Ek chihan/satyais
आज हर्ष नारानको अनुहारमा सहसा प्रसन्नता फलि फुलि रहेको देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइ रहेकी थिइन् । उनले हर्ष नारान एक्लै हाँसी भऱ्याङ उक्लि रहेको देखिन् । माथि बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइ नसक्नु भई झुसीबाट पोखिइ रहेको लतमायाले पाइन् । लतमायाले अनौठो मानेर सोधिन्– "किन हर्ष नारान ! तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म देखेकी थिइनँ ।"
"मलाई, भन्नै लाज लाग्छ आमा ।" सङ्कोचवश हर्ष नारान बोले ।
"के भन न, मदेखि पनि लाज ?" लतमायाले भनिन् ।
"आमा ! म पनि अब बिहे गर्छु ।"
"अस्तिसम्म घर नबनाईकन बिहेको नामै लिन्न भन्ने मान्छे आज एकाएक बिहे गर्न तम्सि रहेछौ । भन हर्ष नारान ! कुरा के छ ?"
"अब मलाई बिहे गर्न मन लाग्यो आमा !"
"केटी पाइ सकेका छौ ?"
"त्यसैले आमा । मलाई झट्टै बिहे गर्न मन लागेको । कसैले मलाई प्रेम गरेको पाएँ आमा ।" दङ पर्दै हर्ष नारानले भने ।
"कसैमा कसैले सम्पत्ति खोज्छ, विद्या खोज्छ, इलम खोज्छ, रूप, यौवन खोज्छ भने त्यो प्रेम होइन; जसले अरू थोक केही नखोजीकन उसको दिल खोज्छ र उसमा आफ्नो दिल पनि पाउँछ भने त्यही प्रेम हो ।" लतमायाले पनि दङ भएर भनिन् ।
"ठिक भन्नु भयो आमा । मैले पनि रोजेँ, मलाई पनि रोजी, यो तपाईंले भन्नु भएकै कुरा हो ।" हर्ष नारानले अझ दङ भएर भने ।
"तिमीले भनेका थियौ, घर नबनाईकन बिहे गर्दै गर्दिनँ । अब फेरि बिहे गर्ने कुरा गर्यौ । घर बनाउन कोसिस गर न, यस्तो झुत्रो घरमा कसरी ल्याउने, मनै खिन्न नहोला ?" लतमायाले अलि व्यङ्ग्य हालेर भनिन् ।
"अस्ति त नपाएर पो त्यसो भनेको, अब पाइ हालेँ, बिहे नै किन नगर्ने ? बिहे गरेपछि घर बनाउने तत्परता पनि झन् बढ्ला ।" हर्ष नारानले भने ।
"एक दुई दिनमै प्रेम तौलिइन्न हर्ष ! केही दिन जाँच्नु पनि पर्छ, त्यसैले झट्ट ल्याउन हडबडाउनु पनि ठीक छैन ।" लतमायाले भनिन् ।
"हो आमा ! पुरा जाँचि सकेको छु, ऊ मलाई बिघ्नै मन पर्छ, म उसलाई उस्तै मन परेँ, त्यसैले मलाई बिहे गर्न रहर लाग्यो ।" हर्ष नारानले भने ।
"अस्ति किन गर्दिनँ भनेको त ?"
"अस्ति जाँच गर्दै थिएँ ।"
"लौ हुन्छ, तिमीलाई मन पर्छ भने ल्याऊ, मेरो त ज्यादै राजी छ, म यो कुरा सुनेर अत्यन्त खुसी छु । यस्तै आफैँले रोजेको हेर्न म बढ्ता चाहन्छु । तर दाजुहरूसँग पनि एक चोटि सोध, अदब राख्नु राम्रै कुरा हो । उनीहरू पनि यो सुनेर खुसी भइ हाल्छन् ।" लतमायाले भनिन् ।
"तपाईंले नै सोधि दिनोस् आमा ! मलाई लाज लाग्छ ।"
"प्रेम गर्ने मानिसले लजाउन हुन्छ ? लजाइ रहने त आमाबाबुले बिहे गराइ माग्ने मानिस मात्रै हुन्छन् ।" अलि व्यङ्ग्यको भावमा लतमायाले भनिन् ।
"नाइँ, म भन्दिनँ, तपाईं नै भन्नोस्। यो पनि एउटा अदब सम्झन्छु म ।" हर्ष नारानले हाँसेर भने ।
"कसकी छोरी नि ? को नि यस घरमा लक्ष्मी बनेर आउने केटी ?" लतमायाले सोधिन् ।
"मै काम गर्न जाने ठाउँकी, ऊ पनि एउटी ज्यामी काम गर्ने ठिटी हो; माहिला तामाङ रे उसको बाबुको नाम ।" हर्ष नारानले भने ।
"ए तामाङकी छोरी ? झन् बेस, तिम्रा बा पनि यस्तै दुई जात, दुई सम्प्रदायमा सम्बन्ध राख्न चाहने, यस्तै भए मात्र साम्प्रदायिक भाव हटी देशको उन्नति होला भन्ने उहाँको विचार थियो, भनौँ हाम्रो घरभरिको नै यही विचार छ, यसैले तिम्रा दाजुहरू पनि खुसी नै होलान् ।" खुसी भएको भावमा लतमायाले भनिन् ।
एकाएक बेलुकी पुन नारानलाई देखेर शिव नारान तर्सेका थिए । 'के पो भयो' भन्ने उनलाई सहसा चिन्ता भएको थियो । पुन नारान आएर बस्न पाउँदा नपाउँदै शिव नारानले सोधे– "यति बेला किन पुन नारान ?"
"हर्षले दुलही भेट्टाएछ । दुई जनाका बीचमा राम्रै प्रेम भएको रहेछ । भोलि नै ल्याओस् भन्ने आमाको र अरू सबैको पनि विचार छ, त्यही सोध्न आएको !" खुसीयालीको भावमा पुन नारानले भने ।
"बडो खुसीको कुरा सुनाउन आयौ तिमीले पुन नारान ! कसकी छोरी र जात के नि ?" शिव नारानले पनि खुसीयाली प्रकट गरेर भने ।
"डिल्ली बजार डेरा गरी बस्ने माहिला तामाङकी छोरी रहिछ । हर्षले काम गर्न गएकै ठाउँमा ऊ पनि ज्यामी भएर काम गर्न आइरहने ।" पुन नारानले भने ।
"बेस भयो, नेवार पर्वतेको सम्बन्ध अझ बलियो हुन आँटेछ । यस्तै नेवार, पर्वते र मधेसी तीन जाति र संस्कृति मिसिएर एक हुँदै गएपछि नेपाल अझ सुन्दर र विशाल हुँदै जान्छ । यो काममा हाम्रो घर धेरै अगाडि बढ्ने भयो । हुन्छ, भोलि नै दुलही भित्र्याएर हाम्रो छाप्रोलाई स्वर्ग बनाउन कोसिस गर भन, भोलि नै । म पनि भोलि बिहानै घर आउने छु ।" शिव नारानले भने ।