Ek chihan/pandhra
पन्ध्र
शिव नारानहरू खेतमा जानासाथै लतमाया सधैँ तान चलाउन पुगि हाल्थिन्, तर आज उनको मन बिग्रेको हुनाले जाँगर पनि जाग्न सकेन । त्यसै टोलाए टोलाए जस्तो हुँदै उनी आखिरमा तान कोठामा प्रवेश गरिन् । त्यहाँ नानीथकुँ अगाडिदेखि नै पुगेर तान चलाउन लागि सकेकी थिइन् । लतमायाले पुन्चाकी स्वास्नीलाई हाँसे जस्तो गरी झ्यालमा हेर्न आएको देखिन् । उसलाई देख्नासाथ लतमायालाई लाज भएर आयो । अनि उनी एक छिन टोलाए झैँ उभिई तानको आसनमा बसिन् ।
तर तानको आसनमा बसेर पनि लतमायाको हात तान चलाउनमा जान सकेन । तानको आसनमा बसेर पनि तान नचलाईकन त्यसै बसि रहेको देखेर नानीथकुँले सोधिन्– "किन आमा ! आज तपाईं दिक्क जस्तो हुनु हुन्छ ?"
"खुसी हुने ठाउँ नै छैन मेरो ।" दिक्दारी भावमा नै लतमायाले भनिन् ।
यत्तिकैमा भर्याङमा मानिसहरू उक्लेको आवाज सुनियो । लतमाया र नानीथकुँ दुवैले भर्याङतिर आएको आवाजप्रति उत्सुकता साथ ध्यान दिएर हेर्न थाले । दुई जना भरियालाई विदेशी तान बोकाएर राम बहादुर उक्लेका देखिए ।
राम बहादुरले हिजो बसेको ठाउँमा बसी हाँस्तै भने– "हिजो मैले भनेको तान यही हो । हेर, कति मज्जाको छ ।"
"अँ !" अलि अप्रसन्न भावमा लतमायाले भनिन् ।
खल्तीबाट एउटा मुद्रित कागज निकाल्दै राम बहादुरले भने- "यो तान चलाउने काइदा यसमा प्रस्ट बुझिने गरी लेखिएको छ ।"
नानीथकुँले एक चोटि कागजप्रति पुलुक्क हेरिन्, लतमायाले बिलकुलै दृष्टिपात गरिनन् ।
त्यति भनेपछि राम बहादुरले भरियाहरूप्रति हेरेर भने– "लौ जाओ तिमीहरू, सुब्बा साहेबकहाँ गएर ज्याला लेओ ।"
भरियाहरू फर्कन नपाउँदै लतमायाले राम बहादुरतिर हेरेर भनिन्– "साहेब ! तान पनि फर्काइ दिनु होला ।"
"किन ? हिजो हुन्छ, ल्याइ दिनोस् भनेर आज एक्कासि यस्तो कुरा ?" आश्चर्यका साथै शङ्कालाग्दो भावमा राम बहादुरले भने ।
"आफ्नो तान छँदै छ, बिनसित्ति अर्कालाई दुःख दिनु ठीक छैन भन्ने छोराहरूको भनाइ छ ।" लतमायाले भनिन् ।
"समय किफायत भएर कमाउन सजिलो हुने कुरामा मद्दत दिएको पनि नलिनू ? ठुलठुला सामन्तले त मद्दत लिनु पर्छ भने तिमी हामी जस्ताको तुजुक अझ कति दिन टिक्न सक्ला ?" राम बहादुरले भने ।
"त्यसो त अहम् भावका कारण छोराहरूले 'मद्दत लिन्नँ' भनेका होइनन्, धेरैजसो मद्दतगारहरूले मद्दतको बाटो गरी मद्दत लिनेहरूको जिन्दगीमा हमला गरेर डराएका मात्रै हुन् ।" लतमायाले भनिन् ।
"हाम्रा सुब्बा साहेब त्यस कोटिका मानिस हुनु हुन्न । उहाँले त तिमीहरूलाई मद्दत गर्न धर्म देखेर साथसाथै अनिवार्य पनि भएको हुनाले मात्र मद्दत दिन खोज्नु भएको हो ।" राम बहादुरले आफन्ती भावमा भने ।
"उहाँलाई किन हाम्रो सहायक हुन कर्तव्य भएको ?" लतमायाले सोधिन् ।
"ल, तिमीलाई थाहै होला नि । 'आफन्त' भन्ने नै चाहिन्न । 'सम्बन्ध' भनेको केही कुरा होइन भन्न मानिसले सक्ला ? त्यसैले आफूले सकेको सहायता उहाँले दिन खोज्नु भयो ।" राम बहादुरले भने ।
"तपाईंको भनाइ मैले केही पनि बुझ्न सकिनँ ।"
"त्यसो भए उता हिँड, म तिमीलाई बुझाइ दिउँला ।"
लतमाया र राम बहादुर दुई जना पल्लो कोठामा गए । त्यहाँ पुगेर राम बहादुरले भने- "तिमीलाई थाहै होला नि, अष्ट नारानले नानीथकुँ हाम्रा सुब्बा साहेबलाई कन्यादान दिने वचन दिइ सकेको छ । सुब्बा साहेबलाई नानीथकुँ ज्यादै मन परेको पनि रहेछ । उसको हातबाट सुब्बा साहेबले भात पनि खान कबुल गर्नु भएको छ । यी सबै कुरा अष्ट नारानलाई पनि मन परेर उसले दिन मन्जुर गरेको थियो ।"
"अहँ, मलाई त यो कुरा बिलकुलै थाहा छैन; उहाँले पनि कहिल्यै केही भन्नु भएको थिएन ।" अलि आश्चर्य मिश्रित भावमा लतमायाले भनिन् ।
"हुन सक्छ, अष्ट नारानले भनेको थिएन होला, किनभने त्यो गम्भीर मानिस थियो । कसैलाई नभनीकन काम गर्ने उसको बानी थियो । तर जे भए पनि लोग्ने हुन्, 'मलाई बताएनन्' भनेर रिसले लोग्नेको विरोधमा जानु स्वास्नी मानिसको धर्म होइन, यसलाई सम्झी बुझी तिमीले लोग्नेको वचन खेर नजाने गरी कर्तव्य पालन गर्नु पर्छ ।" राम बहादुरले भने ।
"होला र उहाँले वचन दिनु भएको ? त्यत्तिको उमेर फरक छ ।" लतमायाले अलि अविश्वासको भावमा भनिन् ।
"सत्ते हो हेर ! आज एकादशीको दिन, त्यसमाथि निधारमा पशुपतिको चन्दन र टाउकोमा गुह्येश्वरीको फूल लाइ राखेको छु, इमानदार मान्छेले झुटो बोलेर नरकमा जाने साहस गर्न सक्ला र ? म त मामुली कारिन्दा भनुँला, त्यत्रो दर्जामा पुगि रहेका सुब्बा साहेब जस्ताले यस्तो कुरामा झुटो बोल्नु होला ?" विश्वास लाग्दो भावमा राम बहादुरले भने ।
राम बहादुरको भनाइले लतमायालाई अलि विश्वास पार्यो । तैपनि लतमायालाई सुरमान सुब्बा बुढा भइ सकेको राम्रै थाहा भएकाले अलि चित्त बुझेन र भनिन्– "नानीथकुँ सार्है कलिली छ, भर्खरै सत्रमा टेकेकी ।"
"सुब्बा साहेब पनि त बुढै भइ सक्नु भएको छैन, सत्तरी होइन, साठी होइन सन्ताउन्न वर्षको भनेको त लोग्ने मानिसका लागि जवानीकै अवस्था छ । मानिसको उमेरमा पच्चिस र पचासको कुरा छैन, जो बलियो हुन्छ उही जवान हो । बल र फुर्ती छैन भने बिस वर्षकै पनि बुढो हुन्छ । म त भन्छु बरु तिम्री छोरी चाँडै बुढी होली तर सुब्बा साहेब अझ बिस वर्षपछि पनि त्यस्तै लायक हुनु होला । मैले धेरै बयान गर्नु व्यर्थ छ, किनभने तिमीले नदेखे नचिनेका मानिस होइनन् ।" साधारण भावमा राम बहादुरले भने ।
राम बहादुरको कुरा खुब विश्वस्त भावमा लतमायाले सुनि रहेकी थिइन् । उनको कुरा लतमायालाई पनि पत्यार लाग्यो । उनलाई आफ्नो प्रभावमा आएको देखेर राम बहादुर मनमनै खुसी भएर बोले– "कसो, मेरो कुरा तिमीलाई पत्यार लागेन कि ?"
"किन नलाग्ने ? तपाईंले किन झुट बोल्नु हुन्थ्यो ? तर उहाँ श्रेष्ठ हुनु हुन्छ, यो पनि त अप्ठ्यारो कुरा छ ।"
"यसको फिक्री तिमीलाई किन ? सुब्बा साहेबको भन्दा तिम्रो जात ठुलो भए न तिम्रो निम्ति अप्ठ्यारो कुरा हो । त्यसै लगेर भित्रिनी मात्र गरि राख्ने भए पनि चित्त नबुदो कुरा हुने थियो । तर भात समेत खाइ दिने कबुल गर्नु हुन्छ भने तिम्रो र तिमीहरूका निम्ति अहोभाग्यको कुरा हो ।"
राम बहादुरको यो कुरा सुनेर लतमायाले एक छिन गौर गरिन् । उनले केही पनि जबाफ दिन नपाउँदै राम बहादुरले फेरि भने– "सुब्बा साहेबलाई दियौ भने तिम्री छोरीलाई मैले 'तिमी' भन्नसमेत नहुने हुन्छ, आज 'तिमी' भनि रहेको मानिसलाई भोलि 'सुब्बिनी साहेब' भनेर सलाम गर्नु पर्ने हुन्छ, यो पनि एउटा गौरवको कुरा हो ।"
यो कुरा सुनेर लतमाया एक चोटि खिस्स हाँसिन् ।
"भएको कुरा गरेको हुँ मैले ।" राम बहादुर यही सिलसिलामा भन्दै गए– "सुब्बा साहेबबाट अनेक मद्दत पाएर तिमीहरूको दुःख पनि हट्छ । मैले हेर्दा त यो समाजका अगाडि राम्रो भएर आफ्नो दुःख पनि मेट्ने सौभाग्यको कुरा हो । यही देखेर त अष्ट नारानले वचन दिएको होला, किनभने ऊ एउटा किसान भए पनि बुज्रुक मानिस थियो ।"
लतमायाले फेरि पनि जबाफ दिइनन्, सोचि नै रहिन् । आफ्नो चलाखी ठिक ठाउँमा परेको देखेर राम बहादुरले फेरि भने– "सुब्बा साहेबसित यो वैवाहिक सम्बन्ध जोड्न सकियो भने भोलि पर्सि तिम्रा सन्तानहरू पनि जागिरदार र पढैया भएर, इज्जतदार भएर आउनेछन् किनभने तिमीहरू सुब्बा साहेबका ससुराली खलक हुने छौ ।
मनमा केही गौरव नभएकी र दुःखमा मात्र जिन्दगी बितेर सुखको सास फेर्न औताइ रहेकी लतमाया राम बहादुरको भनाइमा स्वर्गको मृगतृष्णा देख्न थालिन् । उनलाई राम बहादुरको षड्यन्त्री प्रस्ताव र बुट्टादार कुरा मन्जुर भयो, तैपनि 'हुन्छ' नै भनेर सहसा स्वीकार गर्न लतमायाले आँट गर्न सकिनन् । त्यसैले उनले राम बहादुरलाई यति मात्र भनिन्– "छोराहरूसित पनि एक चोटि सल्लाह गरूँ ।"
छोराहरूमा पनि अष्ट नारानको स्वाभिमानी आत्माको छाया परेको छैन होला भन्ने राम बहादुरलाई विश्वास भएन । त्यसैले झट्ट राम बहादुरले भने– "छोराहरूसित सल्लाह गरेर तिमीले आफ्नो हक गुमाउने मूर्खता किन गर्ने ? तिमीले 'हुन्छ म यस्तै गर्छु' भनेपछि उनीहरूको के लाग्छ ? मेरो सल्लाह मान्छ्यौ भने उनीहरूसँग सल्लाह गरि रहने होइन कि 'तिमीहरूको पिताज्यूको वचन गइ सकेको हुनाले मैले पनि वचन दिइसकें' भनी सरासर भनि देऊ । उनीहरूले खिचोला गरे तिमीले कत्ति पनि धन्दा सुर्ता मान्नु पर्दैन, सुब्बा साहेबले तिम्रो पूरा बन्दोबस्त गरी सुखमा राख्नु हुनेछ ।"
लतमाया राम बहादुरतिर हेरेर केवल मुसुक्क हाँसिन्, उनले केही जबाफ दिइनन् । तर उनलाई राम बहादुरको सल्लाह मिठो लागि सकेको थियो । "मैले भने जस्तै गर, अरू सब ठीक हुन्छ ।" जान खोज्दै राम बहादुरले भने ।
अहिले पनि लतमाया केवल मुसुक्क हाँसिन् ।
"है त, 'हुन्छ भनी' भनेर सुब्बा साहेबलाई भनि दिऊँ ?" राम बहादुरले फेरि भने ।
"पर्खनु होस् !" लतमायाले अलि सङ्कुचित भावमा भनिन् । "त्यसो भए कहिले आऊँ त ?"
"आइ रहनु होस् न, तपाईंलाई के छ र !" लतमायाले हाँसेर जबाफ दिइन् ।
"लौ त्यसो भए म पर्सि नै आउँछु ।"
लतमायाले केवल टाउको हल्लाए जस्तो गरिन् । राम बहादुर हाँस्तै सरासर गए ।