Lalitya bhag 1 ra 2/chakhurako premollas
(१)
देखी निस्तन्द्र खासा चमचम गरने चन्द्रिकाको तरङ्ग
साना साना मिलेका अतिशय मसिना पक्ष पारी जुरुङ्ग ।
गर्दै उल्लास-चेष्टा चटुलतर चुचो चट्ट खोली चकोर
बिस्तारै भन्न थाल्यो पल-पल मनको तानिँंदा प्रेम-डोर ।
(२)
हे मेरी प्राणप्यारी ! अधिक चहकिली ! चन्द्रिके ! रामछाया
देखाई मोह पार्यौ हृदय-बिच बढ्यो जम्जमाएर माया ।
यो मायाको ठिगाना कसरि अब कहाँ लाउने हो बताऊ ?
तेसै आकाशमाथी चमचम यसरी चित्त चोरी नजाऊ ॥
(३)
आऊँ सोझै समाऊँ, अधिक पर तिमी, आउने शक्ति छैन
जाऊँ, नाता टुटाऊँ, चमचम गरने माधुरी बिर्सिँदैन ।
के गर्ने ? प्राणप्यारी ! फनफन घुमदै पर्न थालेँ म छक्क
आफैँ आई दिलाऊँ मधुर रस-झरी नागरी झैँ थपक्क ॥
(४)
तिम्रो त्यो मुख्य वासस्थल शिर शिवको पर्छ अत्यन्त टाढा
गछ्र्यौ टाढै भए तापनि तिमि रसको माधुरी-वृष्टि गाढा ।
खेली ठाडै सुरेली प्रणयमय यही तार एकै समाती
सोझै आएर माथी अमर पद पनी पाउँदो हो कि ? छाती ॥
(५)
टाढादेखिन् खसेका विरल किरणको मन्द आभास मात्र
आँखाले पान गर्दा यसरि मन हरे ! हर्षको बन्छ पात्र ।
साँच्चैकी मूर्तिधारी तिमिकन म यहाँ पाउँदो हूँ त प्यारी !
भर्थे लाखौँ भकारी छिन छिन सुखका भूतलै स्वर्ग पारी ॥
(६)
अम्बा जम्बै बिकम्बा अरुचि छ लिचिमा, पाप झैँ आँप लाग्यो
फोस्रो मिश्री, मिठाई मह दह बहको, दाखको चाख भाग्यो ।
तिम्रो त्यो कान्तिधार फगत टुलुटुलू हेरदामा मलाई
संसारै प्राणप्यारी ! सकल हुन गएको छ खाली मलाई ॥
(७)
एक्कासी 'प्राणप्यारी' भनिकन यसरी जङ्गली जीव सानू
मेरो सौन्दर्यमाथी छिनछिन किन यो लीन भैजान्छ मानू ।
भन्ने आश्चर्य केही दिलबिच चढला, त्यो तिमी दूर फाल
ब्रह्माकै सृष्टिदेखिन् तिमिसित गरदो छू सधैँ अङ्कमाल ॥
(८)
ज्यादा भो प्रेम-वार्ता, फगत अब यहाँ गर्दछू एक बिन्ती
बिन्तीको प्राणप्यारी ! अलिकति तिमिले राखनूपर्छ गिन्ती ।
प्रेमी हूँ प्रेम गर्छू तिमिसित म सदा यो कुरा सत्य जाने
कैलेकाहीँ म केही अलिक पर भएमा मरेको नठाने ॥