासमा ढङ्ग ?
(१८)
कविता–
खतिदिनु दिन दिन कन्था-ग्रामीण भ्रष्ट बोलिको पन्था ।
बुझ्दछ पल्टन सारा, चल्दछ अनि बिक्रिको धारा ॥
(१९)
कवि–
अपठित जङ्गलिलाई सम्झन सजिलो किताब फैलाई ।
हुनुपरने यश मात्र, किन अपयशको भएँ पात्र ?
(२०)
कविता–
छेउ न टुप्पो पारी कविता-सौन्दर्य बेसरी मारी ।
गरि उल्था खालि कथा, नभने कवि हूँ भनेर वृथा ॥
(२१)
कवि–
गरुँला उन्नति भारी तिमिकन सर्वाङ्ग-सुन्दरी पारी ।
भन्ने यो अभिलाषा पेचि कुराले भयो नाश ॥
(२२)
कविता–
स्तन यस्ता भनि लेखि वर्णन गर ती कुरा पढेदेखि ।
शिक्षित हुन्छ समाज, पच्दछ मनको सबै लाज ।
(२३)
कवि–
व्यासजिका पनि देख अनेक शृङ्गारका लेख ।
गुड्डी त्यसै नहाँक छोपनुपर्ला वृथा नाक ॥
(२४)
कविता–
व्यासजिका लेख जति हेरी हेरी सफा गराइ मति ।
पाएछौ खुप सार, भँडुवा ग्रामीण शृङ्गार ॥
(२५)
कवि–
हितकारी जो छ खडा गर्नु उसैका समीपमा झगडा ।
अनि सब होला जाती सिँगारियौली भलीभाँती ॥
(२६)
कविता–
जसले लेखनशैली बिगारनाले भएँ बडी मैली ।
उही मेरो हितकारी !! धन्य महात्मा दयाधारी !!
(२७)
कवि–
झिकिकन संस्कृत-नेल, गराइ भाषाविषे ठुलो मेल ।
खेलाएँ जसलाई शत्रु उसैको भएँ अरे हाइ !!!
(२८)
कविता–
झिकिकन संस्कृत-सारी मर्यादा अङ्गको मारी ।
ननचाए उदर-दरी भरीभराऊ हुने कसरी ॥
(२९)
कवि–
भाषामा उपदेश लेखिदिनाले स्वयं बुढो देश ।
लिन सक्तछ शुभ शिक्षा मागनुपर्दैन अन्त गै भिक्षा ॥
(३०)
कविता–
गर झगडा सब माफ, बल्ल सुनायौ मिठा कुरा साफ ।
देश सुधारन भाषा कुञ्जि छ यो काखमा खासा ॥
(३१)
कवि–
भाषाका गुणधारा मालुम मनमा छँंदाछँदै सारा ।
किन तिमी येतिञ्जेल थापि-रहेकी ठुलो झेल ॥
(३२)
कविता–
भद्दा अवनतिकारी रसिया जस्ता किताबका भारी ।
दिन दिन बढ्दा देखी अघोर मनमा उठ्यो सेखी ॥
(३३)
कवि–
शिक्षा विचारशाली लेखनु मिहिनेत मात्र हो खालि ।
गर्दछ को रुचि यसमा, छन् सब बोक्रे कथा-रसमा ॥
(३४)
कविता–
रसिला नैतिक बात लेखन उठ्दैन आफनै हात ।
भन बरु छ भने होश, किन फिर अरुमा वृथा दोष ॥
(३५)
कवि–
उपयोगी परिपाटी लिएर कन्था कटाकटी काटी ।
लेखनु यो कठिन कुरा छन् सब त्यस्ता कहाँ चतुरा ॥
(३६)
कविता–
उपकारी मर्मज्ञ विचारवाला गुणी महाप्रज्ञ ।
भाषमा छैन कुनै यो त बताएँ स्वयं अघि नै ॥
(३७)
कवि–
अघिका सत्कवि जस्ता मिल्छन् कविजी कहाँ सस्ता ।
तर तिमि हार नखाऊ, स्थिर गर भाषाविषे पाउ ॥
(३८)
कविता–
होला शिक्षित देश भनेर भाषाविषे सहेँ क्लेश ।
कविको पुगेन ढङ्ग उल्टा, मेरो टुटे अङ्ग ॥
(३९)
कवि–
दर्द बुझेँ चुपचाप सब तिमि मनमा नलेउ सन्ताप ।
आफनु जीवनसम्म सुधार गरुँला सकेसम्म ॥
(४०)
कविता–
अघितिर पुच्छ घुसारी कविता प्रत्यक्ष लोकमा पारी ।
गंकन्छौ तिमि यसरी, सुधार होला हरे ! कसरी !
(४१)
कवि–
गुणवति ! सुन अबदेखि गन्थन गन्था विकामका लेखी ॥
गरनेछैनँ दिमाग पक्का यो चित्तमा राख ॥
(४२)
कविता–
बेस भन्यौ अबदेखि विचारशाली मिठा कुरा लेखी ।
मेरो गरनु सुधार, शिरमा तिमि बोक यो भार ॥
(४३)
कवि–
पहिले अलिअलि हाँसी नुहिकन पछि बसेर छासी ।
अर्ति दियौ हितकारी नपाइसकना बडा भारी ॥
(४४)
कविता–
बढिया हो यो वचन, तिमिसित शिवजी खुशी रहून् बहुत ।
बन्द गरौँ सब बात, सुत अब धेरै गयो रात ॥
(४५)
[1]खुशिसित बसि मेरो लेख यो हेरि साफ
गुण जति लिनुहोला दोषमा पाउँ माफ ।
भनि नुहिकन सारा मित्रमा प्रीतिसाथ
गरदछ कर जोडी प्रार्थना 'लेखनाथ' ॥
- ↑ त्यस अवस्थामा नेपाली भाषा कुन हालतमा रहेछ ? त्यस कुराको पत्ता यस लेखबाट मिल्छ ।