Lalitya bhag 1 ra 2/budho batuwako prata kalin ganthan
(१)
छैन लोक भरमा तम कालो
भैशकेछ झलमल्ल उज्यालो ।
मित्रवर्ग ! उठ लोचन खोल
रङ्ग हेर रविको अनमोल ॥
(२)
च्याउँच्याउँ गरदै चिडियाले
राग सुन्दर सुनाउन थाले ।
छैन हामिकन त्यो सब थाह
नीँदले गरि-शकेछ तबाह ॥
(३)
एकनास दुनियाँभर खास
भैसकेछ मृदु कान्ति-विकास ।
मित्र ! व्यर्थ यसरी मुख छोपी
दोषको पहिरने किन टोपी ??
(४)
पुष्पको लिइ अनन्त सुवास
मन्दमन्द बहँदो छ बतास ।
काटिनेछ सहजैसित पन्था
ओढने किन सुती अब कन्था ??
(५)
कुम्भकर्ण सरि भैकन पाऊ
तानि व्यर्थ यसरी ननिदाऊ ।
सार्थ हुन्न यसले नरचोला
मित्रवर्ग ! पछितो पछि होला ॥
(६)
हेर हामिहरु आज निँदैमा
मस्त भैकन यसै घुरदैमा ।
व्योम-मण्डल भयो झलमल्ल
पर्दछौँ किन वृथा अलमल्ल ॥
(७)
गाउँदो छ दुनियाँ कुन राग ?
कान खोलि सुन त्यो उठ जाग ।
नेत्र छोपि यसरी कतिसम्म
मित्रवर्ग ! परने अझ गम्म ??
(८)
हेर हामी यसरी सुतनाले
खिस्सखिस्स सब हाँसन थाले ।
यो पनि गरनु पर्दछ याद
भैशकेछ सुतदा बरबाद ॥
(९)
विन्ति मित्र ! उठ, जल्दि चनाखा
पारि लाउ दुनियाँतिर आँखा ।
कत्तिको मधुर रङ्ग छ हेर
गर्दछौँ किन सुतेर अबेर ॥
(१०)
भन्नभन्न गरदै मुखनेर
भन्कँदा पनि झिँगा नउठेर ।
हामिले पथिकवर्ग हँसायौँ
आफनू समय व्यर्थ गुमायौँ ॥
(११)
मार्गमा जति सुत्यो उति भित्र
तीव्र हुन्छ अलसीपन मित्र !
पर्दछौँ अझ कती लमतन्न
ज्यास्ति भो, नयन चिम्लन हुन्न ॥
(१२)
नाम गाम सब थोक गुमाई
हाइहाइ गरदै मुख बाई ।
मार्गको शयन मात्र तताई
लाभ के छ अरुलाई हँसाई ॥
(१३)
स्वच्छ पारि पहिले मनलाई
दूर सारि अलसीपनलाई ।
झट्टपट्ट उठ लोचन खोल
राम ! कृष्ण ! शिव ! शङ्कर बोल ॥
(१४)
मित्रवर्ग ! नगिचै छन गङ्गा
स्नान, शौच गर ह्वौ सब चङ्गा ।
नीदको समय वास्तव छैन
कृत्य धर्म यसरी रहँदैन ॥
(१५)
मित्र ! नाघिन जङ्गलको कालो
लागनुछ पछिबाट उकालो ।
घाम केहि पछि चर्कन जाला
कष्टले सकल जीवन खाला ॥
(१६)
हामिमाझ दिनमा झक मारी
फेदिमा यसरि पाउ पसारी ।
पर्दछौँ जति सुती अलपत्र
औललाइ उति पर्दछ सत्र ॥
(१७)
व्यर्थ फालि हिँडने शुभ वेला
शैलमाथि कसरी पुगिएला ?
धामले पछि सरासर हामी
बन्दछौँ सब अवश्य बिकामी ॥
(१८)
मित्र ! यो समय व्यर्थ नफाल
धोउ हात मुख चित्त सम्हाल ।
कृत्यको सरल मार्ग समातौँ
स्वप्नको भ्रम लिएर नमातौँ ॥
(१९)
मित्रवर्ग ! बटुवाहरु धेर
सुस्तसुस्त सजिलैसित हेर ।
शैलमा चढिसके किन व्यर्थ
गर्दछौँ अझ सुतेर अनर्थ ॥
(२०)
मित्रवर्ग !! उठ ईश्वरलाई
सम्झ भक्तिसित माथ झुकाई ।
भारि तारि कस होश सम्हाल
सत्य कर्म-पथमा पद हाल ॥
(२१)
भन्दछू प्रणयले सबलाई
जो हुने भइसक्यो अबलाई ।
मित्रवर्ग ! उठ मार्ग समाऊँ
प्रेमपूर्वक मिली सब जाऊँ ॥[1]
- ↑ (यो लेख राणाशासनको टायममा दार्जीलिङबाट प्रकाशित
भएको हो ।)