Ek chihan/char
चार
राम्ररी जाँचबुझ गरि सकेपछि डाक्टर गोदत्त प्रसादले प्रेस्क्रिप्सन लेखि दिए । प्रेस्क्रिप्सन लेख्तालेख्तै बाबुले लाएको लुगाको तुना बाँधि रहेकी नानीथकुँप्रति हेरेर डाक्टरले भने– "झट्ट लुगा लगाई खास्टोले छाती छोपि हाल । हावा लाग्न दिनु हुन्न, अलि अलि निमोनियाले पनि छोइ सकेको छ ।"
प्रेस्क्रिप्सन लेखि सकेपछि डाक्टरले भने– "दिनको दुई मात्रा मिक्स्चर ख्वाउनू, पुरिया औषधी पनि लेखि दिएको छु, त्यो दिनको दुई मात्रा खाना खानुभन्दा अगाडि ख्वाउनू अनि दुई दिन लगातार एउटा इन्जेक्सन पनि दिन लाउनू, इन्जेक्सन राम्रो जान्ने कम्पाउन्डरबाट दिन लाउनू ।"
बिरामीको कोठा बाहिर आएर जान लाग्दालाग्दै डाक्टरले भने– "राम्ररी हेर विचार गर्नू, व्यथा अलि कडै छ, म भरे पनि एक चोटि आएर हेर्ने छु । बिरामीलाई एक्लै नछाड्नू ।"
बिरामीको बारेमा बाहिर गएर अवश्य केही कुरा बोल्ने शङ्का भएर हिँड्नासाथै नानीथकुँ पनि सँगसँगैजसो गएकी थिइन् । डाक्टरको कुरा सुनेर नानीथकुँले मुख अँध्यारो पारिन् ।
नानीथकुँले त्यस्तरी मुख अँध्यारो पारेको देखेर डाक्टरले भने– "किन यस्तरी मुख बिगारेकी नानी ? धन्दा नमान, म सकेसम्म कोसिस गर्नेछु ।"
नानीथकुँसित यति बोली डाक्टर गोदत्त प्रसादले लतमायातिर फर्केर भने– "यिनी को हुन् आमै ? तिम्री छोरी हुन् कि ?"
लतमायाले भनिन्– "हो ।"
"ज्यादै चिन्ता लिएकी जस्ती छन् यिनले । के यिनको बिहे भइ सक्यो ?"
"भएको छैन ।"
"ओहो ! बिहे भइ सकेको भए तिमी बुढाबुढीहरूलाई सन्चो हुने । बिचरा बुढालाई छोरीको पनि चिन्ता हुँदो होला ।" शिव नारानतिर हेरेर डाक्टरले भने– "भइगो, भरे मै आएर इन्जेक्सन दिउँला, कम्पाउन्डरलाई किन मफतमा एक रुपियाँ फिस ख्वाउने, बुझ्यौ ?"
डाक्टर गोदत्त प्रसाद सरासर हिँडे । हिँड्न लाग्दा शिव नारानले पाँच रुपियाँ फिस हातमा राखि दिए ।
नानीथकुँ सत्र वर्षकी तरुनी थिइन् । उनको यौवन पुस्टिएर ढकमक्क फुलि सकेको थियो । किसानकी छोरी भए तापनि उनको अनुहारमा सौन्दर्य बलि रहेको हुनाले उनी भेष बदलेकी शाहज्यादी जस्ती थिइन् । नानीथकुँलाई थाहा नभईकनै उनको चेहरामा हिसी भरेको मुस्कान सधैँ नाचि रहन्थ्यो । नानीथकुँको यो विशेषता देखेर डाक्टर गोदत्त प्रसाद मुग्ध भए ।
नानीथकुँमा स्वतः उदाइ रहेको प्राकृतिक सौन्दर्यका साथ आजको विज्ञानले आविष्कार गरेको सुन्दरताको चमत्कार पनि थपियो भने उनको रूप, यौवन कस्तो होला भनी नानीथकुँको पुलुक्क दर्शनमै डाक्टर गोदत्त प्रसादको कल्पना दौडि सकेको थियो ।
डाक्टर गोदत्त प्रसाद घर फर्कि सकेर पनि कति बेरसम्म नानीथकुँको अनुहार सम्झि रहेका थिए ।
अस्पतालमा विशेष ध्यान दिनु पर्ने कामकाज गर्दागर्दै पनि गोदत्त प्रसादका आँखा अगाडि नानीथकुँको अनुहार नाचि रहेको थियो र भरेको सपना देखि रहेका थिए । काम गर्दागर्दै बिच बिचमा उनी आफ्नो नाडीघडी पनि बराबर हेरि रहन्थे । एघारदेखि पाँच बजेसम्ममा उनले हजार चोटि त घडी हेरे होलान् । जसै घण्टाघरमा पाँच ट्वाङट्वाङ हान्यो, कैदबाट मुक्त भए झैँ डाक्टर गोदत्त प्रसादलाई लाग्यो । दङ्ग भएर उनी घर नगईकनै सरासर अष्ट नारानका घरतिरको बाटो तताए ।
पाँच बजि सकेपछि साँच्चै डाक्टर गोदत्त प्रसाद सजिलैसित आफैँ एकाएक आइदिँदा अष्ट नारानको पीडित परिवारलाई सार्है राम्रो सान्त्वना भयो । गोदत्त प्रसाद पनि बडो आश्वासनपूर्ण भावमा मुसुमुसु हाँस्तै "अहिले कस्तो छ ?" भन्दै बिरामीको अगाडि बसे ।
डाक्टरले पहिले नाडी हेरे, अनि आफैँले डिग्री रखाउन लगाए अनि क्रमैसँग छाती इत्यादि सबै जाँचे । सब जाँचि सकेपछि बिहान लेखि दिएको इन्जेक्सन आफैँले दिए । अनि एक छिन केही नबोली गम्भीर मुद्रामा बिरामीको मुख हेरि रहे– बीच बीचमा एकाध सोधनी गर्दै डाक्टर गोदत्त प्रसाद बिरामीको अगाडि करिब एक घण्टा बसे होलान् ।
डाक्टर आउनुभन्दा अगाडि नानीथकुँ आफ्ना बाबुको गोडा मिचि रहेकी थिइन् । डाक्टर गोदत्त प्रसाद बिरामीको सिरानतिर बसेका हुनाले नानीथकुँको ठिक सामुन्ने पर्थे । त्यसैले नहेरे तापनि डाक्टर गोदत्त प्रसादले नानीथकुँको श्रीमुख देखि रहेका थिए, धेरै बेरपछि आफू हिँड्नुभन्दा केही छिन अगाडि डाक्टर गोदत्त प्रसादले नानीथकुँतिर हेरेर भने– "धेरै गोडा मिच्नु पनि ठिक छैन नानी !"
डाक्टरले त्यति भन्नासाथ नानीथकुँले चट्ट हात थामिन् अनि ढोकातिर उभिन गइन् । एक चोटि नानीथकुँतिर पुलुक्क हेरेर डाक्टर हिँड्नलाई उठे । कोठा बाहिर पुगि सकेपछि अष्ट नारानको परिवारका सारा सदस्य डाक्टरको अगाडि उभिए अनि डाक्टर गोदत्त प्रसादले बिस्तारै भने– "व्यथा अलि कडा हुँदै आएको छ, होस गर्नु होस् है ! तैपनि म जहाँसम्म सक्छु, कोसिस गर्न छाड्दिनँ र आस पनि गर्छु ।"
डाक्टर जान लागेको वेलामा शिव नारान फिस हातमा दिन अगाडि बढे । एक छिनपछि अनकनाए जस्तो गरेर डाक्टर गोदत्त प्रसादले भने– "निको नै गरूँ ।"
डाक्टर गोदत्त प्रसादको यो सहानुभूति देखेर ज्यादै कृतज्ञ र आह्लादित भएर लतमायाले भनिन्– "यो एकचोटि लिइ हाल्नु होस् डाक्टर साहेब ! अनि भोलिदेखि त फिस दिने सामर्थ्य पनि छैन ।"
डाक्टर गोदत्त प्रसादले झन् सहानुभूति देखाएर भने– "मेरो बुद्धि र बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले धन्दै मान्नु पर्दैन ।" शिव नारानको फिस दिइ रहेको हातलाई पन्छाउँदै हिँड्न खोजीकन डाक्टरले भने– "भोलि बिहान ठीक आठ बजे आइ पुगुँला । त्यतिन्जेल केही बढेर आएमा तुरुन्त खबर गर्नु होला, रातमा भए पनि म आउने छु ।"
यति भनी डाक्टर गोदत्त प्रसाद हिँड्न लागे, दुई पाइला के गइ सकेका थिए, फेरि फरक्क फर्केर नानीथकुँतिर हेरेर उनले भने– "अँ, धेरै गोडा मिच्ने काम पनि नगर्नु होला है ! आजलाई पुग्यो ।"
लज्जापूर्ण भावमा नानीथकुँले 'हओस्' भन्ने सङ्केतमा केवल शिर हल्लाइन् ।