Ek chihan/terha
शिव नारान आफैँले तमाखु भरेर मस्तसित खाइ रहेका थिए । उनलाई आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क लागि सकेको थियो । ठट्टाको भावमा उनी बोलिन्– "छिः कति मात्र तमाखु खाइ रहन सकेको ! मिठो चिज भए पनि एउटा कुरा !"
"तिमीलाई मिठो नलागे के त, मलाई मिठो लागेको छ । तिमी सुत न मजासित कुम्भकर्णै बनेर !" शिवनारानले पनि ठट्टाकै भावमा भने ।
भर्न आँटेको तमाखु नभरीकन शिव नारानले भने- "लौ, लौ आजलाई सन्तोष गरेँ, अर्काले तमाखु खाई आनन्द लिएको कति सहन नसकेकी ।"
जिस्क्याएको भावमा हाकुमायाले भनिन्– "खाइ रहनु होस् न रातभरि नै, मैले किन कपाल दुखाइ रहनु परेको छ !"
हाकुमायाले दिएको ठट्यौलो जबाफबाट शिव नारान नाजबाफ भए । तर आफ्नो नाजबाफीलाई उनले हाकुमायाको हाजिर जबाफलाई बधाई दिएको भावमा हाँसेर छोप्न खोजे ।
सुत्नलाई पल्टँदापल्टँदै हाकुमायाले वास्तविक घटनाको भावमा भनिन्- "होइन, बहिनीको बिहे गर्न किन हतारो नमान्नु भएको ?"
"हतारै के छ त ? पैसा पनि त हुनु पर्छ बिहे गर्नलाई !" साधारण भावमा शिव नारानले भने ।
"हो, उड्नलाई पखेटा नचलाइ रहे त ।"
"किन ?"
"मैले त आज उनको नराम्रो कुरा सुनेँ ।"
"के सुन्यौ हँ ?" अलि झस्केको भावमा शिव नारानले भने ।
"आज साँझमा धारामा पानी लिन जाँदा पुन्चा दाजुकी स्वास्नीले भनेकी थिइन्– नानीथकुँको डाक्टरसित प्रेम छ रे !"
"को डाक्टर ?"
"अरू को होला ? उनै बालाई औषधी गर्न आउने आफ्नै टोलका गोदत्त प्रसाद !"
लाजले हो कि रिसले हो, शिव नारान त्यति सुन्नासाथ केही प्रश्न नगरीकन चुप लागे ।
हाकुमायाले फेरि भनिन्– "त्यो डाक्टर पाँच बजेतिर दिनहुँ आउँछ रे, घण्टौँ ठट्टा गरेर जान्छ रे ! झन् आमाले भात पकाउने गर्नु भएकोमा त उनीहरूलाई सत्र पर्दो रहेछ । आज त डाक्टरले नानीथकुँलाई अँगालेको पनि देखे रे, नानीथकुँ हाँसी रे !"
"साँच्चि हो रे ?" शिव नारानले भने ।
"साँच्चै हो । एक दुई चोटि मात्र ठट्टासम्म गरेको भए किन भनूँ भन्ठानेकी रे, आज त अचाक्ली नै देखेर नभनि रहन सकिनँ भन्थिन् ।"
"मलाई पनि अलि अलि शङ्का त अस्ति नै लागेको थियो ।"
"विचार गर्नु पर्दैन त ? झन् आमाको हेरचाहका निम्ति घरमा छोडि राखेको त उनीहरूलाई सोर्हमा तान्दा एक्का भयो ।"
"फिस नलिनु डरलाग्दो कुरा छ, 'मलाई शङ्का लाग्छ, अब उनलाई नबोलाउनू' भनी बाले त पहिल्यै भन्नु भएको थियो । बुढापाकाको कुरा सितिमिति झुट्टा हुँदैन, अनुभवको आधारमा बोलेका हुन्छन् ।"
"डाक्टरको के दोष ? झन् हुलदङ्गा हुन्छ, आफ्नै मात्र बेइज्जत होला । 'आफ्नो थैलीको गाँठो बलियो पार्नू, साथीलाई दोष नलाउनू' भने झैँ नानीथकुँलाई भोलिदेखि खेतैमा लगि राखे त कुरै मेटिन्छ– न रहे बाँस, न बजे बाँसुरी !" हाकुमायाले अलि गम्भीर भावमा भनिन् ।
"त्यो डाक्टर कस्तो बदमास ! पख न नानीथकुँलाई पनि म के गर्छु ?"