Ek chihan/cha
छ
बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइ सकेपछि करिब एक घण्टापछि अष्ट नारानलाई राम्रो निद लागेछ । डाक्टर गोदत्त प्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्ट नारानको परिवारमा आशा पलायो । आज यसरी सजिलैसित निद परि दिएकाले उनीहरूका मनमा आशाको ज्योति उदित भएर आयो ।
अष्ट नारानले बेलुकीको खाना पनि डाक्टर छँदै अगाडि नै खाइ सकेका थिए । खाना बिलकुलै नखाने हुनाले डाक्टर आफैँ अगाडि बसी अलिकति बार्ली पकाउन लाएर खुवाएका थिए ।
भोलि पल्ट बिहानको छ बजेतिर मात्र अष्ट नारान बिउँझेछन्, बिउँझँदा उनले आफ्ना वरिपरि आफ्ना छोराछोरी सबै र जहान लतमाया पनि छरिएर बसि रहेका देखे । त्यस बिहान रातिदेखि नै सिमसिमे पानी पनि परि रहेको थियो । पानी परि रहेका कारण अष्ट नारानलाई ठन्डा भएर आनन्द लागि रहेको थियो ।
सर्वप्रथम उनले आफ्ना जेठा छोरा शिव नारानलाई सम्बोधन गरेर भने– "शिव नारान ! यतिका दिन भइ सक्यो, खेतमा नगईकन किन मलाई कुरि रहेको ? किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नु पर्छ । बाबु ! असार बिग्र्यो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ ।"
मरणासन्न बाबुको प्राणदायी कुरा सुनेर शिव नारान जिल्ल परेर बसि रहे । अनि फेरि अष्ट नारान बोले– "किन चुप लागि रहेको शिव ? मैले गरेको कुरा तिमीलाई ठिक लागेन ? किसानका निम्ति यो महामन्त्र हो बाबु ! यसलाई तिमी दीक्षा पनि सम्झ ।"
"धेरै नबोल्नु होस् भनेको बा ! डाक्टरले पनि बोल्न हुन्न भनेका छन् ।" शिव नारानले भने ।
"डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै सिद्धान्त अनुसार बोलि रहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ बाबु !" अष्ट नारानले अलि हाँस्न खोजेर भने ।
जबाफ दिएपछि र बोलि रहेपछि अष्ट नारानको झन् बोलि रहने बानी थाहा पाएर शिव नारानले केही पनि नबोलीकन चुपचापसँग बस्ने विचार गरे । एक छिनपछि शिव नारान त्यहाँबाट उठेर गए ।
शिव नारान गइ सकेपछि अष्ट नारानले माहिला छोरा पुन नारानलाई भने– "तिमी पनि आफ्नो काममा जाऊ पुन नारान ! घर बनाउने काम अब धेरै दिन छैन, बर्सात सुरु भएपछि घर बनाउनेहरू कमै हुन्छन् । जाऊ, मलाई कुरि रहनु पर्दैन । आफ्नो काममा डटि रहू, यही तिम्रो परम कर्तव्य हो ।"
"हात खुट्टा बलियो भएपछि काम भनेको सधैँ पाइन्छ बा ! तर छोराछोरीका निम्ति बाबु सधैँ पाइ रहिन्न । बाको सेवा गर्न पाएपछि त्यस्ता काम लाख आउँछन् ।" पुन नारानले भने ।
अलि हाँसेर अष्ट नारानले भने– "लाटा ! सधैँ नपाइने हुनाले नै मैले भनेको, त्यस्ता कुरालाई कुरि रहेर सधैँ पाइने कुरा नगुमाऊ । के तिमीहरूले कुरि रहेर मलाई एक दिन मात्र पनि बढ्ता बचाउन सक्छौ ? कदापि सक्तैनौ । हामीहरूको यही नचाहिँदो बढ्ता मायामोहले नै उन्नति हुन नसकेको हो ।"
बाबुको यो प्रभावपूर्ण कुरा सुनेर पुन नारान पनि केही बोल्न सकेनन्, उनी चुप लागि रहे । अष्ट नारान पनि एक छिन चुप लागे ।
अष्ट नारान फेरि बोले– "भैगो लौ, मलाई नकुरि नहुने भए एक जना भाइ कुर्न बसि रहू । जम्मैका जम्मै कामकाजै छोडेर कुरि रहनाको केही मतलब छैन । लौ जाऊ, हर्ष नारान पनि जाऊ, नानीथकुँ पनि जाऊ, मलाई कुर्नै परे जाँगर कमी भइ सकेकी एउटी बुढिया बसि रहोस् । सबै किन बस्नु परेको छ ?"
यति बोलि सकेपछि अष्ट नारानलाई थकाइ लागेर आए जस्तो पनि भयो । अनि लतमायातिर टुलुटुलु हेरी चुप लागे । अगाडि बसि रहेपछि फेरि अष्ट नारानले बोल्न सुरु गर्लान् भन्ने ठानी बाबुको आज्ञा शिरोपर गरे झैँ गरी छोराछोरी सबै बाबु भएको ठाउँबाट गए । खालि लतमाया एक जना मात्र त्यहाँ बसि रहिन् ।