Lalitya bhag 1 ra 2/kalamsita
(१)
कलम ! अघि तँलाई कष्ट कत्ती नमानी
प्रणयसँग लिएथेँ भाग्यको चिह्न जानी ।
कुसुमसरी हलुङ्गो ठानि गर्ने पियार
हृदय-बिच खिचिन्थ्यो भक्ति-रेखा अपार ॥
(२)
अलिअलि गरि ताते हातमा नित्य खेल्थिस्
पिइकन मसि कालो पत्रमा त्यो उकेल्थिस् ।
जति किरिमिरि धर्का पर्दथे त्यो मसीका
कलम ! उति म देख्थेँ स्वप्न लाखौँ खुसीका ॥
(३)
उस बखत तँ भन्थिस् विश्वको कान्ति-धारा
यहि मलिन मसीमा पोखिदिन्छू म सारा ।
कलम ! म पनि मानी त्यै कुरामा पत्यार
अब कवि बनिहालेँ भन्दथेँ बारबार ॥
(४)
गतिविधि फितलो त्यो, चञ्चले बालभाव
सब तृणसरि ठान्ने बादसाही स्वभाव ।
सरस चहक तेरो देखदा दङ्ग पर्थेँ
कलम ! तँकन छैटौँ अङ्गुलीमा म दर्थेँ ॥
(५)
छुनुमुनु गरि मेरा अङ्गुलिभित्र खाली
अलिअलि कविताको रङ्ग-रेखा निकाली ।
कलम ! जति दगुर्थिस् पत्रमा वेगसाथ
उति मनमन भन्थेँ भाग्यमानी छ हात ॥
(६)
यसरि तँसित मेरो मस्कँदा प्रेम-पाश
कलम ! सकल अर्कै रङ्गको भो मिजास ।
रसमय कविताको निम्तिमा दौडधूप
वरपर तलमाथी गर्न थालेँ म खूप ॥
(७)
बिजुलि, वन, बगैँचा, मेघ, नक्षत्र, तारा
ग्रह, जलनिधि, हावा, पर्वत-श्रेणि सारा ।
मतिमय चलनीमा राखि चालेर सार
कलम ! तँकन दिन्थेँ प्रेम-पुष्पोपहार ॥
(८)
बिनिबिनि सब मेरा प्रेमका ती विचार
कलम ! तँ पनि उन्दै निर्मलाऽऽकार हार ।
सहृदय जनलाई दङ्ग पार्छु म भन्थिस्
निशिदिन ननिदाई घोटिँदैमा खिइन्थिस् ॥
(९)
खिइखिइकन ठाडै घोटिँदै चञ्चु तेरा
मगज सकल घुम्थ्यो चक्कराएर मेरा ।
न त अलिकति आफू केही विश्राम लिन्थिस्
कलम ! न त मलाई सुन्न साऽऽनन्द दिन्थिस् ॥
(१०)
पलपल मुख चोपी चप्प कालो मसीमा
कलम ! रगड खाँदै त्यो मसीको कसीमा ।
अणुमय अति सानू भैसकिस् नाम-शेष
किन अझ कवितामा चाह तेरो विशेष ??
(११)
कविकुलगूरु उस्ता व्यास, वाल्मीकि जस्ता
मुनिवरहरुको त्यो काव्यको दिव्य रस्ता ।
अब सब सपना भो घोटिने काम छैन
कलम ! नियति-रेखा क्यै गरी मेटिँदैन ॥[1]
- ↑ (यो कविता पहिला कविसम्मेलनमा पढिएको हो ।)