Jump to content

Lalitya bhag 1 ra 2/basanta kokil

From Nepali Proofreaders
वसन्त-कोकिल

(१)
भरी लता-वृक्ष-विषे टनाटन
नवीन लाखौँ फुल पालुवाकन ।
वसन्त आयो कलकण्ठको अब
सुनिन्छ साह्रै कल कण्ठ-गौरव ॥

(२)
अगाडि जो दीन बनी लुकीकन
बिताउँथ्यो केवल दुःखमा दिन ।
अहो !! उही कोकिल हेर आज यो
प्रमोदले पूर्ण महासुखी भयो ॥

(३)
बसी बगैँचा-बिच मोजमा परी
नयाँ कलीला सहकार-मञ्जरी ।
चपाउँदै मस्त भएर बेसरी
कुहू कुहू गर्दछ त्यो घरी-घरी ॥

(४)
चलीरहेको छ सिरीसिरी हवा
झुलीरहेछन्‌ सब मञ्जु पालुवा ।
जता दियो दृष्टि उतै सुखी मन
प्रमोदले पूर्ण नहोस त्यो किन ?

(५)
समीरले पुष्प-परागको झरी
लगाउँदा त्यो रस-रङ्गमा परी ।
झुलीरहेको छ शरीर बेसरी
मुछेर तेही रजमा घरी-घरी ॥

(६)
पिएर साऽऽनन्द रसालको रस
घुमाउँदै नेत्र दुवै मदाऽऽलस ।
सहर्ष खोली सुरिलो गलाकन
घनक्क घन्काउँछ त्यो सबै वन ॥

(७)
घरी घरी भुर्र उडी अलीकति
घुमेर शाखान्तरमा यताउति ।
बडो बहाडी रसिकै बनी तहाँ
ढलीमली गर्दछ पालुवामहाँ ॥

(८)
चुचो ठड्याईकन चट्ट मञ्जरी
ठुँगेर च्यापीकन देखिने गरी ।
फरक्क फर्कन्छ घरी पछिल्तिर
प्रसन्नता-साथ लतारि पुच्छर ॥

(९)
[1]न शीत बाधा, न त घामको डर
न बाग नङ्गा, न त वृष्टिको पिर ।
वसन्तको गौरवले गरीकन
खुशी छ साह्रै कलकण्ठको मन ॥

  1. यो कविता पनि धेरैअघि लेखिएको र नेभाप्र समितिको
    स्थापना हुनासाथ पाठयपुस्तकमा छापिएको छ । -लेखक