Lalitya bhag 1 ra 2/isha binaya
(१)
जय जगदीश्वर ! जय अविनाशी
जय जय भगवन् ! करुणाराशि !
शक्ति छ प्रभुको अपरम्पार
घुम्दछ जसमा सब संसार ॥
(२)
जलचर, थलचर, ग्रहगण, तारा
सूर्यलगायत सुर, मुनि सारा ।
केवल प्रभुको करुणा पाई
गरछन्, निजनिज कर्म रमाइ ॥
(३)
सुर, मुनिदेखि भुसुनासम्म
प्रभु नै सबका घटमा टम्म ।
प्रभुका लेखा प्राणी मात्र
पुत्र-बराबर करुणा-पात्र ॥
(४)
जल, थल, तेज, पवन, आकाश
हो सब प्रभुको इच्छाऽऽभास ।
यसमा केही छैन महत्ता
छिनमा गरछौ सकल बिपत्ता ॥
(५)
प्रभु नै सब सुख-सम्पत्ति-दाता
प्रभु नै सबको भाग्य-विधाता ।
प्रभु नै सबमा करुणाधारी
प्रभु नै सबको पालनकारी ॥
(६)
प्रभु नै उन्नति अवनति गरने
प्रभु नै सबकुछ हरने भरने ।
प्रभु नै दुनियाँ-भरको स्वामी
शरणाऽऽगत छौँ प्रभुकै हामी ॥
(७)
बालक हामी शिर निहुराई
प्रभुका पदमा भक्ति लगाई ।
पढ्न तयारी छौँ सब नाथ !
पार लगाए करुणा-साथ[1] ॥
- ↑ यो कविता समितिको पहिलो किताबमा छापिएको छ ।