Jump to content

Lalitya bhag 1 ra 2/baktabya

From Nepali Proofreaders
वक्तव्य


मैले जुन मातृभाषाको सेवा गर्ने उत्साह लिएर कलम उठाएथेँ त्यस बखत यो हाम्रो मातृभाषा यति चाँडो यस्तो उच्च स्तरमा पुग्न सक्ला भन्ने कुरोको मलाई कल्पना पनि थिएन । फेरि उस वेला त्यस्ता अड्चनहरू पनि धेरै थिए, उसले भरखरको सिकारू लेखकलाई उत्साहित गराउनाको सट्टा नैराश्य अँध्यारो खाडलमा नै धकेल्थे ।

अहिले यहाँ त्यस वेलाको सामाजिक, राजनैतिक परिस्थितिको उल्लेख गर्नु सर्वथा अनुचित देखिन्छ, तापनि म यतिसम्म त नभनी रहन सक्तिनँ कि त्यो युग अर्कै थियो, व्यवस्था पनि अर्कै थियो, त्यसमा लेखकले मातृभाषाका उपर कलम बढाउँदा तिरस्कार, आक्षेप, खप्की इत्यादि प्रशस्त पाउँथ्यो, तर कतैतिरको कुनै कुनाबाट सहयोग वा प्रोस्साहन पाउनु आकाश- कुसुम जस्तै दुर्लभ थियो ।

किन्तु मैले 'कर्मण्येवाऽधिकारस्ते, मा फलेषु कदाचन' भन्ने गीताको उक्तिद्वारा प्रेरित भएर भाषा-सहित्य-विकासको मार्गमा पर्न आएका प्रत्येक विघ्नबाधाको सामना गर्दै उत्साहको बत्तीलाई निभ्न नदिई वेला-वेलामा केही रचनाहरू तपाईँहरूका अगाडि उपस्थित गर्दै आएको थिएँ, यो कुरा सबैले जान्नुभएकै छ ।

फेरि त्यस वेला मेरो कलमबाट निस्किएका स-साना फुटकर कविता तपाईँहरूजस्ता सहृदयी पाठक-वर्गको साहित्यिक तृष्णालाई कुनै अंशमा मेट्न सक्लान् भन्ने विश्वास पनि मलाई थिएन । पछि-पछि जब मैले आफूलाई तपाईँहरूबाट प्रोत्साहन पाएँ, अनि मेरो उत्साह र आत्मविश्वास पल्लवित हुँदै जानु पनि मनुष्य-हृदयका निमित्त स्वाभाविकै कुरो हो ।

त्यसले गर्दा क्रमशः केही न केही लेख्दै आएँ, लेख्दै पनि छु । अहिले धैरैजसो देशबन्धुहरूको अनुरोध-अनुसार अघि वेला-वेलामा लेखिएका र यत्रतत्र छरिएका कविताहरू र केही नयाँ कविताहरूसमेत एकत्रित गरी यो दुई भागमा विभक्त 'कविता-सङ्ग्रह'को रूपमा तपाईँहरूको अगाडि राख्न पाउँदा मलाई ठूलो हर्ष लागेको छ । यो दुई भागमा छुटेका कविताहरू जे जति छन् तिनको पनि तेस्रो भागमा सङ्कन गरी तपाईँहरूको सामुन्ने उपस्थित गर्न सकेँ भने म आफूलाई सफल परिश्रमी सम्झनेछु । तपाईँहरूबाट यस्तै प्रोत्साहन पाएको पक्षमा म पनि-


"सूत्तीनां प्रतिभानाञ्च मञ्जरीणाञ्च जृम्भितम् ।
नवमेव मनोहारि……"

भन्ने महाकवि क्षेमेन्द्रको उक्ति-अनुसार केही न केही लेखहरूद्वारा मातृभाषाको सेवा र पाठक-वर्गको मनोविनोद गर्नमा सदा तत्पर रहनेछु ।

-लेखक