Lalitya bhag 1 ra 2/baal ram
Appearance
बाल राम
(१)
हेर्दा साह्रै उज्यालो, सजल जलदझैँ शामलो शान्तिकारी
आनन्दी, बाललीला-ललितरुचि, मनोमोहनी-मूर्तिधारी ।
कौशल्याका गलाको सरस चहकिलो दिव्य माला-समान
सौभाग्य-ज्योति जस्तो सब रघुकुलको शक्ति-शोभा-निधान ॥
(२)
मानूँ घन्कीरहेको दशरथ नृपको हर्ष-सङ्गीत-सार
पृथ्वीको भार हर्ने विषयमय महानाट्यको सूत्रधार ।
कस्तो कस्तो हँसीलो, सुरमुनि सबको दुःख-विश्रान्ति-धाम
प्यारो माङ्गल्यमूर्ति क्षणभर नभुलूँ चित्तले 'बाल राम' ॥