Lalitya bhag 1 ra 2/kanyaharuko gaurisita abhyarthana
Appearance
कन्याहरूको गौरीसित अभ्यर्थना
(१)
जय जय गौरी ! शैलकुमारी !
महिमा प्रभुको मङ्गलकारी ।
निशिदिन हाम्रो दिलमा भित्र
खेलोस् भरदै भाव पवित्र ॥
(२)
सरल कुमारी-वय यो हाम्रो
फुलको कलि झैँ कोमल राम्रो ।
क्रमसित यो सब फक्रन पाओस्
राप तापको आँच नआओस् ॥
(३)
गुण गौरवको यशको खास
यसमा मगमग मधुर सुवास ।
जननी ! पल-पल चढ्दै जाओस्
अपयश-बदबू घुस्न नपाओस् ॥
(४)
जुन विद्याले प्रभुको नाम
दुनियाँ जप्तछ आज तमाम ।
उसको अलिकति झल्को पाऊँ
जननी ! प्रभुको जय जय गाऊँ ॥
(५)
प्रभुको त्यै सब साहस शक्ति
त्यै सब शील र त्यै सब भक्ति ।
जननी ! हामीकन दिनुहोला
उज्ज्वल पारी नारी-चोला ॥