Ek chihan/sorha
नानीथकुँलाई सुनाउन नहुने भएर राम बहादुरले लतमायालाई पल्लो कोठामा कुरा गर्न लगेदेखि नानीथकुँको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न थाल्यो । उनले सोचिन्– 'घरायसी कुरा त अवश्य होइन, घरायसी भए पनि मलाई थाहा नदिनु पर्ने केही छैन; लेनदेनको कुरा भए पनि मलाई अलग गर्नु पर्ने जरुरत थिएन, गुठीगानाको भनुँ भने राम बहादुर कोही सम्बन्धी मानिस होइनन्; बन्द व्यापारको कुरा हो भने त्यसमा पनि म बिख हुनु पर्ने केही छैन; खेतीपातीको कुरा भए गुप्त कुरा गर्नुको केही मतलब छैन; सङ्घ संस्था, दल विशेषको कुरा मानुँ भने आमा त्यस्ती मानिसै होइनन्, न त राम बहादुर नै त्यस किसिमका मानिस हुन् ।' उनले अनेक सोचिन् तर आफूलाई अलग्ग राख्नुपर्ने कुनै कुरा पाइनन् । झन् चाँडै नफर्कंदा मनमा तुलबुल बढ्यो, कुरा थाहा पाउने उत्सुकता झन् बढेर आयो अनि 'अरू कुनै कुरा होइन, कुरा मेरै विषयको होला, नत्र मलाई अलग्ग राख्नु पर्ने कारणै के छ र ?' उनले फेरि सोचिन्– 'मेरो विषयमा के कुरा होला ? म कुन विशेष विषयकी मानिस हुँ र मेरो विषयमा कुरा होला ? मैले के काम गरि राखेकी छु र ? राजनीतिमा मेरो हात छैन; सङ्घ संस्था कुनै कुरामा पनि मेरो हात छैन; म कतै कहीँ जान्नँ, कोहीसित मेरो न दोस्ताना छ, न दुस्मनी नै । फेरि मेरो बारेमा मैले थाहा नपाउने गरेर कुरा नै किन र के होला ?' उनले फेरि सोचिन्– 'म आफ्नो घर परिवारबाट छुट्टै विशेष दुखिनी र सुखिनी पनि केही होइन । जे जति छ परिवारको दुःखसुख सबै कुरामा बराबर छु, केही फरक दशा र स्थितिमा छैन ।'
यस्तै धेरै बेर अनेक कुरा सोचि सकेपछि नानीथकुँले आफ्नो चारैतिर हेरिन् । तैपनि केही नपाएर उनले आफूमा यताउति कतै नहेरीकन एकोहोरिएर आकाश चुम्बन गर्न हडबडाउँदै दौडि रहेको यौवन पाइन्; आफ्नो आङमा एक एक भागमा अटेसमटेस भई पुस्टिएर फुट्न खोजेको जवानी पाइन्; एकान्तमा हाँस्तै नाच्न बोलाइ रहेको तिखो तारुण्य पाइन् र दुःख भुलेर सुखको बढ्ता अनुभव गराई जीवनमा पूर्णत्व प्रदान गराउने आत्मसात् साथी प्राप्त गर्ने उत्सुकता पाइन् । उनलाई शङ्का भयो कि उनकी आमाले सायद उनको यही यौवन सम्बन्धी कुरा गर्न लागेकी त होइनन् ? अनि उनी सुन्न जान तम्सिन् ।
अगाडिका अलिकति बाहेक नानीथकुँले जम्मै कुरा सुनि सकेकी थिइन् । यो कुरा लतमाया र राम बहादुर दुवै जनालाई पत्तो भएन । त्यो कुरा राम बहादुरले पत्तो पाएका भए अझै उनले कुरामा फुल जड्ने थिए । हुन त नानीथकुँलाई यो कुरा मन परेको थिएन; किनभने उनको जवानीले डाक्टर गोदत्त प्रसादलाई अँगालि सकेको थियो, तैपनि उनको मनमा जवानीको उम्लाइ पोखिइ रहेको हुनाले नानीथकुँलाई त्यो कुरा नमिठो लाग्न पनि सकेन । कान ठाडा ठाडा पार्दै खुब चाख लिएर नानीथकुँ एक एक कुरा सुनेर जवानीको आँच तापि रहेकी थिइन् ।
त्यसैले कुराकानी सिद्ध्याएर राम बहादुर गइ सकेर आफ्नी आमा आफूतिर आइ रहेको पनि उनलाई पत्तो भएन । लुकेर कुरा सुनि रहेका ठाउँमा आमा आइ पुगेपछि मात्र झसङ्ङ भएर नानीथकुँ तान कोठातिर लागिन् ।
हाँस्तै गएर लतमायाले ठट्टाको भावमा भनिन्– "कत्ति नलजाईकन आफ्नो बिहेको कुरा सुन्न आउन सकेकी नि नकच्चरी । लौ, पाथीभात खाएर मनभरि सुत्न सक् अब ।"
दबाउन कोसिस गर्दा पनि स्वभावतः आउन खोजेको हाँसो लुकाउन चेष्टा गर्दै नानीथकुँले लाजले मुन्टो निहुराइन् ।
लतमायाले ठट्टाकै भावमा फेरि भनिन्– "कुरा जम्मै सुनि हालेकी छ्यौ, अब तिमी तल्सिङ भएर हामी तिम्रा मोही हुन लागेका छौं ।"
"बिनसित्ति !" नानीथकुँले नखराउँदै भनिन् ।
यसपछि लतमायाले आफ्नी छोरीलाई भनिन्– "आजदेखि बेलुकीको भात तिमीले पकाउने गर, म तान चलाइ रहुँला ।"
"किन आमा ?" अलि आश्चर्य भएर नानीथकुँले भनिन् ।
"मलाई भात पकाउन गार्हो भयो ।"
"तान चलाउन झन् गार्हो छ । आमालाई के भयो ?" मायालु भावमा नानीथकुँले भनिन् ।
"केही पनि भएको छैन । भात पकाउन अलि गार्हो लाग्यो ।"
यत्तिकैमा डाक्टर गोदत्त प्रसाद आइ पुगे । उनलाई अगि अगि झैँ लतमाया र नानीथकुँ आमाछोरी दुवैले स्वागत सत्कार गरे ।
"आज त सबेरै आउनु भयो ।" सत्कार गर्दागर्दै लतमायाले भनिन् ।
"आज बिदा छ ।" डाक्टरले भने ।
"ए !"
"आज अरू विशेष काम पनि केही नभएको र बिरामी हेर्न पनि कोही नभएकाले यहाँ आएको हुँ ।"
"यस्तै निगाह सधैँ राख्नु होला डाक्टर साहेब !"
"हेर्दै गरेर हो कि हिजोआज मलाई तान चलि रहेको आवाज सुन्न र त्यसमा कपडा बुनेको हेर्न बिघ्नै रहर लागि रहेछ ।"
"यो त ज्यादै असल कुरा हो डाक्टर साहेब !"
"हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको उन्नति हुन कसरी सम्भव होला ? त्यसैले त महात्मा गान्धीले सबभन्दा स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।"
"डाक्टर साहेबले ज्यादै ठिक भन्नु भयो ।"
"अब म पनि यस्तै घरबुना कपडा लाउँने गर्छु । दौरा सुरुवाललाई हुने एक थान कपडा बुनि दिनोस् न मलाई पनि । चाहिएका सरजाम जुटाइ दिने छु ।"
लतमाया खिस्स हाँसिन् । नानीथकुँ पनि मुसुक्क हाँसिन् ।
"किन, तपाईंहरूले पत्त्याउनु भएन र ?" मुसुक्क हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।
"किन, नपत्याउनु नि, तपाईं जस्ता बडादमीले बोल्नु भएको कुरा पनि नपत्याउन सक्छौँ ?"
"होइन, तपाईंहरू हाँस्नु भएकाले पो मैले भनेको हुँ ।"
"हुन्छ, हुन्छ, जरुर बुनि दिउँला डाक्टर साहेब !"
एक्कासि लतमायाले नानीथकुँलाई भनिन्– "जाऊ नानीथकुँ ! भात पकाउन, आज शिव नारानहरू अलि चाँडै आउँछन् ।"
लतमायाको यो वाक्यले नानीथकुँ र डाक्टर गोदत्त प्रसाद दुवैलाई 'एक तीरले दुई सिकार' भए जस्तो भयो । दुवैलाई सार्है नमज्जा लाग्यो । दुवैलाई 'लौ मार्यो !' भइ हाल्यो । यी सब हुँदाहुँदै पनि नानीथकुँले स्वाभाविक भावमा भनिन्– "किन, आमा भात पकाउन नजाने ?"
"भात पकाउने काम मलाई अलि गार्हो लाग्यो । म तान बुनि रहुँला, यसैमा मलाई अलि सजिलो लाग्यो ।" लतमायाले पनि स्वाभाविक तबरले भनिन् ।
"तान चलाउनुभन्दा त भात पकाउन सजिलो होला कि ?" नानीथकुँले भनिन् ।
मौका सम्झेर डाक्टर गोदत्त प्रसादले पनि भनि हाले– "हुन त हो, तान चलाउनुभन्दा भात पकाउन नै सजिलो होला ।"
"डाक्टर साहेबले भन्नु भएको कुरा मनासिब छ, तर भात पकाउँदा ज्यादै कपाल दुख्ने भएर आउँदो रहेछ ।" लतमायाले भनिन् ।
"परिश्रम र थकाइ त तान चलाउँदा जरुर लाग्छ आमै !" डाक्टर गोदत्त प्रसादले भने ।
"डाक्टर साहेबले हुँदैन भन्नु भएपछि जिद्दी नगर्नु होस् आमा ! जानोस् तपाईं नै भात पकाउनु होस् । तानको काम म गरि रहुँला ।" नानीथकुँले भनिन् ।
"होइन, तिमी नै भात पकाउने काम गर, कपाल दुखेर मैले सहनै सकिनँ । तान चलाउँदा मलाई सुबिस्तै छ ।" लतमायाले भनिन् ।
नानीथकुँलाई पर्यो फसाद, जिद्दी गर्न त हुँदै भएन, भन्डाफोर हुने पनि डर; निहुँ थाप्ने पनि ठाउँ नै भएन । त्यसैले मनमनै दिक्क मानेर नानीथकुँ चुपचाप भान्छामा जान तयार भइन् । आफ्नो आशा, अभिलाषा र उद्देश्यउपर वज्रपात हुन लागेकाले डाक्टर गोदत्त प्रसादले फेरि एक चोटि आखिरी बुद्धिचाल गोटी चाल्न लागे । नानीथकुँ जान तम्सना साथ झट्ट उनले भनि हाले– "तपाईंको दिलले आज भात पकाउन जाने उत्साह पाउन सकेन जस्तो छ ।"
डाक्टर गोदत्त प्रसादको कुरा टुङ्गिन नपाउँदै लतमायाले भनिन्– "केही भएको छैन, भात पकाउन जाओस्, मलाई वास्तवमा तान चलाउनमै सुबिस्ता छ ।"
यस पटक त पर्यो फसाद डाक्टर गोदत्त प्रसादलाई पनि । अब त चाइँचुइँ बोल्ने ठाउँ भएन उनलाई । त्यसैले डाक्टर गोदत्त प्रसाद केही पनि बोलेनन् ।
नानीथकुँको अनुपस्थिति पाएर वा नानीथकुँसित बस्न नपाएर फर्केर आउनु सार्है भद्दा काम नै भयो । त्यहाँ बसि रहनु पनि डाक्टर गोदत्त प्रसादलाई त्यति मज्जा भएन । तर भलादमीको नाममा उनले त्यहाँ बसि नै रहेर लतमायासित कुराकानी जारी गरि रहे । बीच बीचमा नानीथकुँ कुनै न कुनै निहुँ गरेर आइ रहने गरेकीले डाक्टर गोदत्त प्रसादलाई नमज्जामा पनि मज्जा लाग्न थाल्यो ।
डाक्टर गोदत्त प्रसादलाई भने नानीथकुँसित एकबाजि नभेटीकन कसरी जाने भइ रह्यो । उनको एक चोटि दर्शन गरेर, उनलाई थाहा दिएर मात्र डाक्टर गोदत्त प्रसादले जान चाहेका थिए तर उनको त्यो मुराद पूरा हुन सकेन ।
आखिरमा मन नलाई नलाईकन डाक्टर गोदत्त प्रसाद जान लागे । जान लाग्दा उनले लतमायासित भने– "आज जान्छु, भोलि फेरि हाजिर हुँला ।"
"भइगो डाक्टर साहेब ! यस्तरी फुर्सद नहुने मानिसले किन हामी जस्ताकहाँ बेकारमा कष्ट गरि रहनु हुन्छ ? चाहेको वेलामा बरु हामीले दुःख दिन छाड्ने छैनौँ ।" मौका भेट्टाई लतमायाले भनिन् ।
"केको दुःख छ र मलाई यहाँ आइ रहँदा ? बरु आनन्द लाग्छ ।" डाक्टर गोदत्त प्रसादले भने ।
"भइगो डाक्टर साहेब ! बेकारमा तपाईं यसरी हामीकहाँ आइ रहनु भयो भने हामीलाई पाप लाग्छ, किनभने तपाईं बिरामीहरूका देवता हुनाले एक छिन पनि तपाईंले यसरी बेकारमा समय बर्बाद गर्न हुँदैन ।"
लतमायाको कुरा सार्है मनासिब लागेकाले अलि लाज माने जस्तो गरी जाँदाजाँदै डाक्टर गोदत्त प्रसादले भने– "फुर्सदको मौका हेरेर आउने गरुँला ।"