Ek chihan/bais
आफ्नो खेतको काममा अलमलिँदा पनि शिव नारानले नानीथकुँ र डाक्टर गोदत्त प्रसादमाथि उठेर रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि मनमा झनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिव नारान पाँच बज्दा नबज्दै घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्त प्रसाद फर्कंदै गरेको देख्ता डाक्टर गोदत्त प्रसादलाई समातेर निमोठि हालूँ जस्तो उनलाई भयो । डाक्टर गोदत्त प्रसादलाई पनि एकाएक शिव नारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर एकदम अतासिइ सकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव गरी शिव नारानसँग भने– "किन हँ, निकै चाँडै फर्क्यौ नि शिव नारान ? तिम्रो खेतमा रोपाईं सिद्धियो ?"
डाक्टर गोदत्त प्रसादले पनि बोलि दिँदा त शिव नारान झन् रिसले भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता 'नमस्ते' सम्म पनि गरेका थिएनन् ।
उनी सरासर तान कोठामा गए । झन् नानीथकुँलाई नदेख्ता उनको रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिव नारानले क्रुद्ध भावमा भने– "नानीथकुँ खोइ नि ?"
"कपाल दुखेर कोठामा पल्टि रहेकी छ ।" स्वाभाविक स्वरमा लतमायाले भनिन् ।
"तपाईं छोरीको रखवारी भइ रहनु भएको हो कि कुटुनी ? घरमा गुन्डा नाचेर गइ सक्यो, तपाईं छोरीलाई कपाल दुखि रहेको छ भनी यहाँ सुति रहनोस् ! दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा, नाचगान गरेर जान्छ, तपाईं छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसी बसी द्यौता भाकल गरि रहनोस् । हिजो पनि यहाँबाट ओर्लि रहेको देखेँ, आज आउँदा पनि फर्कि रहेको भेट्टाएँ । कस्तो चाला हो यो ? म त बाँकी राख्तिनँ । आज म त जात्रा नदेखाईकन छोड्दिनँ ।" अग्नि शर्मा भएर शिव नारानले भने ।
सधैँ रात परेपछि आउने छोरो आज यसरी सबेरै आएर एकाएक यस्तरी रिसाउन थालेकाले लतमाया जिल्ल परी मुख बिगारेर तान पनि नचलाईकन त्यसै बसेको बस्यै गरि रहिन् । उनी केही पनि बोलिनन् ।
लतमायालाई तानमा त्यसै बसि रहेको देखेर झन् रिसाएर शिव नारानले भने– "छोरीले पट्ठा खेलाइ रहेको कुरा तपाईंलाई मिठो लाग्छ कि क्या हो ? पट्ठा भए पनि एउटा कुरा, पट्ठासित पट्ठी खेली भनेर सन्तोष पनि गर्न सकिएला, तीन तीन छोराछोरीका बाबु, अर्काका पोइसित त्यसरी खेलिरहन लाज छैन रे त्यसलाई ? सरम छैन ? बोलाउनोस् त्यस नकचरीलाई, आज पूजा नगरी छाड्दिनँ ! बाबु मरेको छ महिना भएको छैन, उसको यो लीला !"
"भइगो, नकरा बाबू ! अरूले सुन्लान् । म उसलाई राम्ररी सम्झाएर ठिक गर्ने छु ।" सान्त्वनापूर्ण भावमा लतमायाले भनिन् ।
"अरूले सुन्ला ? अरूले सुन्ला, थाहा पाउला र नराम्रो होला भन्ने डर मान्ने भए यस्तो नकाम गरिएला ? अझसम्म अरूले थाहा पाएको छैन भनी ढुक्क भइ रहनु भएको तपाईं ? अरूले सुन्ला र थाहा पाउला भन्ने तपाईंलाई डर ? अरूबाट नै मैले थाहा पाएको हुँ अब फेरि अरूले सुन्ला, थाहा पाउला भन्ठान्नु भएको ?" रिसको आवेशमा शिव नारानले भने ।
'योसित अहिले नबोल्नु बेस' भन्ने विचार गरी लतमाया चुप लागिन् । शिव नारान रिसमा वेद पढी नै रहेका थिए। रिसाउँदारिसाउँदै 'आज म छ्यास्नसम्म नछ्यासी छोड्दिनँ' भन्ने विचार गरी नानीथकुँलाई शिव नारानले नै बोलाए । दुई तीन बोलावटसम्मलाई नानीथकुँले वास्तै नगरीकन सुन्या नसुन्यै गरेकी थिइन् तर लगातार बोलाइ रहेपछि केही सिप नलागेर नानीथकुँ डराई डराईकन कपाल दुखेको स्वाङ गर्दै माथि आइन् । नानीथकुँ तानकोठामा पुग्नासाथै शिव नारानले एटम बम छोडि हाले– "क्या हो, क्या हो यो ? डाक्टर गोदत्त प्रसाद दिनदिनै किन आइ रहेको, किन आउँछ, त्यो दिनदिनै ?"
"म के थाहा पाऊँ ?" बडो साहस गरेर नानीथकुँले भनिन् ।
"म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ? भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको त्यो दिनहुँ इलाज गर्न आउँछ ?"
नानीथकुँ एक शब्द बोलिनन् । शिव नारानले बोलेका कुरा भित्ताको मयूरले झैँ केवल सुनि रहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुन नारान, हर्ष नारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले । उनीहरू आउँदा पनि शिव नारान कराइ नै रहेका थिए । एक छिन जिल्ल परेर पुन नारानले भने– "किन दाइ ! मामिला के छ ?"
"उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण फेला पर्यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्वाह गरिनन् ।" शिव नारानले रन्केर भने ।
"यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइ राख्न त हुँदैन । यो त म पनि सहन्नँ ।" पुन नारानले भने ।
"तिमी चाहन्छ्यौ भने हामी उहीसँग बिहे गराइ दिन सक्छौँ तर यसरी लुकी चोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।" हर्ष नारानले भने ।
कान्छो दाजु हर्ष नारानको कुरा सुनेर नानीथकुँलाई आश्वासन भयो । तर उनले शिव नारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै भौँतारिनु पर्यो– "के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइ दिन्छु ।"
"तैपनि उनको पसन्दलाई हामीले हेर्नै पर्ला । स्वतन्त्रताको कदर गर्ने जमाना आइ सकेको छ ।" हर्ष नारानले फेरि भने ।
"तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई प्रोत्साहन दिँदै गरे झन् ठीक हुन्छ ?" हर्ष नारानदेखि पनि अलि रिसाएर शिव नारानले भने ।
"युगको गति हेरेर मैले भनि रहेको हुँ ।'
"मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानव इच्छाको कुरा । तर म स्वतन्त्रताको नाउँमा जसले जोसँग जस्तो पनि प्रेम गरेर हिँडेको हेर्न चाहन्नँ । प्रेमको पनि महत्त्व हुन्छ, उसका निम्ति पनि फुक्का र बन्धनको लेखाजोखा, मापदण्ड हुन्छ, सीमारेखा हुन्छ, विधान हुन्छ, सुपात्र र कुपात्र हुन्छ । यी सब कुरालाई, बाटोलाई, तबरलाई नाघेर मानिस हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्याल विचार राम्ररी पुऱ्याउनु पर्छ ।" शिव नारानले बडो गम्भीर भएर भने ।
"दाइले ठीक भन्नु भयो, म पनि दाइको यो विचारको स्वागत र समर्थन गर्दछु ।" पुन नारानले हर्ष प्रकट गर्दै भने । शिव नारानले फेरि हर्ष नारानलाई ताकेर भने– "अहिले तिमीले कसैकी स्वास्नी नबनेकी, प्रेमिका नबनेकी र बुढी तथा बच्ची भएर बेजोडा नभएकी जो कोही स्वास्नी मान्छेसित प्रेम गर्न सक्तछौ, ल्याउन सक्तछौ, यसमा म कत्ति बिघ्न बाधा नगरीकन तिमीलाई पुरा स्वतन्त्रता दिन सक्तछु; तर त्यसो नभईकन तिमीले कसैकी स्वास्नी, आमा, प्रेमिकालाई फकाएर वा उडाएर ल्यायौ भने त्यसलाई म प्रेम वा स्वतन्त्रता कहिल्यै भन्दिनँ । त्यो सरासर बदमासी हो, चोरी हो, डकैती हो ।"
दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग नै मेटाउन खोजेर भनिन्– "अहो ! हुनसम्मको अबेर भइ सक्यो, कुन वेला भात पकाउने र खाने ? दिनभरि काम गरेर सबै भोकाएका होलान् । भइगो, अब गन्थन बन्द गर । भोलि हाम्रो रोपाइँको दिन पनि हो, भोलिदेखि नानीथकुँलाई पनि दिनभरि खेतैमा लगी काम गराइ राख्ने गर । म एक्लै घरमा बसी तान चलाइ रहन्छु, मलाई केही डर छैन । म बुढी मानिसलाई कसले के गर्ला ? अनि डाक्टरसाक्टरको कुरै मेटिएर जान्छ, 'न रहे बाँस न बजे बाँसुरी ।'
पुन नारान, हर्ष नारान दुवैले एकै स्वरमा भने– "ठिक छ, आमाले ठीक भन्नु भयो । त्यसै गर्नु पर्ला अनि आफैँ समस्या हल हुन्छ ।"
शिव नारानले रिसाएर चुरचुर भइ रहेको आफ्नो चेहरामा मुस्कानको भाव नचाएर यस कुरालाई अभिवादन गरे ।
अनि सबै आआफ्नो काम र ठाउँमा गए ।
तर नानीथकुँ हृदयमा वेदना बोकेर तान कोठामा त्यसै उभि रहिन् । त्यहाँ उनी एक्लै थिइन् । साँझ बितेर बेलुकी भइ सक्यो, नानीथकुँ त्यही अँध्यारो कोठामा बसी आफूमाथि गुज्रि रहेको सबै कुरा मनमनै गुनि रहेकी थिइन् ।