Ek chihan/dash
अष्ट नारानको मृत्युपछि शिव नारानले घरको नेतृत्व लिए, खेतीको काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै भात खाएर दिनभरिलाई चाहिने खेतका सामान र सामलले भरेको खर्पन बोकी शिव नारान दिनहुँ खेतमा गई काम गर्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई काममा लैजानु शिव नारानले अनुचित ठहराई आमालाई घरैमा आराम लिन लगाइ राखेका थिए । उनले बहिनी नानीथकुँलाई पनि आमाको साथमा घरैमा राखेका थिए ।
आमा छोरी दुई जना घर कुरेर बस्थे । अरू सबै परिवार खेतीको काममा संलग्न हुन्थे । घरमा भएका बच्चाबच्चीहरूलाई पनि खेलाइ राख्थे । मानिसले कहिले पनि चुप लागेर बस्नु ठीक नसम्झी शिव नारानले लतमाया र नानीथकुँलाई पनि घरमा बसी बसी कपडा बुन्ने काम मिलाएका थिए । आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी काममा तत्पर र तेस्रो थरी घर कुरेर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिव नारानको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो । यसरी नै उनीहरूको दिन आजपछि भोलि भोलिपछि फेरि भोलि भएर गुज्रि रहेको थियो । तर अफसोसको कुरा छ, यस्तरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति थिएन ।
एक दिन लतमाया र नानीथकुँ तानमा कपडा बुनि रहेका थिए । समय दिउँसो दुई बजे थियो । रुमालले गालाका पसिना पुछ्तै आफ्ना तल्सिङ सुब्बा सुरमानका मानिस राम बहादुर टुप्लुक्क आइ पुगे । राम बहादुर सुब्बा सुरमानका अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको घरमा परि आएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाली उठाउन जाने काम पनि राम बहादुर नै गर्दथे । राम बहादुरलाई लतमाया पनि राम्ररी चिन्थिन् । हाँस्तै आई कोठाको ढोकाको सँघारमा थचक्क बसेर राम बहादुरले भने– "आजकल देशी तान आइ रहेको छ, ज्यादै नयाँ किसिमको, कपडा बुन्न बिघ्नै सजिलो, दिनभरिमा कैयन् गज बुन्न सकिन्छ, त्यही किन न ।"
"कहाँ पाऊँ रुपियाँ ?" लतमायाले अलिकति हाँसेर भनिन् ।
"इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो ! दलिनबाट पनि झर्न सक्छ ।" राम बहादुरले मुसुमुसु हाँस्तै भने ।
"त्यो पनि धनीहरूकै निम्तिको कुरा हो, गरिबका लागि त घाउमाथि नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ । त्यसैले कुनै कुराको इच्छा पनि गर्न मैले छाडि सकेँ ।" अलि मलिन भावमा लतमायाले भनिन् ।
"भन, तिम्रो इच्छा भए भोलि नै म यहाँ पुऱ्याइ दिन सक्तछु । सुब्बा साहेबसँग ऋण मागि दिउँला, त्यसैबाट कमाएर तिरि देऊ ।"
"सुब्बा साहेबलाई पोहोर सालको बाली तिर्न नै बाँकी छ, त्यो त कहिले कसरी तिर्ने भइ रहेछ, कुन मुखले फेरि रुपियाँ पैँचो माग्ने ?"
"म लिइ दिउँला पैंचो, मेरो जिम्मा भयो; तिमी खालि इच्छा मात्र गर ।" राम बहादुरको आश्वासन लतमायालाई मिठो लाग्यो । त्यसबाट फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन् । तर 'हुन्छ' भनेर लतमायाले सर्म पचाउन सकिनन् किनभने लतमाया सुब्बा सुरमानकी पटके ऋणी थिइन् ।
सफलताको छाया देखेर राम बहादुरले भने– "म सुब्बा साहेबलाई आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुऱ्याउन लगाइ दिने छु । बडो गजबको सजिलो तान छ, मेसिन जस्तै छिटो चल्छ र कपडा धेरै बुन्छ; चलाउन पनि बडो सजिलो, बल पनि कत्ति खर्च नहुने । क्या विज्ञानको चमत्कार ! क्या मान्छेको मगज !"
"तान मात्र भएर के गर्ने ? कसले सिकाइ दिन्छ नि चलाउन, आफैँ जानिन्न होला !" अलि खुसी भएको भावमा नानीथकुँले भनिन् ।
"केही पनि गार्हो छैन चलाउन, नेपाली तानभन्दा पनि सजिलो छ, गुरु राख्नाको केही जरुरतै छैन, आफैँ सिक्न सकिन्छ । जो पनि कुनै तान चलाइ रहनेले आफैँ चलाउन सक्छ । भोलिदेखि हालौली ।" राम बहादुरले सोरत्र भाव झिकेर भने ।
"सुब्बा साहेब मात्र असल भएर पनि हुन्न, उहाँका छोराहरू अलि छुच्चा जस्ता देखिन्छन् । आफ्नो त सुक्खा परेको हुनाले गएको सालको बाली बाँकी हुँदा उहाँका कान्छा छोरा आएर भन्ने नभन्ने भने । सयकडा २५ बढाएर कागज गरि दिएपछि बल्ल तिनले छोडेर गए। दुई पैसा फाइदाको लोभमा देशी तान त लिउँला फेरि उहाँका छोराहरूले 'चौटा खान गएकी बुढी झोलैमा डुबेर मरी' गरि दिए भने ?" लतमायाले अलि गम्भीर भावमा भनिन् ।
"त्यसको केही धन्दा मान्नु पर्दैन । तिम्रा लोग्नेलाई त्यसरी नचाहिँदो कागज लेखाई ल्याएको हुनाले सुब्बा साहेब छोरादेखि ख्याल रिसाउनु भएको थियो ? त्यो कागज पनि सुब्बा साहेबले उनकै अगाडि च्यातचुत पारिदिइ सक्नु भइ सक्यो ।" राम बहादुरले भने ।
"कागज च्याति सके पनि हामीले आफूले तिर्नु पर्ने कुरा नतिर्ने छैनौँ ।" लतमायाले भनिन् ।
"तिमीहरू त्यस्तै धर्मभाव भएका मोहीहरू भएरै त सुब्बा साहेबले पनि छोरामाथि त्यस्तरी रिसाएर कागज च्याति दिनु भएको !"
"त्यस्तै असल भएको हुनाले पनि त सुब्बा साहेबको दिन परदिन जय भइ रहेको !" लतमायाले खुसी मानेर भनिन् ।
"सुब्बा साहेबले बालीको नाम पनि लिनु भएको छैन, सुब्बा साहेब त्यस्तो मानिस पनि होइन । भन, सुब्बा साहेबलाई बिन्ती भाउ गरेर पोहोरको बाली म माफी गरि दिऊँ ? सुक्खा साल भएको हुनाले बिन्ती गरे माफी दिनु हुने म देख्तछु ।…" आश्वस्त भावमा राम बहादुरले भने ।
"तपाईंको जो दया ! सुक्खा परेको हुनाले माफी दिनै पनि पर्ने !" अलि विनीत भावमा लतमायाले भनिन् ।
"हुन्छ त लौ, म यो कुरा पनि बिन्ती गरि दिने छु । लौ त है म जाऊँ पनि, भोलि तान बोकाएर आउने छु ।"
"हवस्, साँच्चि के कुरालाई आउनु भएको हो कुन्नि ? कुरैकुरामा सोध्न पनि भुसुक्क बिर्सेछु !"
"केही खास कुरा थिएन । एक जना मानिस भेट्न आएको थिएँ, यहाँसम्म आइ सकेको हुनाले त्यसै पसेको ।"
"लौ बस है, तिमीहरूलाई ऋण ख्वाउन आए जस्तो पो भयो ।" भन्दैमा राम बहादुर सरासर हिँडे ।